खुले स्याङ्जाका प्रसिद्ध शक्तिपीठहरु
स्याङ्जा : कोरोना संक्रमण घटेसँगै बन्द गरिएका मन्दिरहरु खुलेका छन्। जिल्ला सुरक्षा समितिको बैठकले स्मार्ट लकडाउन गरेसँगै यहाँका मुख्य शक्तिपीठ खुलेका हुन् । मन्दिर व्यवस्थापन समितिले मन्दिर खुला भएको जानकारी गराएका छन्। दोस्रो चरणको कोरोना संक्रमण बढेसँगै वैशाखको अन्तिम सातादेखि बन्द गरिएका मन्दिरहरु असोज लागेसँगै खुलाउन थालिएको हो। यहाँका सबै मन्दिरमा नित्यपूजाबाहेक अन्य बन्द थिए।
पुतलीबजार नगरपालिका १४ स्थित चण्डीकालिका, भीरकोट नगरपालिका ४ स्थित छाङ्छाङ्दी मन्दिर, वालिङ् नगरपालिका ८ स्थित गह्रौंसुर मन्दिर र वडा नं. १२ स्थित अकलादेवी मन्दिर, कालीगण्डकी गाउँपालिका ३ स्थित आलमदेवी यहाँका प्रख्यात शक्तिपीठ हुन्।
आलमदेवी मन्दिर
मुलुकका उत्कृष्ट १ सय गन्तव्यमा सूचीकृत आलमदेवी मन्दिर शाह वंशीय राजाका कुलदेवता हुन। बर्सेनि वडा दशैंको अवसरमा शाहवंशीय राजपरिवारले यहाँ आएर पूजाआजा गर्ने गर्दथे। तर, केही वर्षयता राजपरिवारले नियमित पूजा गरेका छैन।
वेगमाता वेगेश्वरी कुलदेवी अलप भएको र पवित्रताका लागि अलप भएको ठाउँदेखि करिब एक हजार मिटरभित्रबाट सुरुङहुँदै कालीगङ्गाको जल र शालिग्रामको पवित्रता प्राप्त गरी पुनः सोही मार्गबाट भीमसेन पातीको फेदमा आएर बसेको किंवदन्ती छ।
भीमसेन पातीको रुखबाट अलप भएकाले वेगमाता वेगेश्वरीलाई अलप देवीबाट अपभ्रंश भइ आलमदेवी भन्न पुगेको धार्मिक कथन हो। आलमदेवीलाई वैद्धिक विधिअनुसार अष्टमात्रिकाका रुपमा जागरण गराइएकाले सबै मानवलाई आफ्नै सन्तानसरह माया र आर्शिवाद दिने र अष्ट सिद्धिमध्येका ‘प्राकाम्य’ अनुष्ठान भएकाले दर्शनार्थीलाई निरोगी, भाकल एवम् इच्छाइएको वरदान माग्दा पुग्ने विश्वास छ। जसले गर्दा यहाँ आउने दर्शनार्थीको अत्यन्त भीड हुन्छ। मन्दिरको आयआर्जन पनि निकै राम्रो छ।
सतौँकोटस्थित चण्डी र कालिका
पुतलीबजार-१४ सतौँकोटस्थित चण्डी र कालिका मन्दिर पनि खुला गरिएको छ। दुवै मन्दिरका देवीलाई सतौँकोटे राजाको इष्टदेवीकारुपमा पुजिन्छ। विभिन्न भाग तथा छिमेकी देश भारतबाट पनि बर्सेनि श्रद्धालु भक्तजन आउने गर्छन्।
सतौचण्डीस्थान चण्डीदेवी, कालिकादेवी र पशुपतिनाथद्वारा रक्षित छन्। यहाँ ३ वटै भगवानको एकसाथ पूजाआजा गर्न सकिन्छ। यहाँ सतौंकोटे राजाको दरबार र कोटघर छन्। यि ऐतिहासिक धरोहरसहितको क्षेत्र हो। कोटघरको पुननिर्माण गर्दै संरक्षण गरिएको छ भने दरबारको भग्नावशेष भने अझै केही देख्न पाइन्छ।
जिल्लाकै प्रसिद्ध सतौं चण्डीकालिका धार्मिक दृष्टिकोणले अति शक्तिशाली मानिन्छन्। भाकल पुरा हुने बताउँदै टाढा टाढादेखि सतौंकालिको दर्शन गर्न आउनेको भीड पनि उत्तिकै हुन्छ। सतौँ चण्डीको पूजा आराधनाले सुख, शान्ति, समृद्धि र मनोकांक्षा पुरा हुने विश्वास रहिआएको छ।
गह्रौँसुर मन्दिर
करिब ५ सय ५० वर्ष पुरानो गह्रोंसुर मन्दिर झण्डै ६ महिनादेखि बन्द थियो। अहिले खुलेको छ। दर्शनार्थीको भीड बढेको छ। सुन्दर शान्त वातावरणमा मन्दिर परिसर छ। तत्कालित बाइसी चौबिसी राज्यअन्र्तगतको गह्रौँकोट राज्यका पहिला राजा दशरथ खांणको समयमा स्थापित भएको किम्बदन्ती छ।
गह्रौँसुरदेवीलाई भाकल गर्दा सबै प्रकारका मनोकांक्षा पूरा हुने विश्वासका कारण भक्तजनहरु देवीको दर्शन तथा पूजापाठका लागि यहाँ आउने गर्छन्। मन्दिर निकै आर्कषित छ। सुनको गजुर, ताम्र छादन छ।
ऐतिहासिक तथा धार्मिक महत्वका साथै पर्यटकीयस्थलको रुपमा समेत विकास भइरहेको गह्रौँसुर १ हजार ५ सय ९६ मिटर उचाइमा छ। ८ सय हेक्टर क्षेत्रफलमा फैलिएको मन्दिरबाट विभिन्न हिमश्रृङखला, कालीगण्डकी नदी हेर्न सकिन्छ भने मन्दिरको चार सय मिटर तल स्वार्गाश्रम गौशाला, गह्रौँकालिका होमिस्टे, घ्वाङखोला पर्यटकीय स्थलहरु समेत छन्।
अकलादेवी मन्दिर
वालिङ् नगरपालिका १२ शिर्शेकोटस्थित अकलादेवी मन्दिर पनि असोज महिना सुरु भएसँगै खुलेको छ। अकलादेवीको भाकलपछि मनोकामना पूरा हुन्छ भन्ने भनाइ छ। बन्न नसकेका काम पूरा होउन भन्दै अकलादेवीलाई भाकलगरेपछि पुरा हुने र पछि भाकल पूजा गर्न मन्दिरमा जानेको संख्या उल्लेख्य भेटिन्छन्।
अकलादेवी मन्दिरमा तीनवटा शिलामूर्ति राखिएका छन्। ती तीनवटै शिलाका मूर्तिलाई तीन कन्या पनि भन्ने गरिन्छ। तीन कन्या अकलादेवीलाई शक्तिशाली देवीका रुपमा पुज्ने गरिन्छ।
प्रस्रव पीडामा छट्पटाइरहेकी देवी यसस्थानमा आउँदा बिहान भएको र भाले बासेपछि देवीले प्रसूति हुन नसकेको भन्ने धार्मिक किंम्बदन्ती छ। देवी प्रसूति हुन नसकेको जनाउँदै यसदेवीको नाम अकलादेवी रहन गएको स्थानीय बूढापाकाको भनाइ छ। मन्दिरमा प्रसूति अवस्थामा जस्तो देखिने मूर्ति पनि राखिएका छन्।
छाङ्छाङदीस्थित छायाँक्षेत्र
भीरकोट नगरपालिका–४ छाङ्छाङदीस्थित छायाँक्षेत्र मन्दिर पनि दर्शनार्थीका लागि खुला गरिएको छ। यसअघि यहाँ पनि नित्य पूजामात्रै हुन्थ्यो। सिद्धार्थ राजमार्गसँगै रहेको मन्दिरमा सबैजना पूजाका लागि जान सक्छन्। वृद्ध, जेष्ठ नागरिक र बालबालिका पनि सजिलै मन्दिरमा जानसक्छन्।
धार्मिक कथन अनुसार अग्नीकुण्डमा हामफालेपछि महादेवीले सत्यदेवीको मृत शरीर बोकेर हिँड्दा शरीरको अन्तिम शेष यहीआएर झरेर पतन भएको भन्ने भनाइ छ। मन्दिरमा पूजाआजाका लागि मात्र नभइ छाङ्छाङ्दी पर्यटकीय स्थल पनि हो।
पहाडी भित्तामा अडिएको मन्दिरमाथिको चट्टानै चट्टानभित्रबाट छङ्छङ् गर्दै नियमितरुपमा एकैनासबाट पानी बगेकी छन्। वर्षात होस् या हिउँद यहाँ सधैंभरी पानी बगिरहन्छ। सोही झरना झैं बगेकी पवित्र जलको स्नान गर्दै पूजाआजा गरिन्छ। मन्दिरलाई धार्मिक पर्यटनसँग जोड्ने अभियानसँगै मन्दिर व्यवस्थापन समितिले गुरुयोजना बनाइ निकै आर्कषणसहितका संरचना तयार पारेको छ।
जिल्लामा स्मार्ट लकडाउनसँगै स्वास्थ्य मापदण्ड पूरा गरी पूजाआजाका लागि मन्दिर खुला गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पीताम्बर श्रेष्ठले जानकारी दिए।असोज लागेसँगै नजिकिँदै गरेका हिन्दुहरुको महान् पर्व दशैं, तिहार, छटलगायतका पर्वलाई लक्षित गर्दे मन्दिर व्यवस्थापन समितिले सफासुग्घर, खानेपानी, बाटोघाटोलगायतको सुविधाको प्रबन्ध मिलाएका छन्।
दशैं तिहारको पुजाआजाबाट मात्रै यि शक्तिपीठहरुबाट लाखौं रुपैयाँ बराबरको भेटी संकलन हुन्छ। ६ महिनापछि मन्दिरमै पुगेर भाकलसहितको पूजा गर्न पाएको भन्दै खुशी हुन्छिन् पुतलीबजार नगरपालिका ३ का माया शर्मा।
यी लगायत अन्य थुप्रै शक्तिपीठहरु पनि खुल्ने क्रम जारी छ। असोज संक्रान्तिसँगै खुलेका मन्दिरमा अहिले सोह्र श्राद्ध परेकाले शक्तिपीठहरुमा पुजाआज रोकिएका छन्। श्राद्ध सकिएसँगै नवदुर्गादेखि मन्दिरमा पुजाआजा र चलहपहल बढ्नेछन्। आधा वर्षजसो सुनसान भएका शक्तिपीठहरुमा पूजाआजा र घण्टीका आवाजले वातावरणलाई पुनः गुञ्जाएमान बनाउनेछ।