वालिङमा रेबिजविरुद्धको खोप अभियान
स्याङ्जा : वालिङमा मंगलबारदेखि रेबिजविरुद्ध खोप अभियान सुरु भएको छ। वालिङ नगरपालिकाको पशु सेवा शाखाको आयोजना, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जा र लियो क्लब अफ वालिङ सिटीको सहकार्यमा रेबिजविरुद्धको एक हप्ते खोप अभियान सुरु गरिएको हो।
‘रेबिज तथ्य बुझौं, त्रसित नहोऔं’ भन्ने नाराका साथ मनाइँदै गरेको रेबिज दिवसको अवसर पारेर यो अभियान संचालन गरिएको नगरप्रमुख दिलिपप्रताप खाँणले जानकारी दिए।
अभियानको सुरुवात गर्दै प्रमुख खाँणले घरपालुवा वा बाहिर रहेका कुकुर र बिरालोलाई रेबिजविरुद्धको खोप लगाउने कार्यमा सबैले सहयोग एवं जानकारी गराउन आग्रह गरे।
उनले भने, ‘रेबिज भएपछिको उपचार जटिल र बिरामी बच्ने संभावना निक्कै कम देखिएकाले पूर्वसावधानी अपनाउन नगरभित्रका सबै कुकुर र बिरालोलाई खोप लगाउनैपर्छ, खोप निशुल्क पाइन्छ।’
रेबिज प्राणघातक रोग हो। कुकुरलगायत बौलाहा जनावरको टोकाइबाट मानिसमा सर्ने रोग हो। यो रोग कुकुरबाट कुकुरमा पनि सर्छ। त्यस्ता कुकुरले मान्छे वा कुनै पशुलाई टोक्दा खोप लगाउन पाइएन भने मृत्यु हुन्छ पशु चिकित्सक डा. बसन्तकुमार अधिकारीले जनाए।
रेबिजविरुद्धको पहिलो खोपको विकास गर्ने वैज्ञानिक लुइस पाश्चरको निधन भएको दिन सेप्टेम्बर २८ लाई स्मरण गर्दै हरेक वर्ष रेबिज दिवस मनाउने गरिएको हो।