देउता नुहाउन लेक गएका एकजनाको चिसोले मृत्यु, तीन बिरामी
जाजरकोट : जाजरकोटको जुनीचाँदे ७ स्थित चाँदे लेकमा देउता नुहाउन गएका एकजनाको चिसोले ज्यान गएको छ । जुनीचाँदे गाउँपालिकाका – १ काप्राका ५९ वर्षीय अभिमान रावतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गत बुधबार काप्राका २५ जना स्थानीय देउता नुहाउन भन्दै चाँदे लेक गएका थिए । चाँदे हिमालको चौरीपाटनमा रहेको नदाई डावमा नारायण देउता नुहाउन जाने क्रममा लगातारको वर्षातसँगै आएको हावाहुरीमा परेर चिसोले कठ्याङ्गिएर तीनजना बिरामी परेका छन् । अन्य सबै प्रहरीको सम्पर्कमा आएका छन् ।
उनीहरुको उद्धारका लागि इलाका प्रहरी कार्यालय पञ्चाला दहबाट प्रहरी सहायक निरीक्षक दुर्गबहादुर शाहीको नेतृत्वमा स्वास्थ्यकर्मीसहितको टोली घटनास्थल गएको जिल्ला प्रहरी प्रमुख डीएसपी मधुकुमार थापाले बताए ।
बिरामी परेकामध्ये लोकबहादुर रावतको अवस्था गम्भीर रहेको डीएसपी थापाले बताए । घटनास्थलबाट उनीहरुको गाउँ पुग्न एक दिन पैदल हिँड्नुपर्छ ।
बुधबार गाउँबाट देउता नुहाउनका लागि चौरीपाटनको नदाई डाव हिँडेका थिए । तीव्रपमा चलेको हावाहुरी र निरन्तरको वर्षातपछि आफूहरु बिहीबार साँझबाट तितरवितर भएको र ओडारमा लुकेर ज्यान जोगाउन सफल भएको देउता नुहाउन गएका गणेश रावतले बताए। चाँदेलेक करिब पाँच हजार मिटरको उचाइमा छ ।