मुस्ताङमै भेडा-च्यांग्राको भाउ महंगियो
जोमसोम : कोरोना कहरका कारण गतवर्ष जस्तै उत्तरी चीनको स्वशासितक्षेत्र तिब्बतबाट कोरलानाकाहुँदै भेडा-च्यांग्रा नेपाल भित्रिन नपाएपछि मुस्ताङको जोमसोम झरेका भेडा-च्यांग्राको मुल्य आकासिएको छ।
बुधबारदेखि उपल्लो मुस्ताङको सिमावर्ती गाउँहरु र छिमेकी जिल्ला डोल्पाबाट वारागुङ मुक्तिक्षेत्र साङ्ता गाउँहुँदै मुस्ताङ सदरमुकाम जोमसोम झरेका भेडा-च्यांग्राको मुल्य गतवर्षको तुलनामा २५ प्रतिशत बढी हुन पुगेको हो।
कोरोना माहामारीअघि बर्सेनि मुस्ताङबाट २५ हजारभन्दा बढी भेडा-च्यांग्रा बाहिरिने गरेकोमा गत वर्ष कोभिडका कारण करिब १३ हजार मात्र भेडा-च्यांग्रा मुस्ताङबाट बाहिरिएका थिए।
यसवर्ष पनि तिब्बतबाट भेडा-च्यांग्रा ल्याउन नपाइने भएपछि गत वर्षभन्दा कम मात्रामा भेडा-च्यांग्रा मुस्ताङबाट बाहिरिने निश्चित भएको लोघेरक दामोदर गापाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए।
लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गापाबाट करिब ७ हजार र वारागुङ मुक्तिक्षेत्र गापाबाट २ हजार भेडा-च्यांग्रा जोमसोम झरेको अध्यक्ष बिष्टले बताए। उनका अनुसार छिमेकी जिल्ला डोल्पाबाट समेत करिब ३ हजार भेडा-च्यांग्रा जोमसोम झर्दै गरेको उल्लेख गरे।
उपल्लो मुस्ताङ र डोल्पाबाट करिब १२ हजार भेडा-च्यांग्रा झर्ने मेरो अनुमान हो,' अध्यक्ष बिष्टले भने, 'त्यसमध्ये करिब ५ सय भन्दा बढी भेडा-च्यांग्रा जिल्लामै खपत हुन्छ।’ उनले यो वर्ष करिब १२ हजारको संख्यामा भेडा-च्यांग्रा जिल्ला बाहिरिने बताए।
कोरोना कहरका कारण तिब्बतबाट भेडा-च्यांग्रा मुस्ताङ भित्रिन नपाएपछि जोमसोममा एउटै रोजा च्यांग्राको मुल्य ४५ हजारसम्म पर्ने जनाइएको छ। जोमसोमका स्थानीय भुपेन्द्र शेरचनले जोमसोम झरेका च्यांग्राको थोक मुल्य ३८ देखि ४२ हजार सम्म कायम रहेको उल्लेख गरे।
उनका अनुसार बिहीबार साँझसम्म जोमसोममा १५ सय भेडा-च्यांग्रा झरेको बताए। उनले गत वर्ष प्रति गोटा २४ हजारदेखि २८ हजारसम्म पर्ने च्यांग्राको मुल्य अप्रत्याशित रुपमा च्यांग्रा पालक किसानले भाउ वृद्धि गरेको जनाए।
उत्तरी कोरलानाकासँग सीमाना जोडिएको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गापाका पशुपालक किसानले बर्सेनि जेठ-असारमा तिब्बतबाट च्यांग्राका पाठापाठी खरिद वयस्क बनाएर मासुका लागि बिक्री वितरण गथ्र्ये।
तर,कोरनाका कारण सीमानाका शिल भएपछि उनीहरुले तिब्बतबाट पाठापाठी समेत ल्याउन पाएका छैनन्।स्थानीइ स्तरमै हुर्काइएका भेडा-च्यांग्रा कम उत्पादन भइरहेकाले दशैंका लागि पर्याप्त भेडा-च्यांग्रा बजार आउन नसकेको हो। चीनको स्वाशितक्षेत्र तिब्बत र उपल्लो मुस्ताङको सीमावर्तीक्षेत्रका बासिन्दाबीच लाग्ने अन्तरदेशीय व्यापारिक मेला समेत कोरनाका कारण ३ वर्षदेखि ठप्प भएको छ।
छिमेकी जिल्ला डोल्पाका पशुपालकले समेत तिब्बतबाट भेडा-च्यांग्राका पाठापाठी ल्याएर पाल्ने गरेकोमा डोल्पा समेत च्यांग्रा उत्पादन कम भएको जनाइएको छ। यसवर्ष पनि आसन्न बडादशै पर्व नजिकिँदै छ। अन्य समय जेजस्तो भएपनि बेसीका उपभोत्ताले दशैंको बेला हिमालको चिसो हावापानीमा हुकाईएको च्यांग्राको मासुप्रति आकर्षित हुन्छन्।
हिमाली क्षेत्रको भेडा-च्यांग्राले जटीबुटी सेवन गर्ने भएकाले स्वादिलो र पोषिलो हुनेगर्छ। तर सहर/बजारका उपभोक्तालाई च्यांग्राको मुल्य मुस्ताङमै आकासिएपछि आर्थिक भार पर्ने देखिएको छ।
कोरोना कहर अघि सोह्र श्रद्धा सुरु हुनु अगावै भेडा-च्यांग्रा व्यापारी मुस्ताङ आउने गरेकोमा यसवर्ष व्यापारीहरुको समेत जोमसोममा चहल पहल छैन।