तीज पर्व : लैंगिक अल्पसंख्यकलाई घुलमिल हुनै कठिन
काठमाडौं : रातो सारीमा सजिएकी उनी साथीहरूलाई भन्दै थिइन्, ‘छिटो गर्नू है।’ आफू पनि शिरमा नक्कली कपाल मिलाउँदै, आँखामा कालो गाजल लगाउँदै थिइन्। अब त भयो होला भन्दै ऐनामा आफ्नो रूपरंग देखेर मुसुक्क मुस्कुराइन्। महिलाको पहिरनमा सजिएकी उनको केश छिरबिरे धागोले मिलाएर बाटिएको थियो।
नारायणगढको महिला समूहले तीजका अवसरमा दर खाने कार्यक्रम थियो। त्यसमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई पनि निम्त्याइएकाले नवीना गुरुङले यसरी तयारी गरेकी हुन्। कार्यक्रममा नवीनासँगै उनकी साथी सुनिता तामाङ गएका थिए। तर, कार्यक्रममा गएपछि उनीहरू विभेदमा परे। केही महिलाले उनीहरूलाई हेर्दै ‘केटाजस्तै’ भनेर कानेखुसी गर्न थाले। राम्ररी नाचगान गर्न पनि दिएनन्। दर खान लाम लाग्दा व्यंग्य कसे, ‘यस्तोहरूलाई किन बोलाएको होला ? कार्यक्रम नै बिग्रियो।’ उनीहरूलाई धकेल्न थाले।
नवीनाका अनुसार यो घटना एक वर्षअघिको हो। अरू महिलाले त्यसरी विभेद गर्दा धेरै दुःख लागेको उनी सुनाउँछिन्। भन्छिन्, ‘महिला अधिकार, बराबरका कुरा गर्नेहरूले त हामीलाई विभेद गर्छन् भने अरूलाई त बुझाउन धेरै समय लाग्छ।’
उनले तीज महिलाको विशेष पर्व भनेर दिदीबाट थाहा पाएकी रहेछन्। आफूलाई महिलाको रूप दिएपछि तीजको व्रत बस्न थालेको चार वर्ष भयो। तर, पूजापाठ गर्न नारायणगढकै शिवालय मन्दिर जाँदा पुजारीले भित्र पस्न दिएनन्। पुजारीलाई उद्धृत गर्दै उनी भन्छिन्, ‘तिमीहरू मन्दिरभित्र पस्न हुँदैन, अशुभ हुन्छ।’ पुजारीले यस्तो गरेपछि उनले प्रहरीमा उजुरी दिइन्। त्यसपछि भने मन्दिरमा पस्न रोकतोक नरहेको उनको भनाइ छ।
नवीना र संगीता दुवै जना पुरुष भएर जन्मिका थिए। उमेर बढेसँगै उनीहरूलाई महिलाजस्तै बन्न मन लाग्यो। पहिरन महिलाकै लगाउन थाले। बोलीचाली पनि महिलाकै गर्न थाले। तर, परिवार, समाजको सहमति भएन। त्यसैले उनीहरू दुवै जना जन्मस्थल छोडेर चितवन आए। चितवनमा उनीहरूजस्तै थुप्रै व्यक्ति भएकाले अलिक सजिलो भयो।
२० सलिनालाई तीज पर्व भव्य तरिकाले मनाउन मन लाग्छ। तर, उनी व्रत बस्दिनन्। तीजका बेला उनी पनि महिलाजस्तै सजिन्छिन्। तर, आफ्नो पहिरनलाई लिएर समाजका व्यक्तिहरूले अनेक कुरा काट्ने गरेको उनी सुनाउँछिन्। अन्य महिलासँग घुलमिल हुन नसक्ने उनको भनाइ छ।
मानव सचेत समाजका कार्यक्रम संयोजक देवकुमार श्रेष्ठ पहिलेभन्दा अहिले तीज मनाउन सहज भएको बताउँछन्। उनका अनुसार पहिला एउटा कोठाभित्र लुकेर, कसैले केही भन्लान कि भनेर तीजको कार्यक्रम हेर्नुपर्थ्यो। अहिले त्यो नभएको उनको भनाइ छ। अहिले यो समुदायका व्यक्तिहरू खुलेर आउने, कुनै चौतारालगायत ठाउँमा मज्जाले तीज मनाउन सकिने उनी बताउँछन्।
ब्लु डाइमण्ड सोसाइटीकी अध्यक्ष पिंकी गुरुङ साँस्कृतिक अधिकारको हिसाबले पनि आफूहरूले तीज मनाउन पाउने बताउँछिन्। ‘तीजले गर्दा हाम्रो समुदायका व्यक्तिहरूलाई दुःख पीडा पोख्ने ठाउँ पनि भएको छ। अन्य महिलाहरू यो समय माइतीमा वेदना पोख्ने भनिन्छ। तर, हामीलाई त परिवारबाट नै बहिष्कार गरेको छ कहाँ गएर पोख्ने ? कसलाई भन्ने ?’, उनी भन्छिन्, ‘जसले गर्दा हामीले आफ्नो समस्याका बारेमा बताउने र समाधानका उपाय पनि निकाल्न सकिन्छ।’