पर्यटकको पर्खाइमा मुस्ताङ
जोमसोम : मुस्ताङ अहिले कोरोना कहरका कारण सुनसान छ। वर्षेनि ३ लाख आन्तरिक र ६० हजार विदेशी पर्यटक भित्रिने मुस्ताङ जिल्ला गत वर्षको पुषदेखि फागुनसम्म खुलेर पुन:ब्रेक डाउन भएको हो। कोरोना माहमारीसँगै प्रभावित बनेको मुस्ताङ जिल्लाले ३ महिना खुलेर झन्डै २७ महिनाभन्दा बढी पर्यटकीय क्षति गुमाएको छ।
कोरोनाका कारण पर्यटन क्षेत्रमा परेको असरका कारण मुस्ताङका पर्यटन व्यवसायी समस्यामा परेका छन्। कुनै बेला आन्तरिक तथा बाह्य पर्यटकले खचाखच हुने मुस्ताङका होटल तथा रेष्टुरेन्टहरु पर्यटकको उपस्थिती नहुँदा रित्तै छन्। कोरोनाको पहिलो लहर क्रमश मत्थर हुँदै गर्दा आर्थिक अवस्था बिस्तारै चलायमान बन्दै गईरहेको मुस्ताङमा कोरोनाको दोश्रो भेरियन्टले पर्यटन व्यवसायीलाई निराश बनाएको हो। मुस्ताङमा लिजमा होटल सञ्चालन गरेका जिल्ला बाहिरका पर्यटन व्यवसायी पर्यटक नहुँदा बिस्थापित हुने अवस्थामा छन्।
गण्डकी प्रदेशको पर्यटकीय धरोहरका रुपमा रहेको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर कोरोनाको दोश्रो भेरियन्टसँगै विगत ५ महिनादेखि बन्द छ। स्थानीय प्रशासनले जारी निषेधाज्ञा खुकुलो बनाएपनि अझै मुक्तिनाथ मन्दिर प्राविधिक समस्याका कारण खुल्न सकेको छैन।
मुस्ताङमा पोखरा-जोमसोम हवाई सेवा, लामो तथा छोटो दुरीका यातायातका साधन निर्वाध सञ्चालन गर्न पाउने अधिकार प्रत्यायोजन गरिएपनि मुक्तिनाथ खुल्ला नहुँदा पर्यटकको उपस्थिती हुन नसकेको हो। त्यसो त बेनी-जोमसोम सडक तथा मध्यपहाडी लोकमार्गमा सडक ठाउँ-ठाउँमा अवरुद्ध हुँदा तथा यो समय मुस्ताङको भ्रमण गर्ने अनुकुल मौसम भएपनि पर्यटक मुस्ताङ आउन सकेका छैनन।
यो समय मुस्ताङ भ्रमण गर्ने पर्यटकले धार्मिक स्थलको दर्शन गर्ने मात्र नभई यहाँको पर्यटकीय सौन्दर्यताको अवलोकन गर्ने समय पनि हो। स्याउ उत्पादनले प्रसिद्ध मानिएको मुस्ताङका बगैँचामा यतिबेला लटरम्म स्याउ फलेको दृश्य देख्न पाईन्छ।
मुस्ताङ आउने पर्यटकले स्याउ बगानको अवलोकन तथा मुस्ताङको स्याउ कोशेलीको रुपमा लैजाने गर्दथे। तर ,कोरोना कहरका कारण मुस्ताङमा पर्यटक नआउँदा स्याउ बगान पर्यटकविहिन बनेको छ। स्याउ बगान अवलोकन गर्न पर्यटकहरु मार्फा गाउँमा पुग्ने गथ्र्ये। तर यसपटक मार्फा गाउँ पनि अहिले सुनसान छ। स्याउ उत्पादन गरेर मुस्ताङले वर्षेनि ७१ करोड आर्थिक आम्दानी लिने गरेको स्याउ जोन मुस्ताङको तथ्याङ्कमा उल्लेख छ।
कोरोना कहरका कारण अनुदानमा सञ्चालित मुस्ताङका दर्जनौ होमस्टे सुनसान छन्। ग्रामिण भेकका जनताका आर्थिक अवस्था सवल तुल्याउने उद्देश्यले सञ्चालन गरिएका पर्यटक लक्षित होम स्टे बिस्थापित हुने अवस्थामा छ। मुस्ताङको ठिनी र स्याङ, उपल्लो मुस्ताङको मराङ र लोमान्थाङ होम स्टे सञ्चालनमा रहेपनि पर्यटक नहुँदा स्थानीयको व्यवसाय प्रभावित बनेको छ। यस्तै,कोरोना कहरका कारण मुस्ताङ सदरमुकाम जोमसोम, कागबेनी, मुक्तिनाथ , लोमान्थाङ लगायतका सयौं होटलहरु खाली छन्।
कोरोना कहरको संक्रमणकालीन अवस्थाको अन्त्य भएर पुन साविकै अवस्थाको पर्यटकीय गतिमा फर्किनेमा मुस्ताङी आशावादी छन्। मुस्ताङमा पर्यटक नआउँदा मुस्ताङको ढुम्बाताल, कागबेनी धाम, मुक्तिनाथ, दामोदरकुण्ड, लोमान्थाङ, मार्फा लगायतका पर्यटकीय गन्तब्य सुनसान बनेको हो।
मुस्ताङमा निषेधाज्ञा खुकुलो भएपनि मुक्तिनाथ मन्दिर खुल्ला नहुँदा पोखरा-जोमसोम हवाई सेवा समेत स ञ्चालन हुन सकेको छैन।
पर्यटक लोभ्याउने फापर फुलको सौन्दर्यता
मुस्ताङमा पर्यटकको उपस्थिती हुन नसकेपनि पर्यटक लोभ्याउने रैथाने फापरको फुलले पर्यटकको प्रतिक्षा गरेको छ। मुस्ताङका ५ वटै स्थानीय तहमा फापर खेती हो। वर्षेनि असार महिनामा उवा काटेर किसानले खेतबारीमा फापर छर्ने गर्छन। यसरी छरिएको फापर असोज ÷कार्तिकमा थन्क्याउने गरिन्छ।
यतिबेला मुस्ताङका खेतबारीमा फापर फुलेको मनोरम दृश्य देख्न सकिन्छ। समुन्द्री सतहको २ हजारदेखि ४ हजार मिटरसम्मको अग्लो उचाईमा फापर खेती गरिन्छ। यो खेती मुस्ताङको सदियौं वर्षदेखिको रैथाने बाली हो।
चिसो हावापानीमा उत्पादन हुने फापर खेती मुस्ताङको पहिचान झल्किने खाद्य बालीको रुपमा लिने गरिन्छ। मुस्ताङको अर्गानिक उत्पादन फापरको ढिडो थकाली परिकारको मुख्य खानाको रुपमा लिने गरिन्छ। मुस्ताङका किसानले तिते फापर र मिठे फापर लगाउने गर्छन्। अन्य खेती भन्दा केही झन्जटिलो भएपनि मुस्ताङका किसानले घरायसी प्रयोजन तथा ईष्टमित्रलाई कोशेली पठाउनका लागि यो खेती गरिदै आईरहेको पाईएको छ।
फापरमा कार्बोहाईट्रेड, प्रोटिनर लाईसिन एमिनो एसिड जस्ता खनिज तत्व पाईन गर्छ। सहर-बजारमा मुस्ताङमा उत्पादन हुने फापरको पिठोको उक्तिकै माग हुने गर्छ।
मुस्ताङमा आलु उत्पादन बढ्यो
यस्तै, मुस्ताङमा उत्पादन हुने अर्को महत्वपूर्ण नगदेबाली हो मुस्ताङी आलु। चिसो हावापानी उत्पादन गरिने मुस्ताङी आलुको सहजै बिक्रि हुने गरेको छ। कोरोना कहरको बिषम अवस्थामा समेत मुस्ताङी आलु सहजै बिक्री भएको किसानहरु बताउँछन्।
कोरोना कहरको अवस्थामा समेत मुस्ताङी आलुले राम्रो मुल्य पाएको किसानहरुको भनाई छ। गत वर्ष पाथिको १ सय ३० रुपैयाँमा बिक्री भएको मुस्ताङी आलुको मुल्य यस वर्ष २ सय रुपैयाँसम्म परेको ब्यापारीहरुले जनाएका छन्। मुस्ताङमा उत्पादित आलुले राम्रो बजार पाएपछि मुस्ताङमा आलु उत्पादनको मात्रा बढेको छ।
मुस्ताङका किसान स्याउ खेती जस्तै आलु खेतीतर्फ आर्कर्षित भएको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ। मुस्ताङका किसानले रातो र सेतो आलु लगाउने गरेका छन्। मुस्ताङमा पुस-माघमा आलु लगाएर भदौ र असोजमा निकाल्ने गर्छन्। व्यापारीहरु आलु खरिद गर्न किसानको खेतबारीमै धाउने गर्छन् ।