अस्पतालको फार्मेसी प्रकरण:अख्तियारको अनुसन्धानमाथि नै आशंका

वीरगन्ज : वीरगन्जस्थित नारायणी अस्पतालको फार्मेसीमा भएको आर्थिक हिनामिनाबारे अख्तियारले छापा मारेको २० दिन बितेको छ । तर २० दिन भएता पनि अनुसन्धानको नतीजा बारे अख्तियारले कुनै प्रतिकृया जनाएको छैन । यसै कारण अख्तियारको अनुसन्धानमाथि नै आशंका गर्न थालिएको छ।
अस्पतालको सरकारी फार्मेसीमा औषधी खरिद बिक्रीमा त्यँहा कार्यरत कर्मचारीले १ करोड २१ लाख रुपैयाँको हिनामिना गरेको समचार अन्नपूर्णपोष्ट दैनिकको साउन २४ गतेको अंकमा प्रकाशन भएको थियो । त्यसको आठ दिनपछि साउन ३२ गते हेटौडास्थित अख्तियार दुरुपयोग अनुसन्धानको क्षेत्रीय कार्यालयबाट उपसचिव विष्णु प्रसाद सापकोटा नेतृत्वमा आएको टोलीले फार्मेसीमा छापा मारेको थियो ।
फार्मेसीमा छापा मारेको अख्तियारको टोलीले फार्मेसीको कोरोबार सम्बन्धी फाइल र कागजात नियन्त्रणमा लिनुका साथै फार्मेसीको स्टोर कक्षमा सिल गरेर हेटौडा फकिएको थियो । हेटौडा फर्कने क्रममा अख्तियार टोली प्रमुख सापकोटाले सबै कागजात अध्यनन गरेर ७/८ दिनमै अनुसन्धानको रिपोर्ट सार्वजनिक गर्ने बताएका थिए । तर अख्तियारको टोली हेटौडा फर्किएको २० दिनपछि पनि अख्तियारले अझै सम्म अनुसन्धानको रिपोर्ट नै सार्वजनिक गर्न सकेको छैन । जसका कारण अस्पतालसँग सरोकार राख्ने यँहाका अगुवाहरुले अख्तियारकै अनुसन्धान माथि आशंका गर्न थालेका छन् ।
अस्पतालको सुधारमा लामो समयदेखि लागेका स्थानीय निजामसदिन समानीले भने, '२० दिन भईसक्दा पनि अख्तियारले अनुसन्धानको नतीजा दिन सकेको छैन, यसले अब प्रश्न अख्तियार माथि तेर्सिन थालेको छ ।' अनुसन्धानले सही वा गलत के भेटिएको छ त्यो छिटटै सार्वजनिक गर्नुपर्ने उनको माग छ ।
समानी भन्छन्,'पर्सामा नारायणी अस्पताल मात्रै होइन, अन्य थुप्रै सरकारी निकायमा पनि अख्तियारले छापा मारेको छ, तर अहिलेसम्म एक जना पनि दोषीलाइ कारवाही गरेको मैले सुन्न पाएको छैन ।'
नारायणी अस्पतालको फार्मेसीमा गरिएको अनुसन्धानको हविगत पनि त्यस्तै हुने हो कि भन्ने आशंका हुन थालेको छ ।
फार्मेसीमा छापा मार्न आएका अख्तियार टोली प्रमुख सापकोटाले भने फार्मेसीका कागजात सहितको फाइल थप अनुसन्धानका लागि काठमाडौंस्थित अख्तियारको केन्द्रिय कार्यालयमा पठाइ दिएको जानकारी दिए ।
थप अनुसन्धान गर्नुपर्ने आवश्यकता देखिएकाले वीरगन्जबाट लिएर आएका कागजातसहितको सबै फाइल भदौ १० गते नै केन्द्रिय कार्यालयमा पठाइ दिएको उनले बताए ।
साउन ३२ मा फार्मेसीमा छापा मार्ने क्रममा फार्मेसीले खरिद गरेका औषधीको बोलपत्र, खरिद बील, भौचर लगायतका सबै कागजात फेला नपरेको उनले बताए ।
त्यसदिन फेला नपरेका काजात फार्मेसी इन्चार्ज हरेन्द्र यादवले पनि दिन नसकेकोले अनुसन्धानमा समस्या परेपछि आफुहरुले ल्याएका जति सबै फाइल काठमाण्डौ नै पठाइ दिएको उनले जानकारी दिए । उनले भने,‘अब केन्द्रिय कार्यालयले नै अनुसन्धान अधिृकत तोकेर थप अनुसन्धान अगाडि बढाउनेछ ।'
अख्तियारको केन्द्रिय कार्यालयले अनुसन्धान अधिकृत तोकेर उसैको नेतृत्वमा टोली फेरि फार्मेसीमा पठाउन पनि सक्ने सापकोटोले बताए । आफुहरुले गरेको १० दिनको अनुसन्धानमा फार्मेसीले खरिद गरेका औषधी म्याद सकिएपछि समयमै आपुर्तिकर्तालाइ फिर्ता नगरेको, स्टोरकक्षमा ठूलो परिमाणमा म्याद सकिएका औषधी लामो समय देखि भण्डारण गरि राखेको, खरिद गरिएका औषधीको परिमाण अनुसार बील नभएको जस्ता कैफियत भेटिएको जानकारी पनि सापकोटाले दिए।
नारायणी अस्पतालले २०७४ बैशाखदेखि सञ्चालनमा ल्याएको फार्मेसीमा सन्चालन भए यता २०७८ जेठ मसान्त सम्म फार्मेसीमा कार्यरत कर्मचारीले औषधीको खरिद बिक्री ,तलब भत्ता सुविधा लगायतमा करिब १ करोड २१ लाख रुपैया हिनामिना गरेको प्रमाण सहितको समाचार अन्नपूर्ण पोष्टले प्रकाशीत गरेको थियो ।
प्रतिक्रिया दिनुहोस !
