स्वस्थ मुटु समृद्ध जीवन

स्वस्थ मुटु समृद्ध जीवन

मुटु सम्पूर्ण प्राणीका लागि मुख्य अंग हो। छातीमा जन्मदेखि मरणसम्म रहेर रगतको चाप हरेक धमनी र कोषिकाहरूमा पठाउने काम यसकै हो। जबसम्म मुटु धड्कन्छ प्राणी जीवित रहन्छ। हृदय, माया, दया, भावना अनि आनन्दलाई मुटुसँग जोडेर हेरिन्छ। मुटु वास्तवमै स्वास्थ्य अनि गतिशीलताका लागि पर्याय हो। अहिले यो वास्तविक मुटुलाई जोगाउनु चुनौतीपूर्ण बन्दै छ। मुटुसँग सम्बन्धित समस्याले उमेर हेरेन। कतिपय कलिलो उमेरमै यो रोगबाट ग्रसित छन्। धेरै हृदयघातको सिकार भएका छन्। मुटुको समस्या र हृदयघातको घटना दिनहुँ बढ्दो छ। युवा उमेरमा नै हृदयघात हुने जोखिम उत्तिकै छ।

सहरिया जीवनमा बढी देखिने नसर्ने रोगको सूचीमा रहेको मुटुरोग गाउँसम्म नै छिरेको छ। विस्तारै यो समस्या विकराल बन्दैछ। ज्यान लिनेमध्येको मुख्य रोग बन्दैछ। स्वास्थ्य विज्ञका अनुसार दैनिक जीवनशैलीमा परिवर्तन र खानपान नै यसको मुख्य कारण हो। स्वास्थ्यलाई प्रभावित गर्ने व्यवहार परिवर्तन आफैंमा चुनौतीपूर्ण हुन्छ। यसले नै आयु निर्धारण पनि गर्छ। खानपानकै कारण उच्च रक्तचाप, मधुमेह र कोलेस्टेरोलको समस्या हुँदा यसबाटै मुटुमा असर पर्छ। खासमा तरकारी पकाउँदा तेलमा नुन र बेसार हाल्नुले पनि मुटु रोग हुने देखिन्छ। यस्तै थुप्रै सामान्य कुरामा ध्यान नपुग्दा मुटुका अनेक रोगले चापिरहेको छ। हाल मुटु रोगबाट देशभर बर्सेनि ३० हजार व्यक्तिको मृत्यु हुने गरेको छ। यो तथ्यांक घट्नेभन्दा पनि बढ्ने क्रममा छ, जुन मुलुकका लागि चुनौती पूर्ण अवस्था हो।

यातायात सञ्जालसँगै तयारी खानेकुरा गाउँ पुगेपछि श्रम गर्ने बानी घट्दैछ। आफैंले उत्पादन गरेको वस्तु खाने क्रम घट्दा रोगहरूले ठाउँ पाएका छन्। स्थानीय उत्पादनभन्दा पनि तयारी खानेकुराको बढी प्रयोगले नै यो रोग बढेको पुष्टि स्वास्थ्य विज्ञले गरेका छन्। दैनिक व्यायाम र खेलकुदमा कम रुचि, अस्वस्थ्य खानपान, औषधिको धेरै सेवन अनि तनाव लिने बानीकै कारण हामीले हाम्रो मुटुमाथि अन्याय गरिरहेका छौं। बिस्तारै मानिसमा चेतना बढेपछि सहरमा स्वास्थ्यप्रति ध्यान दिन थालेकाले समय–समयमा परीक्षण गर्ने प्रचलन छ। तर, गाउँमा यसप्रति कसैको ध्यान छैन। अहिले जोखिम गाउँगाउँमा पनि छ। जहाँ स्वास्थ्यको पहुँचमा कमै नागरिक छन्।

पहिले–पहिले पहाडका नागरिकले लामो बाटो हिँड्नुपर्ने र कडा मेहनत गर्नुपर्ने हुँदा व्यायाम आवश्यक थिएन। अहिले गाउँगाउँमा सडक पुग्दा यातायातका साधन पनि पुगे। मेहनत हरायो। यो नै रोगको मुख्य जड बन्यो। विषादी भएका तरकारी र फलफूल पनि गाउँ छिर्‍यो। श्रम घटेर घरमै खानेकुरा पुग्दा स्वास्थ्यको पहुँच सहरमै सीमित छ। यो क्रम निरन्तर रहे नसर्ने जटिल रोगका बिरामीले अस्पताल भरिने छन्। अहिले उच्च रक्तचापका कारण हुन हृदयघातका समस्या पुरुष २३.४ र महिला १६.८ प्रतिशतमा देखिएको सरकारी तथ्यांक छ। २५ प्रतिशत नेपाली यो समस्याबाट पीडित छन्। तथ्यांकमा पूर्णविराम लाग्न सकेको छैन।

विश्वमा सबैभन्दा बढी चीन, भारत, रसिया र अमेरिकामा यसका रोगी छन्। यहाँ यस्ता रोग घटाउन सरकारले नै रणनीतिक योजना बनाएका छन्। अभियान चलाएका छन्। सकारात्मक सोच राख्नु मुटुका लागि पहिलो उपचार हो। नकारात्मक कुरा दिमागमा हाबी हुँदा शरीरमा विभिन्न किसिमका हर्मोन उत्पादन गर्छ, त्यसले रक्तसञ्चार प्रणालीमा असर गर्दछ। मुटु रोगबाट बच्न खानपान र जीवनशैलीमा परिवर्तन गर्न आवश्यक छ। मुटु रोगको लक्षण कम देखिने भएकाले चिकित्सकलाई नजचाई थाहै हुँदैन। जिल्लाका हरेक अस्पतालमा यसको परीक्षण गर्ने व्यवस्था सरकारले गर्नुपर्छ। दिवस मनाएर एक दिन मात्रै मुटुलाई सम्झिएर हुँदैन। यो रोगबाट नागरिकलाई जोगाउन बजारमा हुने विषाक्त खानेकुरालाई रोक्न र आफैं उत्पादन गर्न नागरिकलाई प्रोत्साहन गर्नुपर्छ। नागरिक स्वास्थ्य भए मात्रै देश समृद्ध बन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.