किन उठ्न सकेन शेयर बजार ?

किन उठ्न सकेन शेयर बजार ?

काठमाडौं : लामो समयदेखि लगातार शेयर बजार ओरालो लागेको छ। बजार ओर्लिएपछि लगानीकर्ताहरुको अर्बौं रकम गुमेको छ। अब बजार कुन दिशामा  जाला भन्नेमा लगानीकर्ता अन्योलमा छन्। उनीहरु 'पर्ख र हेर' को अवस्थामा पुगेका छन्। अस्वभाविक रुपमा बजार घटबढ हुँदा कतिपय लगानीकर्ताहरु शेयर बिक्री र खरिद गर्न सकिरहेका छैनन्।

बजारको अप्राकृति गतिका कारण लगानीकर्ताहरू दोधारमा परेको विज्ञहरु बताउँछन् । शेयर बजारमा उतारचढाव आउनु सामान्य मानिन्छ। तर, अस्वभाविक रुपले घट्दै गएपछि भने लगानीकर्ता निराश छन्। घाटा व्योहोर्नु परेपछि लगानी  सुरक्षित गर्ने उपायको खोजिमा उनीहरु छन्।

पछिल्लो समय सरकारले सार्वजनिक गरेको मौद्रिक नीति नै शेयर बजार घट्नुको मुख्य कारण रहेको लगानीकर्ताको बुझाइ छ। बैंकले मौद्रिक नीतिमार्फत  एउटा वित्तीय संस्थाबाट चार करोड र सबै वित्तीय संस्थाबाट १२ करोड रुपैयाँभन्दा बढी शेयर कर्जा लिन नपाउने व्यवस्था गरेको छ। नाफाको आशमा  बसेका लगानीकर्ता चालु आर्थिक वर्षको नीतिले लगानीमा क्याप लगाइदिएको भन्दै हतोत्साहित छन्।

अस्थीर सरकार, शेयर बजारमा नेतृत्वको अभाव, पटक-पटक अर्थमन्त्री फेरबदल शेयर बजार प्रभावित पार्ने अर्को कारण भएको यस क्षेत्रका जानकारहरु बताउँछन्।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सीइओ चन्द्रसिंह साउँदले राजीनामा दिएको करिब दुई साता भइसक्दा पनि नयाँ सीइओ नियुक्त गरिएको छैन। धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना निलम्बनमा परेका छन्। नेतृत्व तहको टुंगो नलाग्दा पनि शेयर बजार प्रभावित भएको लगानीकर्ताहरुको  बुझाइ छ। 

सर्वोत्तम सिमेन्टको 'बुक बिल्डिङ' प्रक्रियामा रहेका बेला सोही कम्पनीमा आफ्नी श्रीमतीको नाममा शेयर किनेपछि साउँद विवादमा मुछिएका थिए। यस्तै  शेयर विवादकै कारण धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना पनि निलम्बनमा परेका हुन्। अहिलेसम्म दुवै पद खाली छन्।

शेयर बजार घट्नुको अर्को कारण बजारमा नराम्रो हल्ला फिजाउने समूहको हावी भएको शेयर लगानीकर्ता अमर शाही बताउँछन् । 'एकथरी समूह शेयर बिक्री गरी लगानी उठाएर बसेको छ । अब घटेको मुल्यमा शेयर खरिद गर्न पाइने लोभमा प्रचारवाजी गर्दैछ' शाहीले बताए । नेप्से ३२०० अंक माथि पुग्दा केही ठूला लगानीकर्ताहरुले शेयर बेचिसकेका छन्। अब जतिसक्यो बजार घटाएर शेयर उठाउने ध्याउन्नमा लागेको उनीहरुको बुझाइ छ।

दिनभरजसो शेयर मूल्य अलिकति घट्ने बित्तिकै ग्राहक हावी हुने अनि अलिकति बढ्यो कि बिक्रेताको संख्या ह्वात्तै बढ्ने प्रवृत्ति हावी छ। जसले गर्दा शेयर  बजार आफ्नो लयमा जान नसकेको अर्का लगानीकर्ता रिमा खड्काको भनाइ छ ।

मौद्रिक नीतिकै कारण शेयर बजार माथि उठ्न नसकेको नेपाल पुँजीबजार लगानीकर्ता संघको अध्यक्ष राधा पोख्रेलको बुझाइ छ। उक्त नीतिप्रति असन्तुष्टि व्यक्त गर्दै पोखरेलले जतिसक्दो चाँडो १२ करोडको 'क्याप' हटाउन माग गरिन्।

'यसले पूँजीबजारको विकास र विस्तारलाई संकुचित गर्न खोजिएको छ,'उनले भनिन्, 'जति लगानीकर्ताको सहभागिता भयो त्यति विकास हुने हो, केन्द्रीय बैंकले कसरी हुन्छ शेयरको खपत घटाउने काम गरेको छ, यो सह्यै छैन।' 

लगानीकर्ताहरुको छाता संगठन नेपाल इन्भेष्टर्स फोरमले अर्थमन्त्रीलाई भेटेर १२ करोडको 'क्याप' हटाउन माग गरेका छन्। फोरमले मौद्रिक नीति परिमार्जन गर्न राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग समेत गरेका छन्। उनीहरु अर्थमन्त्रालयभन्दा गभर्नरप्रति बढी आक्रोशित छन्।

फोरमले केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत ल्याएको मार्जिन कर्जामा १२ करोडको सीमा हट्नुपर्ने,लघुवित्त कम्पनीहरुले वितरण गर्ने लाभांशमा लगाइएको क्याप हटाउनुपर्ने,प्रोभिजनिंकको व्यवस्था परिमार्जन गर्नुपर्ने, मुद्दति निक्षेप ब्याजर न्यूनभन्दा न्यून कायम गर्नुपर्ने माग गरेका छन्।

शेयर बजारबाट आत्तिएका लगानीकर्ता अर्थमन्त्रीकहाँ पुगे। गत सोमबार शेयर बजारमा उब्जिएका समस्या समाधान गर्न अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई निर्देशन दिए। गभर्नरले आवश्यक प्रकिया मिलाई परिस्थित सहज बनाउने बताए। त्यही दिन दिउँसो अर्थमन्त्रीले निर्देशन दिएको समाचार बाहिरिएसँगै अपराह्न ३ बज्नै लाग्दा शेयर बजार एकाएक १६१.९४ अंकले बढ्यो ।

आइतबार नेप्से १०८ अंकले घट्यो। सोमबार १६१ अंकले बढेर बजारमा हरियाली देखेर हौसिएका लगानीकर्ता मंगलबार फेरि निराश बने। सो दिन नेप्से ४४  अं‌कले घटेर २९३६ विन्दुमा पुग्यो। बुधबार पनि शेयर बजार उकालो लाग्न सकेन। बुधबार नेप्से ६० अंकले घट्दा ६ अर्ब ६४ करोड बराबर कारोबार भयो।

यो अवधिमा नेप्से बढेको दिन जलविध्युत र वित्तीय समूहका लगानीकर्ताले लगानी उठाउन सफल भए। शेयर लगानीकर्ताहरु मार्जिन प्रकृतिको कर्जामा राष्ट्र  बैंकले सीमा तोकेको भन्दै गुनासो गर्दै आएका छन्। राष्ट्र बैंकले भने मार्जिन प्रकृतिको कर्जामा केही समस्या देखिएकाले सीमा तोकेको जनाउँदै आएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.