पर्यटकको रोजाइमा रामकोषको भ्यूटावर
स्याङ्जा : रामकोषस्थित हरियाली उद्यानसहितको टावर पर्यटकीय गन्तव्य बनेको छ। जिल्लामा स्मार्ट लकडाउन सुरुभएसँगै टावरमा रमाउनेको संख्या बढेको हो। पुतलीबजार नगरपालिका ४ स्थित रामकोष सिद्धार्थ राजमार्गको छेवैमा पर्छ। राजमार्गभन्दा करिब १५ मिनेटको पैदलयात्रापछि पुगिने हरियाली उद्यान, मन्दिर र पोखरीमा फोहोरासहितको शिवमूर्ति र आकर्षित टावर यहाँका प्रमुख विशेषता हुन्।
हरियाली उद्यानमा रमेर टाढा टाढाको प्राकृतिक दृश्यावलोकन गर्न टावर चढ्नेका लागि उपयुक्त स्थल छनौटगरी निर्माण गरिएको टावर नगरको प्रमुख पर्यटकीयस्थलका रुपमा चिनिएको छ।
पुतलीबजारमा रमणीयस्थलको खाँचो भइरहेको बेला स्याङजा भ्यूटावरको नाम दिएर स्थापित टावरले सबैलाई आर्कषित बनाएको छ। हरियाली उद्यानमा निर्मित टावर नगरकै नमूना पर्यटकीयस्थल हो।
घरमा बस्दाबस्दै थकित बनेका गृहिणी पनि यहाँ आएर प्रकृतिसँगै रमाउँदै फोटो खिच्ने गर्छन्। कोरोना संक्रमणले बाहिर जान नसक्नेका लागि केही क्षण रमाउने उपयुक्तस्थल पनि बनेको छ।
टावरबाट स्याङजाको मुख्यबजारलगायत वरपरका दृश्यावलोकन गर्न सकिन्छ। अग्लो डाँडा अनि त्यसमाथि बनाइएको दुईतले भवनबाट प्रकृतिलाई नियाल्दै गर्दा मनै प्रफुलित हुने पुतलीबजारकी राधा अर्यालले बताइन्।
स-साना बालबालिकादेखि प्रौढसम्मका आउँछन यहाँ। ‘जता हेर्यो उतै रमाइलो, मनै लोभ्याउने' क्लिक क्लिक फोटो खिच्दै गरेका शर्मा र उनीहरुसँगै आएका संगीहरु भन्छन्। यत्रतत्र हरियाली बगैचा, मौसम अनुसारका रंगीचंगी फूलले उद्यानको रौनकता थपेको छ। मन्दिर, पोखरीमा निर्मित शिवको मूर्ति, शिवको जटाबाट नियमित निस्कने पानीका फोहोराले झनै जोकोहीको मन लोभ्याउँछ। यही रमणीय वातावरणमा बालबालिकादेखि, युवा र प्रौढसम्मकाले फोटो खिच्दै रमाउने गरेका पनि प्रशस्तै भेटिन्छन्।
हरियाली उद्यानमा बहुउेश्यीय २ तले भवनसहितको भ्यू टावर , आकर्षक पानी पोखरी, टेवा पर्खाल, विश्रामस्थल, प्रवेद्वार, पक्की सिंढी मार्ग, भवन, शिव मन्दिरलगायत निर्माण गरिएका छन्। खानेपानी, बिजुलीको सुविधालगायत कुरुवा घर समेत निर्माण भएका छन्। वनभोज र धार्मिकलगायत विविध कार्यक्रम पनि यहाँ आयोजना गर्न सकिन्छ। शौचालय र पानी सहज उपलब्ध छ।
सहर बजारको कोलाहलभन्दा केही पर गएर रमाउनेका लागि भ्यू टावर अत्यन्तै मनमोहक छ। स्वच्छ, शान्त र सफा वातावरणमा रमाउन, लेख, रचना सृजना गर्न र मनोरञ्जनका लागि उपयोगी रहेको अर्जुनचौपारीदेखि यहाँ आएका कमल अर्यालले बताए।
सदरमुकामबाट झण्डै ६ किलोमिटर उत्तरतर्फ छ। सवारी साधनको सहज पहुँच भएकाले वृद्धदेखि बालबालिकासम्म यहाँ आएर रमाउने गर्छन्। प्रवेशद्वारसँगै निर्मित सिंढीहरु चढेपछि रमणीय उद्यानमा पुग्न सकिन्छ। सिढीको यात्रा सकिने वित्तिकै पितृहरुको आर्शिवाद लिएर मनै लोभ्याउने बगैचा, मन्दिर, पानी पोखरी, शिवको मूर्ति हेर्दै भ्यू टावर पुगिन्छ।
बुढोखोला सुन्तलेपाखा सामुदायिक वन क्षेत्रअन्र्तगतको २२ रोपनी क्षेत्रफल जग्गालाई समेटेर उद्यान एवं टावर निर्माण गरिएको सोही वडाबाट निर्वाचित अध्यक्ष ओमबहादुर खड्काले जानकारी दिए।
‘विस २०५४ सालदेखि सो वनमा वृक्षरोपण गर्दै संरक्षित गरिँदै आएको थियो। करिब ८ हेक्टर क्षेत्रफल रहेको वनलाई ०६३ सालमा डीपीआर तयारपारी भ्यू टावरसहित उद्यान निर्माणको गुरुयोजना तयार पारेर अघि बढाइएको थियो।’ अध्यक्ष खड्काले भने, ‘स्थानीयबासीको निरन्तर क्रियाशिलताले रमणीयस्थल सहित भ्यूटावर बनाउन सफल भयौं।’
धेरै वर्षको नियमित परिश्रमले सार्थकता पाएको अध्यक्ष खड्काले बताए। उनले भने,‘अहिलेसम्म पुतलीबजार नगरपालिका, गण्डकी प्रदेश, साविकका वन कार्यालय र जिविस, जनसहभागितासहित विभिन्न निकायबाट गरी ८४ लाख ५० हजार खर्च भएको छ।’
भ्यूटावर र उद्यानमा आउनेहरुको संख्या बढेपछि यहाको रेखदेखका लागि ३ जना कर्मचारी खटाइएका छन। स्थानीय युवाले रोजगार पाएको सन्जु थापा भन्छिन। यदि, कोरोना संक्रमण हुँदैनथ्यो भने यहाँ आउने पर्यटकलाई थामिसक्नु हुँदैनथ्यो। साथीसंगी, पारिवारिक अथवा प्रेमिल जोडिका लागि पनि रामकोष टावर सुरक्षित र रमणीयस्थल बनेको छ। झोलामा खानेकुरा बोकेर २/४ घण्टा बसेर रमाइलो गर्दै फर्कने पनि भेटिन्छन् यहाँ।
कोरोना संक्रमण अघि भने पिकनिक, साधारणसभा, धार्मिक कार्यक्रम, गोष्ठी, सेमिनारका लागि समेत यो स्थलको उपयोग गर्ने गरिएको थियो। भ्यूटावर सहित हरियाली उद्यान निर्माणपछि गाउँगाउँमा व्यवसाय फस्टाएका छन्।
मौसमी तथा बेमौसमी तरकारी र फलफूल रोप्ने किसान पनि बढेका छन्। सुनसान देखिने रामकोषको राजमार्ग मै सुविधा सम्पन्न होटल र रेष्टुरेन्ट बनेका छन्। चहलपहल बढेको देख्दा खुशी लागेको हरियाली उद्यान उपभोक्ता समितिका अध्यक्ष रामबहादुर थापा भन्छन्।