दशैं आयो तर व्यवसायी भन्छन्, ‘व्यापार छैन’
काठमाडौं : नेपालीको महान् चाड दशैं आएसँगै बजारमा चहलपहल बढेको छ। लत्ताकपडा, खाद्यान्नदेखि सवारीसाधन किनबेच हुने हुँदा दशैं व्यापार-व्यवसाय गर्नेहरुका लागि सबैभन्दा ठूलो सिजन हो। दशैंको अघिल्लो दिनसम्म पनि काठमाडौं उपत्यकाबाट बाहिरिन र बजार आउनेको भीड कम हुँदैन।
कोरोना महामारीले बन्द रहेको पसल संक्रमण कम हुँदै गएपछि मानिसहरुको चहलपहल बढेपनि व्यापार कम भएको व्यवसायीहरु बताँउछन्। सुस्मिता लामाको काठमाडौं महल नजिकै फेन्सी पसल छ। उनी भन्छिन्, ‘मानिसको चहलपहल छ तर व्यापार छैन।’महामारीले गर्दा नै व्यापार नभएको उनको भनाई छ। मानिसहरु आएर सामान हेर्ने तर नकिनिदिने उनले बताइन्।
कोरोना महामारीका कारण बिक्रि नभएकाले पुरानै सामानहरु रहेको कारण बजारमा नयाँ सामान कम आएको छ। पुरानो र नयाँ सामान मिसाएर बिक्री गरिरहेको उनले बताइन्। पहिलाकै सामान नसकिएको भएर नयाँ सामान बजारमा कम आएको उनको भनाई छ। दैनिकी १२/१३ हजार नाफा हुनेमा अहिले उनको चार/पाँच हजार मात्र नाफा भएको बताँउछिन्। कोरोनाले सबै व्यापार/व्यवसाय बिगारी दिएको बताउँदै लामाले भनिन्, ‘पहिला जस्तो मान्छेहरुको चहलपहल नै छैन।’
न्यूरोडमै कुर्ता पसलका राखेका राहुल जेसवालको पनि व्यापार उस्तै रहेको छ। उनको पसलमा पुग्दा महिलाहरु कुर्ताहरु हेर्दे थिए। १० मिनेटको समयमा नै उनको पसलमा तीन वटा कुर्ता बिक्री भए। उनका पसलमा पनि पुरानै डिजाइनका कुर्ता देख्न सकिन्थ्यो। पुरानै डिजाइनका कपडाले भरिभराउ उनको पसलमा नयाँ कपडा कम देखिन्थ्यो। कोरोनाको कारण पसलमा नयाँ सामान पनि ल्याउन नसकिएको र व्यापार पनि कम नै भएको जेसवालले बताए।
कोरोना महामारीको त्रासका कारण जुत्ताचप्पल पसलमा ग्राहक कम आउने गरेको शिव कुमार बताउँछन्। काठमाडौं महल नजिकै उनको पनि पसल छ। तर व्यापार भने कम रहेको उनले गुनासो गरे। ग्राहकहरु पसलमा आएपनि हेर्ने मात्रै गरेको र दशैं नजिकै गर्दा पनि किनमेल भने कम नै रहेको उनको भनाई छ।
प्रकृति रानाभाटको न्यूरोडमा रहेको कस्मेटिक पसलमा पनि ग्राहकहरुको संख्या कम रहेको देखिन्छन्। उनको पसलमा महिलालाई आवश्यक सबै श्रृगांरका सामान बिक्रिको लागि राखिएको छ। मानिसको चहलपहल बढेपनि व्यापार भने कम नै रहेको रानाभाटले सुनाइन्। दशैं नजिकिदै गर्दा केही व्यापारमा नाफा बढ्ने उनको आस छ। बजारमा कस्मेटिक सामानहरु भने नयाँ-नयाँ आएको उनले जानकारी दिइन्।
पार्वती शाहले पनि दशैं नजिकिएको कारण सामानहरु पनि थपेकी थिइन्। तर लगानी गरेसँगै उनको व्यापार अघि बढ्न सकेको छैन। उनले न्युरोड गेट नजिकै श्रृंगारका सामानहरु बिक्रि गर्छिन्। उनले भनिन्,‘पसलमा ग्राहक त आउनुहुन्छ तर भिजिटको रुपमा मात्र आइरहनु भएको छ, किनबेच कमै भएको छ।’
कोरोनापछि सामान महंगो
कोरोना महामारी आएसँगै बजारमा सामानको मुल्यवृद्धि भएको ग्राहकहरु बताँउछन्। ग्राहक बजार पुग्दा पुरानै सामानहरुको मुल्य नै बढेर आएको बताउँछन्। अंगिता न्यौपाने पनि दशैंको लागि सामान किनमेलको बजार आँउदा सामानको मुल्य बढेर देखेर अचम्मित भइन्। दशैंको लागि भाँडाकुँडादेखि उनले कपडासमेत सपिङ गरेकी थिइन्। तर अड्कलेर ल्याएको रकमले उनलाई सामान किन्न पैसा नपुगेको बताँउछिन्। उनले भनिन्, ‘पहिलाभन्दा सामानको मुल्य धेरै महँगो छ। पहिलेकोभन्दा दश गुणा महंगो पाएँ।’
बजारमा नयाँ डिजाइनमा कपडाहरु नै पाइएको उनले सुनाइन्। न्यौपानेले घरायसी सामानको मूल्य आकासिएको दाबी गरिन्। उनले भनिन्,‘महामारी अघि आठ सयमा किनेको थर्मस अहिले १३ सय पुगेको छ।’
यस्तै विरगंजका केबल गिरी पनि दशैंको लागि काठमाडौंसम्म सामान किन्न आएका छन्। उनी होलसेलमा सामानहरु किन्न आएका थिए। गिरीले पनि पुरानै सामानको मुल्य बढेर आएको पाए। उनले भने,‘लेडिज कस्मेटिक सामानहरुमा मुल्य वृद्धि भएको रहेछ।’पैसा नभएको कारण बजारमा ग्राहकहरुले पनि पुरानै सामानमा वार्गेनिक गर्न खोजेका देखिन्छन्।
नयाँ सामानको मुल्य २५ प्रतिशतको दरले बढेको रामप्रसाद सुवेदी बताँउछन्। उनको बनस्थलीमा पसल रहेको छ। ग्राहकले सस्तोमा नयाँ सामान खोज्ने गरेको उनको भनाई छ। उनले भने, ‘न्युनतम दश प्रतिशतदेखि माथि सामानको मुल्य बढेको छ।’