फिल्मकर्मी भन्छन्: अझै तयारी पुगेको छैन
काठमाडौँः काठमाडौँ उपत्यकामा निषेधाज्ञा हटाएर सिनेमा हल खुलाउने अनुमति दिए पनि हल सञ्चालकहरु भने अझै तयार देखिएका छैनन् । सरसफाइ, कर्मचारी व्यवस्थापन लगायत काममा केही दिन अझै लाग्ने उनीहरुको भनाइ छ ।
निर्माता तथा अन्य फिल्मकर्मीहरु सिनेमा हल खुलाउने प्रशासनको निर्णय स्वागतयोग्य भए पनि नियमित रुपमा हल सञ्चालनका लागि तयारी अवस्थामा आफूहरु नपुगेको बताउँछन् । गत बुधबार उपत्यकाका तीनवटै जिल्ला प्रशासनले सिनेमा हल खुलाउने निर्णय गरेका थिए ।
तर शुक्रबारसम्म पनि सिनेमा हल खुलाउने कुनै तयारी देखिएको छैन । यसबीचमा हलमा प्रदर्शनका लागि तयारी अवस्थामा रहेका ४० फिल्म कहिलेदेखि दर्शकसम्म पुग्छन् भन्ने मिति यकिन भइसकेको छैन ।
चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालका अनुसार विभिन्न तयारीका लागि केही समय अझै लाग्ने भएकाले तत्काल हल खोल्न सकिँदैन । 'सरसफाइ तथा कर्मचारी व्यवस्थापन मिलाउनुपर्ने भएकाले हल खुलाउन केही दिन अझै लाग्छ । कहिलेदेखि खुलाउने मिति भन्न सकिँदैन । यद्यपि स्वास्थ्य मापदण्ड अपनाएर कसरी फिल्म हल खुलाउन सकिन्छ भन्ने तयारीबारे हामी छलफल गरिरहेका छौँ,' बोर्डका अध्यक्ष दयाराम दाहालले अन्नपूर्णलाई बताए ।
दाहालका अनुसार कोरोना महामारीका कारण ४६ वटा फिल्म हलमा जानबाट रोकिएका थिए । तर तीमध्ये ४० फिल्म हलमा जान तयारी नै छन् । तयारी अवस्थामा रहेका फिल्मको प्रदर्शन सुरु गर्नुपर्ने बताउँछन् फिल्म निर्माता तथा अभिनेता अशोक शर्मा । 'प्रशासनको निर्णय सकारात्मक छ । बन्द भएका हल खुल्नु नै खुसीको कुरा हो । अब सबै मिलेर फिल्म क्षेत्रलाई व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्छ' शर्माले अन्नपूर्णसँग भने ।
यद्यपि हल खुलाउन केही समय लाग्ने र पहिलेकै अवस्थामा ल्याउन दशैँ-तिहारसम्म पर्खनुपर्ने शर्माको भनाइ छ । चलचित्र क्षेत्र विकास बोर्डका अध्यक्ष दाहालले भने कसरी कहिलेदेखि हल सञ्चालन गर्ने भन्नेबारे अझै प्रशासनसँग परामर्श गर्ने बताएका छन् ।
फिल्म प्रर्दशनको लागि तयारी भएपछि निर्माताहरु नै पछि हट्ने भएकोले पनि तत्काल हल खुलाउन नसकिने हल संचालक जीवन शाक्यले बताए । पहिले पनि हल संचालन गर्दा फिल्म प्रर्दशनको कुरा भएको तर जब फिल्म देखाउने समय आउँछ फिल्म निर्माता नै पन्छिने गरेको गुनासो हल संचालक शाक्यले बताए । जसले गर्दा हल संचालकले घाटा व्योहर्नुपरेको गुनासो शाक्यको छ ।
'समय नै फिक्स भएपछि पनि रिलिज हुने अवस्थामा फिल्म निर्माताहरु पछि हट्ने गरेकाले हल र फिल्म निर्माताबीच विश्वानियता हुनुपर्छ' शाक्यले अन्नपूर्णसँग भने । फिल्म निर्माता किरण नेपाली भने हल खोल्न थालेपछि नियमित रुपमा फिल्म चल्नेमा आशावादी देखिन्छन् । पछिल्लो समय कोरोना त्रास कम भएकाले पनि फिल्मले दर्शक पाउने सम्भावना बढी रहेको नेपालीको तर्क छ । 'नेपाल सरकारले अधिकांश जनतालाई खोप लगाउने घोषणा गरेपछि सुरक्षित भएर हलमा बसेर फिल्म हेर्न सकिने वातावरण हुन्छ ।
फिल्म वितरक करण श्रेष्ठ पनि हल खुलाउने प्रशासनको निर्णयको स्वागत गर्छन् । तर कहिलेदेखि हल खुलाउन सकिने भन्नेबारे यकिन जवाफ उनीसँग छैन । “दर्शकको स्वास्थ्य अवस्थालाई कसरी ध्यानमा राख्ने भनेर छलफल गरेर हल खुलाउँछौँ” श्रेष्ठले बताए ।
काठमाडौँ बाहिरका जिल्लामा हल खुलाउनुपर्ने
फिल्मकर्मीहरुको राय के पनि छ भने काठमाडौँ भन्दा बरु बाहिरका जिल्लामा फिल्म हल खुलाउनुपर्छ । बाहिरका जिल्लामा कोरोना संक्रमण पनि कम भएकाले दर्शकहरु हलसम्म पुगेर फिल्म हेर्न सहज हुने उनीहरुको तर्क छ ।
काठमाडौँ बाहिर पनि हल संचालन गराउनुपर्ने अशोक शर्मा बताउँछन् । काठमाडौँ मात्रै नभएर अन्य क्षेत्रमा पनि सिनेमा हल खुलाउनुपर्ने शर्माको भनाइ छ ।
अभिनेता दयाहाङ राई भने फिल्म हल दर्शकका लागि सुरक्षित छन् भन्ने विश्वास दिलाउनुपर्ने जिम्मेवारी रहेको बताउँछन् । यस्तो बेला फिल्मकर्मीहरु नै दुबिधामा अल्झिन नहुने उनको तर्क छ । जसले गर्दा फिल्म प्रदर्शनमा ढिलाइ भएको पनि बताए ।
'सरकारले सिनेमा हल खुलाउनु नै ठूलो कुरा हो । आधाभन्दा बढीले कोरोना विरुद्ध खोप लगाइसकेकाले सिनेमा हलमा दर्शकको मोह बढ्ने आशा गर्न सकिन्छ । पहिला त सिनेमा हल सुरक्षित छ भनेर दर्शकमाझ विश्वास भयो भने दर्शकको आर्कषण बढ्नसक्छ,' राईले बताए ।