सुनसान बन्दै नेपाली फिल्म, के गर्दैछन् फिल्मकर्मी ?

सुनसान बन्दै नेपाली फिल्म, के गर्दैछन् फिल्मकर्मी ?

काठमाडौँ: कोरोना महामारीको असर चलचित्र क्षेत्रमा पनि नराम्ररी पर्‍यो । कोरोना संक्रमण फैलिँदै जाँदा सरकारले देशभर लकडाउन गर्‍यो । यससँगै सबै फिल्म हलहरु बन्द भए ।

छायांकनमा जाने तयारीमा भएका सबैजसो फिल्मको काम रोकियो । कतिपय फिल्महरु छायांकन गर्दागर्दै बीचमै रोक्नुपर्ने भयो । अन्तत: हरेक वर्ष १०० भन्दा बढी फिल्म उत्पादन गर्ने नेपाली फिल्म उद्योग महामारीकै कारण सुनसान हुन पुग्यो ।

यसै साता काठमाडौँ उपत्याकामा जिल्ला प्रशासनले हल खुलाउन अनुमति दिए पनि तत्काल हल खुलाउन सकिने अवस्था देखिएको छैन । यसबीचमा सिंगो फिल्म क्षेत्र ठप्प हुँदा हजारौँको संख्यामा रहेका फिल्मकर्मी तथा कलाकारहरुको दैनिकी कस्तो रह्‍यो त ? महामारीले उनीहरुलाई कसरी असर पार्‍यो ? यसबारे अन्‍नपूर्ण पोष्टले फिल्म क्षेत्रका प्रतिनिधि पात्रहरुसँग केही प्रश्‍नहरु गरेको थियो ।

०००
दयाराम दाहाल, चलचित्र विकास वोर्डका अध्यक्ष

चलचित्रकर्मीहरुको लागि बोर्डले आपतकालीन समयमा साथ सहयोग गर्दैआएको दाहाल बताउँछन् । दुई वर्षदेखि बोर्ड पनि बजेट बिहीन रहेको र हल समेत खुल्न नसकेका कारण यस क्षेत्रमा धेरै असहजता देखिएको उनको भनाइ छ ।

काठमाडौँ उपत्याकामा प्रशासनले हल खुलाउन अनुमति दिए पनि तत्काल हल खुलाउने वातावरण नभएको उनले बताए । सबै नेपाली जनताहरुले कोरोना विरुद्धको खोप लगाएपछि र अन्य व्यवस्थापनका काम सकेपछि मात्रै हल खुल्ने उनी बताउँछन् ।
०००

अभिनेता दयाहाङ राई, अभिनेता

लकडाउन सुरु भएसँगै राईको 'कबड्डी ४' हलमा जाने तयारी भइरहँदा रोकिएको छ । फिल्म ‘२ नम्बरी’ छायाँकन गर्दागर्दै रोकियो । यद्यपि सुस्ताएको नेपाली चलचित्रलाई माथि उकास्न सरकारले धेरै सहायता गर्नसक्ने राईको भनाइ छ । चलचित्र क्षेत्रका व्यक्तिहरु र सरकारवाला मिलेर यसलाई कसरी अघि लैजाने भनेर छलफल गर्न आवश्यक रहेको उनी बताउँछन् ।

कलाकारहरुले मनोरञ्जनको माध्यमबाट राजनीति, साँस्कृतिक, आर्थिक सबै क्षेत्रको बारेमा सन्देश दिने भएकोले देशको लागि सिनेमा क्षेत्र महत्वपूर्ण रहेको राई बताउँछन् ।

फिल्महरुको सुटिङ नै बन्द भएपछि राई हाल रंगमञ्च साथै सर्ट फिल्महरुमा समय दिइरहेका छन् । कोरोनाका कारण नेपाली चलचित्र क्षेत्रमा धेरै असर पुगेकोमा उनको चिन्ता छ ।
०००
सुरक्षा पन्त, अभिनेत्री

सुरक्षा पन्तको ‘आमा’फिल्म लकडाउनकै कारण हलमा रिलिज हुँदाहुँदै रोकिएको थियो । कोरोनाको कारण यस फिल्मबाट सोचेअनुसार नाफा आउन नसकेको उनले बताइन् ।

बन्दका कारण 'आमा' फिल्मलाई विदेशमा प्रर्दशन गर्न नपाएपछि उक्त फिल्मबाट सोचेअनुसार आम्दानी लिन नसकेको उनको तर्क छ । पन्तका अनुसार लकडाउनको समयमा धेरै कलाकारहरु घरमै बसेकाले सरकारले कलाकारका लागि केही सहायता गर्नुपर्ने उनको राय छ ।

मनोरञ्जनको माध्यमबाट सिनेमा क्षेत्रले देशका लागि केही गर्न सक्ने थियो । तर यसलाई नजरअन्दाज गरेर राज्य अघि बढ्यो, जसले गर्दा सिनेमा क्षेत्रलाई ठूलो असर पुगेकोमा पन्तको चिन्ता छ ।

सिनेमा क्षेत्रसँगै अन्य क्षेत्रमा पनि जोडिएका कलाकारहरुलाई त अहिलेको समय कटाउन केही गाह्रो नभएको तर दिर्घकालीन रुपमा फिल्म क्षेत्रलाई आफ्नो करिअर बनाएका र यसैबाट जीविकोपार्जन गर्नेहरुलाई धेरै समस्या रहेको उनी बताँउछिन् ।

यो समय सरकारले सिनेमा क्षेत्रलाई अनलाईनमार्फत प्रदर्शन गर्न सक्यो भने पनि चलचित्र क्षेत्रमा केही उकास्न सहज हुने पन्तको सुझाव छ ।

महामारीका बीच नेपाली फिल्महरु सुस्ताए पनि पन्तलाई भने भ्याइनभ्याइ छ । यसबीचमा उनी सर्ट फिल्म, म्युजिक भिडियोमा व्यस्त भइन् । यससँगै नयाँ फिल्मको कार्यशालाका लागि चितवन जाँदै छिन् ।
०००
विल्सन विक्रम राई, अभिनेता

नेपालमा हलहरु बन्द भएपछि विल्सन पनि फुर्सदमा छैनन् । कुनै न कुनै काममा आफूलाई व्यस्त राखिरहेका विल्सन हाल विश्व चलचित्रलाई नियाल्दै रहेको बताउँछन् ।

जन्मथलो झापामा केही सर्ट फिल्मसँगै खेतीबालीमा रमाइरहेका छन् उनी । सूर्य बोहोराले निर्देशन गरेका ‘हेल्लो जिन्दगी’मा विल्सन पनि मुख्य कलाकारको रुपमा प्रस्तुत हुँदै थिए ।

तर कोरोनाका कारण सबै काम अन्त्यतिर पुगिसके पनि बन्द गर्नुपरेको उनले बताए । विल्सन र उदय सुब्बाको निर्देशनमा बन्न लागेको ‘आकाशे खेती’पनि कोरोनाकै कारण थन्किएको छ ।

उक्त फिल्ममा एक करोड लगानी गरिएको थियो । केही म्युजिक भिडियो र कथाहरु लेखनमा व्यस्त रहेका विल्सन भन्छन्, ‘कोरोनाको पहिलो प्रभाव चलचित्रलाई नै पर्‍यो। यसको अन्त्य नभएसम्म चलचित्र क्षेत्र पनि उठ्न सक्दैन जस्तो लाग्छ ।’

विल्सन अहिले आफ्नै तक्मेबूढा युवट्यूव च्यानलमा सर्ट कमेडियन सिरिजहरु प्रर्दशन गर्दैछन् । कलाकारहरुले कुनै न कुनै माध्यमबाट कला देखाउनुपर्ने भएकोले फिल्मबाट नभएर पनि अरुबाट पनि देखाउन सकिने उनको भनाइ छ ।
०००

डा. सचिन घिमिरे, फिल्म मेकर

कोरोनाले गर्दा ठूलो लगानीमा निर्माण गरिएको सचिनको फिल्म पनि रोकियो । सचिनका अनुसार हल तुरुन्तै संचालन गर्नुपर्ने भन्दा पनि कोरोना विरुद्धको खोपको लागि सरकारलाई सबै चलचित्रकर्मीहरुले दबाब दिनु उपयुक्त हुन्छ ।

पहिले सबै जनतामा खोप पुगपछि र सबै सुरक्षित छन् भनेपछि मात्रै बिस्तारै हलहरु खुलाउनुपर्ने उनको राय छ । डा घिमिरे भन्छन्, 'अहिलेको सबै नागरिकलाई खोपको व्यवस्था गर्न राज्यलाई झकझकाउनुपर्ने समय हो ।'

कम लगानीमा निर्माण भएका फिल्म, जुन हलमा पनि कम चल्ने, डिजिटलमार्फत पनि हलको जत्तिकै नाफा कमाउन सकिने फिल्महरु भने अनलाईन प्लेटफर्म अनुसार प्रर्दशन गर्न सकिने उनी बताँउछन् । अहिले नै हल संचालन गर्दा पनि ५० प्रतिशतको दरले दर्शक राख्दा उल्टै घाटा नै हुने र अन्य व्यवस्थापन मिलाउन सहज नहुने उनले बताए ।

सबै फिल्म मेकरहरुले सरकारलाई खोपको लागि कडाइ गरी जनताको सुरक्षा गराउन दबाबमूलक कामहरु गर्नुपर्ने उनले बताए । साथै सरकारले कोरोनाका कारण बन्द हुन पुगेका नेपाली फिल्महरुलाई सहुलियत दिनुपर्ने उनको भनाइ छ । धेरै लगानीमा बनिसकेका फिल्महरु जुन कोरोनाका कारण रोकिए, ती फिल्महरुलाई सरकारले विशेष सहुल्यत दिनुपर्ने सचिनको माग छ ।

व्यक्तिगत रुपमा भने सचिनका लागि महामारीको अवधि केही लाभदायी बन्यो । चलचित्र क्षेत्र नै अन्यौलमा रहेका बेला सचिनको फिल्म ‘पुन्टेको पाङग्रे’ले नेपाल पानोरमाको फिक्सन विधातर्फ पुरस्कार हात पार्न सफल बन्यो ।
०००

रामशरण पाठक, निर्देशक

चलचित्र क्षेत्रलाई अब नयाँ तरिकाले अघि बढाउनुपर्ने पाठकको भनाइ छ । लकडाउनको कारण पाठकको भने कुनै पनि फिल्मलाई असर पुगेन ।

सरकार, कलाकार सबै मिलेर चलचित्र क्षेत्रलाई माथि उकास्न सहयोग हुने उनको भनाइ छ । यो समय भनेको नयाँ फिल्म मेकरहरुलाई आफ्नो सीप देखाउने अवसर पनि भएकाले महामारीलाई अवसरको रुपमा पनि सदुपयोग गर्न सकिने उनको सुझाव छ ।

'नयाँ फिल्म मेकरहरुले डिजिटलमार्फत आफ्ना सीप प्रस्तुत गर्न सक्नेछन् । कलाकारहरु पनि सिनेमा क्षेत्र मात्र नभई अन्य व्यवसायमा जोडिनु विपद्को बेला आवश्यक नै हो' पाठकले भने ।
०००

गौरव पहारी, अभिनेता

गौरव पनि यस अवधिमा सर्ट फिल्मतिरै लागे । महामारीका बेला कलाकारहरुले कुनै न कुनै माध्यमबाट आफ्नो कला देखाउन सकिने उनको तर्क छ ।

नयाँ सिकाइका लागि पनि कलाकारहरुले आफ्नो कला लगातार अघि बढाइरहनुपर्ने उनले बताए । म्युजिक भिडियोबाटै पनि कला देखाउन सकिने भएकाले यसलाई पनि उपयुक्त प्लेटफर्मको रुपमा प्रयोग गर्न सकिने उनले बताए ।
०००

अनुराग कुंवर, कलाकार

‘के यो माया’फिल्मबाट फिल्म करिअर सुरु गरेका अनुराग महामारीका कारण आफ्नै व्यवसायमा व्यस्त बने। धेरै फिल्म झैँ महामारीका बीच उनले गरिरहेका केही फिल्मका काम पनि रोकिएपछि आफ्नै व्यवसायमा समय दिएको उनी बताउँछन् । कुंवरका अनुसार चलचित्र क्षेत्र उठानका लागि सरकारले हल संचालन गर्न दिनुपर्छ भन्ने नै छ । अनलाइनको माध्यमबाट विकल्पको खोजी गर्न सकिने उनको तर्क छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.