भोकको साथी भुजा

भोकको साथी भुजा

भदौ ११ गते शुक्रबारको मध्यरात। मस्त निद्रामा रहेका बेला घरीघरीको बिजुलीसहित चम्केको चट्याङको आवाज। झस्कँदै, ब्युँझँदै। ब्युँझिँदा बाहिर दर्किंदै गरेको पानीको आवाज ठूलै सुनिन्थ्यो। एक्कासि श्रीमतीले ‘बाहिर हल्ला छ उठ्नुस् त’ भनेपछि झ्यालबाट बाहिर नियालें। छिमेकीहरू बाढी आयो उठ्नुस् भन्दै चिच्याउँदै गर्र्दै थिए। जर्‍याकजुरुक उठ्दै हेरेको मोबाइलको घडीले रातको साढे २ बजाएको थियो। ढोका खोलेर हेर्दा बाढी घरअघिको सडकमा आइसकेको रहेछ। आत्तिएँ। के गरौं, के नगरौं भएँ।

कहिले भित्र त कहिले बाहिर गर्न थालें। श्रीमतीले छोराछोरीलाई उठाइन्। बाढीभित्र पस्न थालेपछि घरको सामानभन्दा पहिले सञ्चार सामग्रीको याद आयो। हत्तपत्त गाडीको चाबी खोलेर भित्र रहेको डीएसएलआर क्यामरा निकालें। पानी गाडीको चक्कासम्म आइसकेको थियो। घरभित्र भएका सामान बगाउन नपाओस् र सर्पलगायतका विषालु जीवभित्र नपसुन् भनेर चारैतर्फका जाली ढोका लगाएँ। भित्र जाँदा श्रीमती र छोराछोरीले सानो बक्स पलङलाई उठाएर अर्को पलङमाथि चढाउँदै थिए। हत्तपत्त ल्यापटप उठाएँ। बाढी कोठाहरूमा छिरिसकेको थियो। त्यो देखेर होसहवास हराउन थाल्यो। चार जना परिवार मिलेर किचनमा रहेको चामल बोरा डाइनिङ टेबलमाथि राख्यौं। सुत्ने कोठाको बिस्तारा उठाउन नपाउँदै पानी ठूलै परिमाणमा भित्र आउन थाल्यो। पलङको डसना उठाएर दराजमाथि राख्न नपाउँदै पानी घुँडादेखि माथि आउन थालिसकेको थियो। कोठाको ढोका लागेको रहेछ।

तीन जना परिवारलाई बाहिर निस्कन भन्दै ढोका खोल्न पुगें। बाढीले कार्पेट तैरिन थालेको थियो। पानीको बेग र कार्पेटको रोकावटले जति बल लगाए पनि ढोका खोल्न सकिनँ। यतिबेलासम्म पानी कम्मर तल आइसकेको थियो। चार जना भएर ढोका खोल्न थाल्यौंं। ढोका मरे खुलेन। चारै जना आत्तियौं। कोठामै डुबेर मरिने रहेछ भन्ने लाग्यो। सायद भयको बल मिसिएर होला चारैजनाको जोडबलले ढोकालाई थोरै खोल्न सफल भयौं। ढोकाको साँघुरो ठाउँबाट कम्मरसम्म आइसकेको पानीलाई छिचोल्दै छतमा जाने क्रममा तीन पटक कोठामै चिप्लिएर लडें। दुई छोराछोरीलाई समातेर छतको सिँढीमा जाने क्रममा श्रीमती पानी छिचोल्दै किचनभित्र पसिन्। हामीले रोक्यौं। अटेरी गर्दै फ्रिजभित्र हिजो साँझ राखिएको मटर/काँक्राको अचार र माथि राखेको भुजा लिएर आइन्।

‘ज्यानभन्दा खानाको चिन्ता छ है ?’ भन्दै श्रीमतीसँग रिसाएँ। छोराछोरीले पनि सही थापे। हामी छतको सिँढीमा पुग्यौं। बाहिर झमझम पानी परिरहेको थियो। एकतले घर भएकाले छतमा गएर बस्न सक्ने अवस्था भएन। हामी सिँढीको मोडमा हुने केही फराकिलो ठाउँमा बस्यौं। सडकमाथि आएको पानी १० मिनेटको अन्तरालमा कोठाभित्र पसेर वितण्डा मच्चाएको थियो। बिजुली गएकाले बाहिर अन्धकार थियो। मोबाइलको लाइट बालेर सिँढी तल हेर्दा पानी झन् बढ्ने क्रममा थियो। आत्तिँदैं सुरक्षा निकायमा फोन गर्न मोबाइल डायल गरे। नेटवर्क थिएन। नेटवर्क आउँदै जाँदै गर्‍यो। त्यही मौकामा प्रमुख जिल्ला अधिकारी, एसपी, डीएसपी र नगरप्रमुखलाई डुबानमा परेर सिँढीमा बसेको सुनाए। सुरक्षा निकायको कार्यालय र नगरप्रमुखको निवासका मेरो घरदेखि तल रहेको डेढ किलोमिटरको दूरीमा छ।

त्यहाँ डुबान छैन भन्ने लाग्यो। सुरु हुन लागेको रहेछ। टोलमा जमेको पानीलाई निकास दिन स्काभेटरबाट पिच सडक काटिदिन आग्रह गर्दै थिए। सडकमै पानी धेरै भएकाले त्यो सम्भव भएन। उद्धारका लागि टोली पठाइदिने सीडीओ र एसपीबाट आश्वासन पाएँ। तर उद्धारको गाडी पनि पानीका कारण सडकमै फसेको जानकारी पाएँ। घरिघरि सिँढीतलको पानी हेर्दै थिएँ। पहिलाको भन्दा पानी बढेको थिएन न त घटेको नै थियो। कहिले बिहान होला भन्ने अत्यास बढ्न थाल्यो। उज्यालो पार्न २० घण्टा होइन, २० महिना लागेजस्तो भयो। त्रासका बीच बिहानको ६ बज्यो। पानी परिरहेको थियो। छाता ओढेर बाहिर नियालें। जतासुकै जलमग्न। सबैजना घरको छतमाथि। मानवीय क्षति नभएको जानकारी पाएर होला, उद्धारमा आएको सुरक्षा निकायको टोली सडकमा बसेर नआत्तिन आश्वासन दिँदै थिए।

त्रासमै रहे पनि जिल्लाको बाढीको अवस्थाबारे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी राजु लामासँग सम्पर्क गरे। सुनवलतर्फ उद्धार टोली गएको र पूरा विवरण आइनसकेको जानकारी पाएँ। छाता ओढेर छतबाट जलमग्न भएको फोटो मोबाइलमा कैद गरें। वाईफाई बाढीमा डुबेकाले डाटा खोलेर फोटो र बाढीको सामान्य जानकारी मोबाइलमै टाइप गरेर कार्यरत अन्नपूर्ण पोस्ट् दैनिकको अनलाइनमा पठाएँ। मध्याह्न १२ बजेपछि बाढी सामान्य हुन थाल्यो। केही राहत महसुस भयो। दिनभर खानाको ठेगान नहुने भन्दै श्रीमतीले फ्रिजबाट ल्याएको काँक्राको बासी अचार र भुजा दिइन्। खाना मन नभए पनि जसोतसो पानीसँग निल्यौंं। पानीका चार बोत्तल पहिले नै सिँढीमै रहेकाले राहत भयो। छिमेकीका बालबच्चाहरू भोक लाग्यो भन्दै रुँदै गरेको आवाज सुनें। छिमेकीलाई ‘अचार र भुजा छ। के गरी पठाऊँ’ भनें। पानी तरेर आउने अवस्था थिएन।

बालबच्चाहरूको रुवाइ सुनेर फेरि सोधें, ‘के खान दियौ ? ‘जवाफमा छिमेकी राधा बैनीले भनिन्, ‘पाँच पिस बिस्कुट थियो, त्यही बाँडेर दिएँ। उनीहरूको दोस्रो तलामा भए पनि भान्सा कोठा तल्लोमा भएकाले केही पनि निकाल्न पाएका थिएनन्। बासी अचार र भुजा अनि छिमेकीका बालबच्चाको भोकको छटपटीले राहतको याद आयो। रिपोर्टिङका क्रममा थुप्रै प्रकोप प्रभावितहरूलाई राहत कार्यक्रममा गएको छु। लाग्थ्यो, ‘यति राहतले के हुन्छ ?’ तर राहत साँच्चै राहत रहेछ। खानेकुरा नभएर ती रोइरहेका बालबच्चालाई कसैले जसोतसो तत्काल खाने कुरा पुर्‍याउन सकेको भए। भोक मेटाउन त सकिन्थ्यो।

आफैंले अचार र भूजा लान नसकेको भए त्यसबेला पाउने खाने कुराले कति महत्त्व राख्थ्यो। अहिले राहतको आवश्यकता र महसुस गर्न थालेको छु। यो बाढीसँगै अहिले पनि स्थानीय तहले राहत वितरण गर्न थालेका छन्। राहत वितरणका फोटोहरूमा धेरैले कमेन्ट लेख्छन्, ‘यति राहतले के हुन्छ ?’ राहत सधैंका लागि होइन, तत्कालका लागि जीवन धान्न हो। यस वर्षको बाढी अहिलेसम्मकै ठुलो रहेको स्थानीय बूढापाकाहरूको भनाइबाट जानकारी भएको छ। यस बाढीले विपन्न समुदायका घर बगाए। सरकारी कार्यालयहरू पनि डुबानमा परे। बाढीले तीन जनाको मृत्यु भएको छ। एक अझै बेपत्ता छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.