गडहरे गुफाको भौगर्भिक अध्ययन
स्याङ्जा : भीरकोट नगरपालिकाको वडा नं ८ र ९ को सीमामा रहेको गडहरे गुफाको अध्ययन अवलोकन गरिएको छ। त्रिबि भूगर्भशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक डा. कविराज पौडेल सहितको १२ जनाको टोलीले गुफा भित्र र बाहिरी क्षेत्रको अध्ययन अवलोकन गरेको हो। उनीहरुले ४ दिन लगाएर गुफाका बारेमा अध्ययन अवलोकन गरेका हुन्।
मुलुककै सबैभन्दा लामो गुफा हुनसक्ने भूगर्भविद डा पौडेलले दाबी गरे। अध्ययन टोलीले गुफाको भित्री, बाहिरी बनोटभित्र देखिने विभिन्न किसिमका आकृति तथा संरचना, गुफाको लम्बाइ, चौडाई मापन गरेको छ। चट्टानी ढुंगाहरु मिलेर गुफा बनेको छ। गुफाभित्रै आकर्षित झरना छ। भूगर्भविद टोलीले गुफाको अध्ययन अवलोकनगरी एक महिनाभित्र नगरपालिकालाई प्रतिवेदन बुझाउने जनाएको छ।
त्यसो त, दुई वर्षअघि पनि भीरकोट नगरपालिकाले गडहरे गुफाको अन्वेषणमा जुटेको थियो। पालिकाले गुफालाई पर्यटकीय क्षेत्रका रुपमा अघि बढाउन केही पूर्वाधार समेत निर्माण गरेको हो।
गुफाभित्र र बाहिरको अध्ययन अवलोकनगरी गुफालाई रमणीय पर्यटकीय स्थलका रुपमा चिनाउन नगरपालिकाले यसअघिदेखि नै चासो बढाएको हो। एकै दिन सयौं व्यक्तिलाई उपस्थित गराएर गुफाको अध्ययन अवलोकन तथा राय सुझाव संकलन गरिएका थिए।
त्यतीवेला पनि झण्डै ५० भन्दा बढीले गुफाभित्र पसेर त्यसभित्रका वस्तुस्थितीका बारेमा जानकारी लिएका थिए। गण्डकी प्रदेश सांसद मेखलाल श्रेष्ठ, भीरकोट नगरप्रमुख छायाँराम खनाल, उपप्रमुख सीमा कर्माचार्य क्षेत्री, प्रवक्ता दिपेन्द्र केसी, वडा अध्यक्षहरु लक्ष्मण अधिकारी, भिम गुरुङ, तनबहादुर गुरुङ लगायतका जनप्रतिनिधी, नेकपाका नेता मिनप्रसाद कोइराला, पिसजोन युवा क्लवका अध्यक्ष राजकुमार गुरुङ लगायत पत्रकार सहितको जम्बो टोली गुफाभित्र छिरेर अवलोकन गरेका हुन्।
‘गुफाभित्र ३ वटा पानी पोखरी छन्। गुफाभित्र प्रवेशगरेपछि झण्डै आधा घण्टाको हिँडाईपछि पहिलो पोखरी देखिने र त्यस पोखरीमा ससाना माछा छ्न्।’ गुफामा जानेहरु भन्छन्, ‘त्यसपछिको फेरि आधा घण्टापछि अर्को पोखरी भेटिन्छ। त्यहाँ भने पानी भरिएको कुण्ड छ। त्यति नै दुरीमा फेरि अर्को पोखरी छ। गुफाभित्र पनि अन्य स साना गुफा भेटिन्छन्। जहाँ चमेराका बथान छन्। साना र ठूल्ठूलागरी गुफाभित्र प्रशस्त चमेरा छन्।’
झण्डै २७ बर्षअघि पत्ता लागेको होे गुफा। गुफाभित्रै बिभिन्न आकृती झल्कने खालका (धरहरा, देवी देवताका जस्ता मूर्ति) का बनोैट छन्। मानिस जत्रै धरहरा जस्ता देखिने चुनढुंगा पनि छन्। गुफाभित्र पनि कतै सागुँरा गल्ली त कतै फराकिला र सजिला बाटाहरु छन्। प्रत्यक्ष अवलोकनकर्ताहरुका अनुसार झण्डै एक किलोमीटर भन्दा बढी लम्बाईको गुफा भएकोे भीरकोट ९ का अध्यक्ष भिम गुरुङले बताए।
स्थानीयबासी परसुराम गुरुङको गाई बगाएर गुफाभित्र पसेपछि गाई निकाल्ने क्रममा गुफा पत्ता लागेको वडा अध्यक्ष तनबहादुर गुरुङ स्मरण गर्छन्। त्यसपछि स्थानीयबासी र साविक कालिकाकोट गाविसले गुफाको संरक्षणका कामको सुरुवात गरेको थियो। अहिले भीरकोट नगरपालिकाले गुरुयोजना तयारगरी गुफा संरक्षणमा जुटेको छ।
गुफा वरपरका क्षेत्रलाई तारबार गरिएको छ भने गुफा प्रवेशद्धार व्यवस्था मिलाएको छ। नगरप्रमुख छायाँराम खनालले भने ‘प्रारम्भिक अनुसन्धानमा भूगर्वविद्ले खतरामुक्त छ भनेपछि अहिले थप अनुसन्धानका लागि भूगर्वविद् बोलाई गुफा भित्र र बाहिरको भौगोलिक अवस्थाका बारेमा जानकारी लिएका हौं।’
यहाँ ओखतीपानी घरवास योजना सञ्चालनमा छ। गुफा परिसरमा पार्क, खानेपानी, बिजुली, होटल रेष्टुरेन्ट सहितको पूर्वाधार तयार पार्ने र होमस्टेमा आउने पाहुनाका लागि दृश्यावलोकनको प्रमुख गन्तब्यका रुपमा निर्माण गर्नेगरी गुरुयोजना तयार पारिएको नगरप्रमुख खनालले बताए।
गुफाभित्र ३/४ घण्टा हिँड्दा पनि गन्तब्य भेटिदैँन। गुफामा माछा र बिभिन्न प्रजातीका चमेरा प्रशस्तै भेटिन्छन्। अध्ययन टोलीको प्रतिवेदनका आधारमा पालिकाले कामअघि बढाउने भएको छ। यस क्षेत्रलाई धार्मिक, सांस्कृतिक पर्यटकीय गन्तब्यका रुपमा अघि बढाउन सके यसक्षेत्रको सामाजिक र आर्थिक विकासका सम्भावना देखिन्छ।
भीरकोट नगरपालिकाको मुख्य बजार बयरघारी बजारदेखि झण्डै ९ किलोमीटर कच्ची बाटोको यात्रापछि गुफामा पुग्न सकिन्छ। गुफामा जानका लागि मोटरबाटोको सहज पहुँच छ।