स्याङ्जामा जनगणनाका काम सुरु
स्याङ्जा : स्याङ्जामा खटिएका १ सय जना सुपरीवेक्षकले जनगणनाका काम सुरु गरेका छन्। दश-दश वर्षमा गरिने गणनालाई महत्वका साथ हेर्दै ‘कोही नछुट्न कोही नदोहोरिउन’ भन्ने उदेश्यसहित काम गर्न सुपरीवेक्षकलाई सुझाव दिइएको जनगणना कार्यालयले जनाएको छ।
जिल्लाका ४ पालिकामा स्थानीय जनगणना कार्यालय स्थापनागरी गणनामा सहज बनाईएको जिल्ला जनगणना अधिकारी शारदा शर्माले जानकारी दिइन्। पुतलीबजार वालिङ, गल्याङ नगरपालिका र बिरुवा गाउँपालिकामा स्थानीय जनगणना कार्यालय स्थापना गरिएका हुन्।
पुतलीबजारमा स्थापित कार्यालयले पुतलीबजार सहित फेदीखोला, आँधीखोला र अर्जुनचौपारी गाउँपालिकाको जनगणना गर्नुपर्नेछ।
यसैगरी, वालिङको कार्यालयले वालिङ, चापाकोट, भिरकोट नगरपालिकाको र गल्याङमा स्थापित कार्यालयले गल्याङ र कालीगण्डकी गाउँपालिकाको जनगणना गर्नेगरी जिम्मेवारी तोकिएको छ।
बिरुवास्थित कार्यालयले भने बिरुवा र हरिनास गाउँपालिकामा गणना गर्नेगरी सुपरीबेक्षक खटाइएका हुन। पाँच नगर र ६ गाउँपालिकालाई समेट्नेगरी उनीहरुकालागि पायक पर्ने स्थान छनौट गरिएका हुन्।
वालिङमा १८, पुतलीबजारमा १६, गल्याङमा १२, चापाकोटमा ९, भीरकोट नगरपालिकामा ९ जना सुपरीवेक्षक खटिएका छन्। यसैगरी, बिरुवामा ७, फेदीखोलामा ६, अर्जुनचौपारीमा ६, कालीगण्डकीमा ६, आँधीखोला गाउँपालिकामा ६ र हरिनास गाउँपालिकामा ५ जना छन्।
भदौ ३० गतेदेखि सुरु भएको पहिलो चरणको जनगणनाकालागि सुपरीवेक्षकले असोज १८ सम्म सूचि तयार गर्ने छन्। उनीहरुले घरघरमा पुगेर घरपरिवारको सूची तयार पार्नेछन्। सुपरीवेक्षकलाई आवश्यक तालीम समेत दिइसकेको अधिकारी शर्माले जानकारी दिईन्।
जिल्ला जनगणना अधिकारी शर्माका अनुसार ‘परिवारमा अक्सर वसोवास गरेका सदस्य संख्या, बैंक तथा बित्तिय संस्थामा खाता कति छन्, बैंक तथा बित्तिय संस्थाबाट ऋण लिएका कति छन्, व्यवसायिक तालिम लिएका मान्छे र कृषि सम्बन्धि बिवरण सोधिनेछ र सुचि तयार पारिनेछ।’
दोश्रो चरणको जनगणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुनेछ। त्यतीवेला गणकलाई तोकिएको क्षेत्रमा गएर विस्तृत गणना गर्ने बताईएको छ। कोरोना संक्रमणको जोखिमका बिच गणना कार्य सुरु भएकाले फिल्डमा खटिएका सुपरीक्षकलाई स्वास्थ्य मापदण्ड पुरागरि पठाइएको कार्यालयले जनाएको छ।
२०६८ को जनगणना अनुसार स्याङ्जाको जनसंख्या २ लाख ८९ हजार १ सय ४८ छ । जसमा पुरुष १ लाख २५ हजार ८ सय ३३ र महिला १ लाख ६३ हजार ३ सय १५ रहेको छ । जिल्लामा ६८ हजार ८ सय ८१ घरधुरी छन्।