मुस्ताङमा कांग्रेसको सर्वसम्मत कार्यसमिति निर्वाचित
जोमसोम : नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनका लागि हिमाली जिल्ला मुस्ताङका ५ वटै स्थानीय तहमा कांग्रेसको सर्वसम्मत पालिका स्तरीय कार्यसमिति निर्विरोध भएको छ। यहाँका ५ वटै स्थानीय तहमा क्रियाशिल सदस्य संख्याको आधारमा सभापती,उपसभापती, सचिव, सहसचिव र सदस्यहरु सर्वसम्मत निर्र्विरोध निर्वाचित भएको पालिका निर्वाचन कमिटीका संयोजक अनन्त आचार्यले जानकारी दिए। उनले मुस्ताङका ५ वटै स्थानीय तहमा १ सय ५८ जना कार्यसमिति सर्वसम्मत निर्वाचित भएको उल्लेख गरे।
मुस्ताङका ५ वटै स्थानीय तहमा शनिबार पालिका स्तरीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरिएको हो। नेपाली कांग्रेसको वडा तथा स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने जिम्मा केन्द्रले शिक्षक महासंघ मुस्ताङलाई सुम्पिएको थियो। शिक्षक महासंघ मुस्ताङका अध्यक्ष तथा निर्वाचन कमिटीका संयोजक अनन्त आचार्यका अनुसार घरपझोङ गाउँपालिकाको सभापतीमा यामप्रसाद थकाली सर्वसम्मत निर्वाचित भएका छन्। उनको नेतृत्वमा ३२ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएका हुन्।
सभापतीमा निर्वाचित थकाली घरपझोङ गाउपालिका-४ का वडाध्यक्ष हुन्। लोमान्थाङ गाउँपालिकाको सभापतीमा छेवाङ झिम्मी बिष्ट निर्विरोध निर्वाचित भएका छन्। उनका नेतृत्वमा ३२ सदस्यीय कार्यसमिति निर्वाचित भएका छन्।
यसैगरी लोघेरक दामोदरकुण्ड गाउँपालिकाको सभापतीमा टसी लेन्डुप गुरुङ सर्वसम्मत निर्वाचित भएका छन्। लोघेकर दामोदरकुण्डमा समावेशी सदस्य संख्या अपुग भएकाले ३० सदस्यीय पालिका कार्यसमिति निर्वाचित भएको निर्वाचन कमिटीका संयोजक आचार्यले जानकारी दिए। वारागुङ मुक्तिक्षेत्र गाउँ पालिकाको सभापतीमा आङजीङ गुरुङ निर्विरोध निर्वाचित भएका छन्। उनको सभापतीत्वमा ३२ सदस्यीय पालिका कार्यसमिति सबै सर्वसम्मत भएका हुन्। यस्तै, मुस्ताङको तल्लोक्षेत्र थासाङ गाउँपालिकाको सभापतीमा रुपेश गौचन सर्वसम्मत निर्वाचित भएका छन्। उनको सभापतीत्वमा थासाङमा ३२ सदस्यीय पालिका कार्यसमिति निर्वाचित भएका हुन्।
यसअघि कांग्रेसको १४ महाधिवेशनका लागि वडा स्तरीय नेतृत्व चयन तथा क्रियाशिल सदस्यहरुको सर्वसम्मत निर्वाचन सम्पन्न भएको थियो। कांग्रेसका वडा तथा स्थानीय तहपछि जिल्लाको निर्वाचन असोज १५ गते हुने निर्वाचन कमिटी संयोजक आचार्यले जानकारी दिए।