पुतलीबजारमा पहिलो ग्याभिन उद्योग
स्याङ्जा : पुतलीबजार नगरपालिका ११ सुम्रेखोलामा एनपी ग्याभिन जि.आई उद्योग सञ्चालनमा आएको छ। निजी लगानीमा पहिलो र नगरकै ठूलो क्षमताको उद्योग सञ्चालनमा आएको हो। स्थानीय युवा निर्मलकुमार अर्याल र पृग्वीराज अर्यालको संयुक्त लगानीमा शुक्रबारदेखि ग्याभिन उद्योग सञ्चालनमा ल्याइएको हो। पृथ्वीराज बैदेशिक रोजगार छाडेर स्वदेश फर्केका हुन भने निर्मल जिल्लामै बसेर व्यवसाय गर्छन्।
उद्योगको औपचारिक उद्घाटन गर्दे वडा अध्यक्ष भुवानीप्रसाद लामिछानेले बिषम परिस्थितीमा पनि युवाहरुको सक्रियताले वडामा जिल्लाकै नमूना उद्योग सञ्चालनमा ल्याईनु सुखद रहेको बताए। आफ्नै वडामा स्थापित नमूना उद्योगको सम्र्वद्धन र प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्नेे उनले प्रतिवद्धता जनाए। कार्यक्रममा नेपाल च्याम्बर अफ कमर्शमा केन्द्रीय सदस्य नन्दकुमारी लम्साल, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठ, पूर्वाधार विकास कार्यालयका लेखा अधिकृत खगेन्द्रप्रसाद भण्डारी, पर्यटन व्यवासायी कृष्णजंग केसी, लगायतले उद्योगले गुणस्तरीय उत्पादन तथा सहज र सर्वसुलभ सेवा सुबिधा उपलब्ध गराउन संचालकलाई आग्रह गरे।
उद्योग गण्डकी प्रदेशकै दोश्रो उद्योग भएको सञ्चालकको भनाई छ। यसअघि तनहुँको कोत्रेमा यस प्रकारको उद्योग सञ्चालनमा रहेको थियो। उद्योग सञ्चालनपछि अब हातले तारजाली बुन्नुपर्ने समस्या हटेको छ। यसअघि हातले बुनेर प्रयोग गरिदै आएका तारजाली अब मेशिनवाटै आवश्यकता अनुरुपका साइजमा उत्पादन हुने भएको छ।
वर्षेनी तारजालीको माग बढ्दो देखिएकाले आफ्नै गाउँघरमै उद्योग सञ्चालन गरेको सञ्चालक पृथ्वीराज अर्याल भन्छन्। उद्योग स्थापनासँगै दैनिक ३० देखि ४० जना युवाले रोजगार पाएका छन्।
झण्डै १५ रोपनी क्षेत्रफलमा स्थापित उद्योगमा हाल ३ करोडको लगानी छ। उद्योगले दैनिक ४ सय पिस तारजाली उत्पादन गर्ने जनाइएको छ। वार्षिक १५ करोडको कारोवार हुने उद्योग सञ्चालक निर्मलकुमार अर्यालले बताए। अत्याधुनिक मेसिनबाट ग्याभिन भर्ने तार जाली, कम्पाउण्डिङ् तारजाली, काँटी लगायतको सामाग्री उत्पादन गरिन्छ।