कोही व्यवसायमा, कोही घरगृहस्थीमा त कोही विदेशतिर

कोही व्यवसायमा, कोही घरगृहस्थीमा त कोही विदेशतिर

काठमाडौँ: मिस नेपाल प्रतियोगिता सुरु भएको २७ वर्ष भइसक्यो । यस अवधिमा २५ सुन्दरीहरु मिस नेपाल घोषित भए । मिस नेपालको ताजले कुनै पनि युवतीलाई उसको करिअर उकास्न सहयोगी बन्ने आम मान्यता छ । तर हालसम्म मिस नेपाल घोषित भएका सुन्दरीहरु अचेल कहाँ छन् के गर्दैछन् ? उनै २५ जना पूर्व मिस नेपालको पछिल्लो अवस्थाबारे जानकारीमूलक विवरण यहाँ प्रस्तुत छ:

रुवी राणा

नेपालको पहिलो मिस नेपाल विजेता हुन् रुवी राणा । १९९४ मा पहिलो पटक मिस नेपाल बनेकी उनी नेपाली सेनाका एक अधिकृतसँग विवाह गरिन् । पछिल्लो समय उनले जावलाखेलमा ब्यूटीपार्लर साथै बूटिक सञ्चालन गर्दैआएकी छन् । अभिनय तथा मोडलिङमा आफ्नो सीप देखाउन नपाए पनि उनका टिकटक भिडियो भने चर्चित बन्ने गरेका छन् ।

सुमी खड्का

सुमी खड्का सन् १९९५ मा दोस्रो पटक मिस नेपाल बनेकी हुन् । कुनै बेला चलचित्र क्षेत्रमा चर्चित मोडल तथा अभिनेत्रीको रुपमा चिनिएकी सुमी पछिल्लो समय चलचित्रमा खासै देखिएकी छैनन् । 'एक नजर,' 'ग्रहण' लगायत फिल्ममा उनले अभिनय गरेकी थिइन् ।

पुनम घिमिरे

पुनम घिमिरे सन् १९९६ मा तेस्रो मिस नेपाल घोषित भएकी थिइन् । मिस नेपाल बनेलगत्तै अध्ययनका लागि अमेरिका पुगेकी उनी १५ वर्षपछि नेपाल फर्केकी थिइन् । पछिल्लो समय उनी आफ्नै व्यवसायमा व्यस्त छिन् ।

झरना बज्राचार्य

कुनै बेला फिल्म क्षेत्रमा व्यस्त झरना बज्राचार्य पछिल्लो समय घर गृहस्थीमै सिमित छिन् । उनी अन्य मिस नेपालको तुलनामा कम उमेरमै अर्थात् १६ वर्षको छँदा सन् १९९७ मा मिस नेपाल बनेकी थिइन् ।

दर्जनौँ फिल्ममा काम गरेकी उनी म्युजिक भिडियोमा पनि उत्तिकै व्यस्त थिइन् । झरनाकी आमा ललना बज्राचार्यले अन्नपूर्ण पोस्टलाई दिएको जानकारी अनुसार अहिले उनी पति र ५ वर्षीय छोराको साथमा रमाइरहेकी छिन् । झरनाका पति मलेसियन नागरिक हुन् । अब कोरोना महामारी कम भएपछि श्रीमान र छोरासँगै नेपाल आउने झरनाकी आमाले अन्नपूर्णलाई बताइन् ।

निलिमा गुरुङ

कास्की ताङतिङ गाउँ निवासी निलिमा गुरुङ सन् १९९७ मा मिस नेपाल भएकी थिइन् । मिस नेपाल घोषणा गर्ने दिन उनले धेरैलाई आश्चर्यमा पार्ने गरी तमू पहिरन लगाएर उपस्थित भएकी थिइन् । सोहीकारण निलिमाले गुरुङ जाति तथा संस्कृतिको प्रतिनिधित्व गरेको भन्दै धेरैबाट प्रशंसा समेत पाएकी थिइन् । हाल उनी परिवारको साथ बेलायतमा बस्छिन् ।

निरु श्रेष्ठ

छैठौँ मिस नेपाल घोषित भएकी थिइन् निरु श्रेष्ठ । १९९८ मा मिस नेपाल बनेकी ज्योती प्रधान एक वर्ष नपुग्दै सम्झौता तोडेर अमेरिका पुगेपछि आयोजकले उनको ताज खोसी निरुलाई प्रदान गरेको थियो।

उषा खड्गी

उषा सातौँ मिस नेपाल हुन् । सन् २००० मा आयोजित मिस नेपाल प्रतियोगितामा उनी विजेता भएकी थिइन् । उनी अहिले कुपण्डोलस्थित बूटिक व्यवसाय गर्दैआएकी छन् । श्रीमान जिपी तिमिल्सिनासँग सम्बन्धविच्छेद भएपछि उषा छोरीसँगै बस्न थालेकी छन् । बूटिकसँगै विज्ञापनहरुको भिडियोका लागि समेत काम गर्दैआएको उषाले अन्नपूर्णलाई बताइन् ।

माल्भिका सुब्बा

२००२ मा मिस नेपाल बनेकी माल्भिका अभिनयसँगै मिडिया क्षेत्रमा पनि छिन् । २० वर्षदेखि मिडियामा कार्यरत उनी पछिल्लो समय हिमालय टेलिभिजनमा ‘जीवनसाथी’ कार्यक्रम प्रस्तुत गर्छिन् । यससँगै आइडिया स्टुडियो नेपाल र केही अनलाईनमा पनि उनले काम गरिहेको बताएकी छन् ।

सुगारिका केसी

२००५ को मिस नेपाल विजेता हुन् सुगारिका केसी । हाल इमेज रेडियोमा 'शुभदिन' कार्यक्रम प्रस्तोता रहेकी सुगारिका १० वर्ष भन्दा अघिदेखि मिडियामा सक्रिय छिन् । उनले अभिनय वाहेक पनि विभिन्न टेलिभिजन र रेडियोमा काम गरेकी छन् । पछिल्लो समय उनी सामाजिक कामहरु समेत व्यस्त छिन् । यस्तै उनी व्यक्तित्व विकास, सञ्चार सीपसम्बन्धी तालिमहरु समेत दिने गर्छिन् । विशेषगरी मिस नेपाल प्रतिष्पर्धीहरुलाई तालिम दिने काममा उनको दक्षता छ ।

श्वेता सिंह

सन् १९९९ की मिस नेपाल श्वेता सिंहले लखनउ विश्वविद्यालय, भारतबाट मनोविज्ञानमा स्नातकोत्तर गरेकी हुन् । उनी मिस नेपालको छैटौँ विजेता हुन् । उनले सन् २००९ देखि ‘इन्स्टिच्युट अफ प्रोफेसनल डेभलपमेन्ट’ (आईपीडी) नामक संस्था चलाएकी छन् ।

प्रीति सिटौला

मिस नेपाल २००३ को विजेता हुन् प्रीति सिटौला । सिटौलाले अमेरिकाको भर्जिनिनयास्थित लिबर्टी युनिभर्सिटीबाट पब्लिक रिलेसन र मार्केटिङमा स्नातकोत्तर गरेकी हुन । उनले आईपीडीको निर्देशक भएर पनि काम गरेकी छन् ।

पायल शाक्य

पायल शाक्य ११ औँ मिस नेपाल हुन् । हाल उनी अस्ट्रेलियाको सिड्नीमा बसोबास गर्छिन् । ओप्टसमा कार्यरत उनी मिस नेपाल भएपछि विभिन्न किसिमका सामाजिक कार्यहरु गरेकी थिइन् । उनी सिमसार तथा गैंडा संरक्षण अभियानमा समेत उनको योगदान छ। साथै विभिन्न संस्थाको दूत भएर काम गरेको अनुभव उनीसँग छ ।

सीताश्मा चन्द

सीताश्मा चन्द २००७ मा १३ औँ मिस नेपाल घोषित भएकी थिइन् ।

जेनिशा मोक्तान

सन् २००९ मा १४औँ मिस नेपाल बनेकी जेनिशा मोक्तान अहिले पारिवारिक व्यवसायमा व्यस्त छिन् । फाट्टफुट्ट अभिनयमा समेत देखिने उनी व्यवसायी दीपक मल्होत्राका छोरा डिकेशसँग विवाह गरेपछि उनी पनि व्यवसायमै लागिन् । उनी हाल इन्टिग्रेटेड मोबिलिटी सोलुसन्स् (आईएमएस) ग्रुपको मानव संशाधन विभाग प्रमुख हुन ।

सदिक्षा श्रेष्ठ

२०१० की मिस नेपाल सदिक्षा श्रेष्ठ हुन् । ब्यूटी विथ द ब्रेनको रुपमा पनि उनको प्रशंसा गरिन्छ । सन् २०१७ मा नेपाल विद्याभूषण पदक समेत पाएकी उनले पछिल्लो पटक डान्सिङ विथ द स्टारको होस्टको रुपमा काम गरेकी थिइन् ।

मलिना जोशी

सन् २०११ की मिस नेपाल विजेता हुन् मलिना जोशी । सन् २०१४ मा चलचित्र ‘ऋतु’बाट डेब्यु गरेकी उनले ‘द विनर’ ‘झुम्की’ ‘रानी ‘संरक्षण’ र ‘लीला’ लगायत फिल्ममा अभिनय गरेकी छन् । गैरसरकारी संस्थाहरुसँग मिलेर वातावरण तथा वन्यजन्तु संरक्षणको क्षेत्रमा समेत काम गरेको अनुभव उनीसँग छ ।

सृष्टि श्रेष्ठ

सन् २०१२ मा १७औँ मिस नेपाल बनेपछि सृष्टि श्रेष्ठ फिल्ममै व्यस्त भइन् । १२ वर्षको उमेरदेखि परिवारसँग बेलायतमा बसेर पढेकी उनले पफर्मिङ आर्टमा ‘ए लेभल’ गरेकी हुन् । उनले चलचित्र ‘गाजलु’ सहित थुप्रै फिल्ममा अभिनय गरेकी छन् ।

इशानी श्रेष्ठ

इशानी १८ औँ मिस नेपाल विजेता हुन् । मिस नेपाल बनेपछि उनी नेपालको प्रतिनिधित्व गर्दै मिस वर्ल्ड २०१३ मा समेत उत्कृष्ट १० मा पर्न सफल भइन् ।

सुविन लिम्बू

१९ औँ मिस नेपाल हुन् सुविन लिम्बू । धरान स्थायी घर भएकी लिम्बू २०१० मा सम्पन्न मिस मंगोलकी फर्स्ट रनरअप पनि भएकी थिइन । काठमाडौंमै बसोबास गरेर थेम्स कलेजमा बिबिए अध्ययन गरेकी सुविनले अध्ययन तथा कविता लेखनमा विशेष रुचि राख्ने र भविष्यमा सफल उद्यमी बन्ने लक्ष्य लिएको बताउँछिन् ।

इभाना मानन्धर

२०औँ मिस नेपालको रुपमा सन् २०१५ मा विजेता बनेकी इभाना अमेरिकाबाट ‘मार्केटिङ इन्टरप्रेनरसीप’ मा स्नातक गरेकी हुन् ।

अस्मी श्रेष्ठ

मिस नेपाल २०१६ को ताज जित्न सफल भएकी अस्मीको स्थायी घर चितवन हो । हाल उनी काठमाडौँमै इन्टेरियर डिजाइरको रुपमा व्यस्त छिन् ।

निकिता चन्दक

निकिता २२ औँ मिस नेपालको रुपमा २०१७ को विजेता हुन् । भारतको राजस्थानबाट १२ कक्षाको अध्ययन पूरा गरेकी उनले बैंग्लोरस्थित जेडी इन्ष्टिच्युट अफ फेसन टेक्नोलोजीमा ग्र्याजुएशन गरेकी छन् ।

मिस नेपाल प्रतियोगिताको इतिहासमा सम्भवत: पहिलो मधेसी विजेता समेत हुन् निकिता । मिस नेपाल बनिसकेपछि उनले विभिन्न विदेशी फेशन शोहरुमा समेत र्‍याम्प नापेकी छन् । साथै नेपाली फिल्म ‘रानी महल’मा उनले अभिनय गरेकी छन् ।

श्रृखंला खतिवडा

हेटौँडा स्थायी घर भएकी २२ वर्षीया शृङ्खला खतिवडाले २०१८ मा मिस नेपालको उपाधि जितेकी हुन् । पछिल्लो समय सामाजिक सेवामा व्यस्त उनी हार्वर्ड विश्वविद्यालयमा शहरी विकास विषयमा स्नातकोत्तर तहको अध्ययन गर्न अमेरिका गएकी छन् । ‘मिस नेपाल’ भएसँगै निरन्तर चर्चामा रहेकी उनी नेकपा एकीकृत समाजवादीका नेता तथा संघीय सांसद् विरोध खतिवडाकी छोरी समेत हु्न् । उनकी आमा समेत नेत्री हुन् ।

अनुष्का श्रेष्ठ

पछिल्लो समय नेपाली मौलिक मिठाइ 'माक्कुसे' व्यवसायमा व्यस्त छिन् अनुष्का । ‘माक्कुसे’ लाई उनी आधुनिक स्वादमा परम्परागत नेपाली रेसिपी डेसर्ट ब्राण्डको रुपमा चिनाउँछिन् । माक्कुसेलाई नेवार समुदायको स्वादिलो परिकारको रुपमा लिइन्छ । उनी २०१९ की विजेता हुन् । अनुष्काले अष्ट्रेलियाबाट उच्च शिक्षा हासिल गरेकी छन् ।

नम्रता श्रेष्ठ

नम्रता २०२० की मिस नेपाल विजेता हुन् । २३ वर्षको उमेरमा मिस नेपाल विजेता भएकी थिइन् उनी। शिक्षण पेशाको अनुभव संगालेकी उनी अहिले समाजसेवामा व्यस्त छिन् । नम्रतापछि नेपालमा कोरोना महामारीका कारण मिस नेपालको इभेन्ट नै भएको छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.