स्वतन्त्रता भएन भने कमेडियन बन्‍न सकिँदैन

स्वतन्त्रता भएन भने कमेडियन बन्‍न सकिँदैन

काठमाडौँ: तपाईँ १६ मिनेटमा दुनियालाई प्रभाव पार्ने गरी के गर्न सक्नुहुन्छ ? चितवनकी सीता न्यौपानेले १६ मिनेटको एउटा 'स्ट्यान्ड अप कमेडी'बाट धेरै दर्शकलाई आफ्नो प्रशंसक बनाइन् ।

मध्यम वर्गीय परिवारका समस्या र व्यवहारलाई उनले कमेडीको कन्टेन्ट बनाएकी थिइन् । त्यसैले त सीताको 'मिडल क्लास प्रब्लम्स' ४ महिनासम्म आइपुग्दा 'नेपग्याज्म'को आधिकारिक युट्यूबबाट झण्डै १० लाखले हेरिएको छ । ३५ हजार भन्दा धेरैले कमेन्ट गरेका छन् ।

'मिडल क्लास प्रब्लम्स'मा उनले सहरमा बसोबास गर्ने आम मानिसको चिन्तनको दायरा, उनीहरुका खुसी, चिन्ता र समस्यालाई सीताले रोचक शैलीमा प्रस्तुत गरेकी छन् । केही वर्षयता स्ट्यान्ड अप कमेडीमा नयाँ अनुहार र कन्टेन्ट त धेरै देखिएका छन् । तर ती नयाँहरुमध्ये सीताको शैली भिन्न र मौलिक छ ।

उनको कमेडीले धेरैलाई छुनुको कारण उनले आम मान्छेका चासो र ससाना समस्यालाई रोचक पाराले प्रस्तुत गरेकी छन् । त्यसो त सीता पहिलो कमेडी 'के हेरेको बे' बाटै चिनिन थालेकी हुन् । तर मिडल क्लास प्रब्लम्सबाट उनले जे कुरा समाजलाई सुनाइन् त्यो धेरै हदसम्म मौलिक, यथार्थपरक र गहिराइसम्मै पुगेको थियो ।

विशेषगरी स्ट्यान्ड अप कमेडीमा महिलाहरुको उपस्थिति थोरै छ । तीमध्ये धेरैले सामाजिक, राजनीतिक मुद्दालाई कन्टेन्ट बनाएकै छैनन् । सीता उनीहरुको भीडबाट अलग छिन् । राजनीतिक मुद्दालाई पनि स्ट्यान्ड अप कमेडीको कन्टेन्ट बनाउने थोरै महिलामध्ये सीता एक प्रभावशाली कमेडियन हुन् ।

उनको 'बाझनीति' त्यसैको एक उदाहरण हो । यससँगै उनले नेपाली कमेडीमै ब्याटलको नयाँ प्रयोग गरेकी छन् । लेखमणि त्रितालसँग उनले गरेको ब्याटल कमेडी छोटो समयमै लोकप्रिय बनेको छ । स्ट्यान्ड अप कमेडीमा ब्याटल गरिएको सम्भवत यो नै पहिलो 'कमेडी दोहोरी' थियो ।

चितवनदेखि काठमाडौँसम्म:

चितवनको मंगलपुरबाट एसएलसीपछि उनी प्लस टू गर्न काठमाडौँ आइन् । माइक्रो बस चढेर काठमाडौँको कलंकी आइपुग्दा सडकछेउमा थुप्रिएको फोहोर र दुर्गन्धले पहिलो पटक उनको स्वागत गरेछन् ।

'सोचेको भन्दा फरक भैदियो । कंलकी नजिकै सडकमा थुपारिएको फोहोर, गन्धले नाक खुल्ला गर्न नसक्दा फर्केर चितवन नै जाँउ जस्तो बनाइदियो । सहरभित्र बसेर दुई वर्ष कटाउन एकदम सकस भयो मलाई,' उनी भन्छिन्, 'गाँउ भनेको फिलिङ्स हो भने सहर भनेको बाध्यता हो । मलाई सहरभित्र भिज्न धेरै समय लाग्यो ।'

सीता सानैदेखि ठट्टा, रमाइलो गर्ने भएकोले पनि उनलाई सहरभित्र अन्जान व्यक्तिहरुसँग घुलमिल हुन गाह्रो चाँही भएन । काठमाडौँमा पढिन्जेल उनी राम्रोसँग पढ्ने र जागिर मात्रै सोच्थिन् ।

प्लस टू उत्तिर्ण गरेपछि बिएस्सी गर्न उनी चितवन नै फर्किन् । भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसमा उनले माइक्रोबायोलोजीमा बिएस्सी गरिन् । त्यसपछि फेरि काठमाडौँ आइन् एमएस्सी गर्न । अहिले उनी त्रिभुवन विश्वविद्यालयबाट एमएस्सीको थेसिस गरिरहेकी छन् ।

कमेडीमा सीताको प्रवेश:

माघको चिसो मौसमसँगै उनले स्टयान्ड अप कमेडी नेपग्याज्ममा एप्लाई गरिन् । कमेडी उनको प्यासन नै थियो । सानैदेखि कमेडी शो भनेपछि उनी खाना खाँदा समेत टेलिभीजनमा रमाउँथिन् । स्कुलमा दिनभर साथीहरुसँग रमाइलो गर्थिन् । नेपाली मनोरञ्जन क्षेत्रका महजोडी भनेर परिचित मदनकृष्ण र हरिवंशका प्रस्तुतीले सीतालाई कमेडीमा तानेका थिए ।

तर पछिल्लो समय उनी कमेडीमा नयाँ विषय खोजिरहेकी हुन्छिन् । उनी समाजलाई रुपान्तरण गर्ने र सन्देशमुलक कमेडीतिर आकर्षित भएकी छन् । 'मलाई धर्म, जात र लिंगलाई जोडेर होच्याएर कमेडी गर्न मन पर्दैन् । समाजलाई मोटिभ हुने खालको कमेडी गर्नुपर्छ । म यस्ता कुरामा सकेसम्म धेरै ध्यान दिएको हुन्छु ।' सीताले भनिन् । अरुलाई होच्याएर र मानहानी हुने खालका प्रस्तुती देखाएर हसाँउनु छैन उनलाई ।

नेपग्याज्ममा एप्लाई गरेको एक महिनापछि सीतालाई कमेडी अडिसनको लागि भनेर फोन आयो । अडिसनको तयारीका लागि उनीसँग दुई दिन मात्रै थियो । जीवनको पहिलो प्रस्तुति भएकाले पनि सीता अलि नर्भस थिइन् । आत्मबल बढाउन उनले पर्दा पछाडि गीत घन्काएर एकछिन रमाइलो गरिन् । कोरोनाका कारण अडिसनमा पहिले जस्तो भीड थिएन । त्यसैले पनि उनलाई प्रस्तुति देखाउन सहज भएको थियो ।

'के हेरेको बे' बाट नै उनले आफ्नो कमेडी प्रस्तुती सुरु गरेकी थिइन् । यसमा उनले नाम जस्तै आफू शालिन नभएको भन्दै नामलाई लिएर सोचाइ बनाउने नेपाली समाजको चिन्तन पद्दतीमाथि व्यंग्य गरेकी छन् । 'नाम जस्तै व्यक्तिको बानी व्यहोरा हुँदैन । सामाजिक संजालमा महिलामाथि गरिने कमेन्ट, म्यासेजबारे उनले प्रस्तुतीमा व्याङग्य प्रहार गरेकी थिइन् । महिला स्वतन्त्रता, अधिकार, बेरोजगारीका कारण निम्ताएका समस्या जस्ता विषयमा उनले अडिसनमा हसाँएकी थिइन् ।'

पहिलो कमेडीपछि नै उनलाई फोन, म्यासेज र सामाजिक संजालमार्फत प्रशंसा आउन थालेको थियो । यसले उनलाई झन् उत्साही बनायो । यसलगत्तै सीताले 'मिडल क्लास प्रब्लम्स', 'बाझनीति' सहित धेरै सामाजिक मुद्दाबारे सरकारमाथि पनि व्यंग्य गरेकी छन्।

उनको कमेडीलाई धेरैले रुचाए । पहिलो अडिसनबाटै सीतालाई गाउँका छिमेकीले समेत फोन गरेका थिए । 'नानी तिम्रो भिडियो हेरे नि क्या रमाइलो गरेको भन्दै फोन आयो । त्यसपछि मलाई काम गर्ने उर्जा मिल्यो' उनले सुनाइन् ।

हरेक कमेडियनहरु स्वतन्त्र हुनुपर्ने सीताको तर्क छ । 'हरेक हिवासबाट कमेडियनहरु स्वतन्त्र हुनुपर्छ । स्वतन्त्र भएन भने कमेडियन बन्न नै सकिँदैन । महिलालाई झन् स्वतन्त्रता धेरै आवश्यक छ । कमेडीमा खुल्ला रुपमा प्रस्तुत हुनुपर्ने भएकोले धेरे बोल्नुपर्ने हुन्छ । बोले अनुसारको हाउभाउ दिनुपर्ने हुन्छ । त्यसैले स्टायान्ड अप कमेडीमा महिलाको सहभागिता कम नै छ । महिलाहरुलाई धेरै बोलेको नरुचाउने जस्ता कारणले पनि कमेडीमा महिला कम नै देखिन्छ' सीताले भनिन् ।

कमेडियन बन्न सामाजिक रुपमा फराकिलो हुन आवश्यक रहने पनि ठान्छिन् उनी । त्यसो त सीताको व्यक्तिगत सन्दर्भमा उनलाई केही सहज छ । परिवारको साथसहयोगले नै यहाँसम्म आइपुगेकी ठान्छिन् उनी । 'मैले अडिसन दिइरहँदा परिवारका कुनै एक सदस्यले ताली पिटे पनि एकदम हिम्मत बढ्छ । त्यसैले सुख दुःखमा परिवारको साथ आवश्यक हुन्छ । तिमी गर म छु भन्ने हुनुपर्छ ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.