लक्ष्मणको बाँसुरी प्रेम
दैलेख : हिन्दु सँस्कृतिमा बाँसुरी र श्रीकृष्ण पर्यायवाची मानिन्छन्। नेपाली संगीतमा सबैभन्दा बढी प्रयोग हुने बाजा पनि बाँसुरी नै हो। प्राकृतिक बाजा बाँसुरीबाट आउने धुन निकै मधुर हुन्छ। बाँसुरीका धुन सुन्ने जोकोही मोहित हुन्छन्। यही बाँसुरी बजाएर सबैलाई मोहित बनाउनेमध्येका एक हुन्, दैलेखका लक्ष्मण नेपाली। ७८ वर्षीय लक्ष्मणको बाँसुरीसँग जोडिएको साइनो गज्जबको छ।
नौ वर्षको हुँदा बाँसुरी बजाउन थालेका लक्ष्मणले बजाएको बाँसुरीको धुनले अहिले पनि गुञ्जायमान बनाइरहेको छ। बुबा करवीर र आमा मोतीसराको कान्छो सन्तान हुन्, लक्ष्मण। वि.सं. २००१ साल माघ १६ गते नारायण नगरपालिका–१ पुरानो बजारस्थित गोलबजारमा जन्मिएका लक्ष्मणका दुई दाजुहरू थिए। उनी दुई वर्षको छँदा आमा र बुबाको निधन भयो। दाइ लालवीर र जयवीरको अभिभावकत्वमा हुर्किएका लक्ष्मण नौ वर्षको कलिलै उमेरमा बाँसुरीप्रति आकर्षित भइसकेका थिए।
लक्ष्मणको विरासत कपडा सिलाउने कला मात्र होइन, बाद्यबादनका साधनहरू बाँसुरी र तम्मर बजाउने पनि थियो। उनमा बाँसुरी र तम्मर बजाउने मात्र होइन, नाच्ने र गाउने कला पनि छ। लक्ष्मणका जेठो दाइ लालवीर दैलेखबाटै स्थापना भएको नेपाली सेनाको ज्वाला दल गणमा ब्यान्ड मास्टर (नाइके) सम्म भएका थिए। माइलो दाइ जयवीर नेपाल प्रहरीमा जागिरे थिए। लालवीर र जयवीरको निधन भइसकेको छ।
दाइहरू आ–आफ्नो गृहस्थीमा लागेपछि लक्ष्मण कपडा सिलाउने मेसिन बोकेर गाउँका घरघर पुग्थे। कपडा सिलाएबापत (तत्कालिन बालीघरे प्रथा) पाएको अन्नपातले लक्ष्मणको घरमा चुल्हो बल्थ्यो। परिवारको भोक मेटाउनकै लागि संघर्ष गरेका उनले साधनालाई पनि चटक्कै छाडेनन्। बाल्यकालदेखि नै बाँसुरी र तम्मर बजाउने कलाकै कारण समाजका अगुवाहरूको रोजाइमा परिरहे। स्थानीय मौलिक लोकभाका मात्र होइन, भजन, आधुनिक, हिन्दी गीतहरूमा समेत बाँसुरीको धुन बजाउने लक्ष्मणको कलाले मेलालाई विशेष बनाइरह्यो। उनले बजाएको धुनमा कयौंलाई नचाए, हँसाए अनि रुवाए पनि।
‘बाद्यबादनको कला भएकै कारण थुप्रै अवसर पनि आए। तर, आफू जन्मिएको गाउँ र ठाउँ छाडेर जान मेरो मनले मानेन्’, उनी भन्छन्, ‘जति कमाएँ यहीँ खर्चिएँ। मसँग भएको कलालाई सम्प्रेषण गरें।’
लाखे नाच विशेषतः बाँसुरीकै तालमा नाचिन्छ। बाँसुरीको तालमा तम्मर, तम्मरको तालमा ढोल, ढोलको तालमा झ्याली र घुङ्गरु अनि यी सबै बाजाको तालमा नाचिने नाच हो, लाखे नाच। सामाजिक र साँस्कृतिक रुपमा पछाडि पारिएको दलित समुदायमा जन्मिएर उनले कहिले पनि हिनताबोध गर्नु परेन। उमेरले आठ दशक पुग्नैलाग्दा उनको हौसला भने उस्तै छ। बाँसुरी बाधक लक्ष्मण अहिले स्वास्थ्य समस्याले थलिएका छन्। गत जेठमा लडेर घाइते भएका उनलाई अचेत अवस्थामै नेपालगञ्ज पुर्याइएको थियो। स्वास्थ्य जाँचका क्रममा ढाडको हड्डी खिइँदै गएको र नशा च्यापिएको रिपोट आएको थियो। जसका कारण शरीरको तल्लो भाग पक्षघात हुन पुग्यो। उनको दुवै मृगौलामा समेत समस्या देखिएको छ।
झन्डै तीन दशकदेखि लक्ष्मणलाई नजिकबाट नियालिरहेका अमर सुनार भन्छन्, ‘उहाँ कहिल्यै थाक्नु भएन। संकोच मान्नुभएन। कहिल्यै यो वा त्यो चाहियो भन्नु भएन। आफ्नो बुबाको पुस्तादेखि नाति पुस्तासम्मलाई आफ्नो बाँसुरीको धुनमा सवारी, त्रिताल, भोटेसेलो, झाम्रेदेखि तीजका भाका, कृष्णलिला टाकटुकेमा नचाउनुभयो। साँस्कृतिक पर्व वर्षे मेला अर्थात श्रीकृष्ण जन्माष्टमीमा उहाँको योगदान अतुलनीय छ।’