अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा ‘को–हजबेन्ड’
काठमाडौं : नेपालमा विद्यमान रहेको बहुपति प्रथाका बारेमा निर्मित बृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड) अमेरिका र युरोपका प्रतिष्ठित चलचित्र महोत्सवमा छनोट भएको छ। जर्मनीको १८औं टेगेन्सी इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल र स्लोभाकियाको २९औं इन्टरनेसनल फिल्म फेस्टिभल अफ माउन्टेन फिल्मस् पोपराडमा ‘सहायक श्रीमान’ छनोट भएको हो। दुवै देशमा अक्टोबर १३ देखि १७ तारिखसम्म चलचित्र महोत्सव हुँदैछ।
‘सहायक श्रीमान’ अक्टोबर १५ मा दुवै देशमा प्रदर्शन गरिने भएको छ। निर्देशक गणेश पाण्डेका अनुसार अक्टोबर १ देखि सुरु भई अक्टोबर २४ तारिखसम्म अमेरिकाको वासिङ्टन राज्यस्थित शियाटलमा सञ्चालन हुने तस्बिर साउथ एसियन फिल्म फेस्टिभलमा पनि ‘सहायक श्रीमान’ प्रदर्शन हुँदैछ। ‘नेपालको डकुमेन्ट्री फिल्म अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट हुनु हाम्रो टिमका लागि मात्र नभई नेपाल र नेपालीका लागि पनि गर्वको विषय हो’, निर्देशक पाण्डेले भने।
विश्वका विभिन्न देशमा छनोट भइरहेको ‘सहायक श्रीमान’ले गत वर्ष रसियामा आयोजित १९औं अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिभलमा प्रथम पुरस्कार ‘ग्रान्डप्रिक्स अवार्ड’ जितेको थियो भने नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा पनि उत्कृष्ट फिल्म अवार्डसहित एक हजार अमेरिकी डलर पुरस्कार जित्न सफल भएको थियो।
‘भाग्यले बाँचेकाहरू’ नामक वृत्तचित्रमार्फत संसारभर चर्चा कमाएका निर्देशक पाण्डेको ‘सहायक श्रीमान’ नयाँ डकुमेन्ट्री फिल्म हो। काठमाडौं अन्तर्राष्ट्रिय पर्वतारोहण महोत्सव (किम्फ) मा रिलिज गरिएको ‘सहायक श्रीमान’ बहुपति प्रथामा आधारित छ। ३५ मिनेटको यो डकुमेन्ट्री कर्णाली प्रदेशको हुम्लामा छायाँकन गरिएको हो। घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ।
सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन्। हुम्लाका लामा समुदायमा अहिले पनि दाजुभाइका लागि एउटै श्रीमती विवाह गर्ने चलन छ। निर्देशक पाण्डेले करिब चार वर्षको छायांकन र अनुसन्धानबाट ‘सहायक श्रीमान’ निर्माण गरेका हुन्े। साइन मिडिया प्रालिले निर्माण गरेको यो वृत्तचित्रको लेखन पनि निर्देशन पाण्डेले नै गरेका हुन्।