ज्येष्ठ नागरिकमा एक्लोपन
प्रभावकारी उपाय तथा रणनीतिहरू अवलम्बन गरेर ज्येष्ठ नागरिकका समस्या कम गर्नुपर्ने हुन्छ। सोबारे प्रशस्त अध्ययन अनुसन्धान गर्नुपर्ने कुरा अपरिहार्य देखिन्छ।
संयुक्त राष्ट्रसंघको गत वर्ष १४ डिसेम्बर २०२० मा बसेको साधारणसभाले २०२१—२०३० सम्मको एक दशकलाई ज्येष्ठ नागरिकको स्वास्थ्यसम्बन्धी दशकको घोषणा गरेको छ। त्यसलगत्तै यो दशकलाई ज्येष्ठ नागरिकको स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय दशक भन्ने नाम दिएको छ। यो लक्ष्य पूरा गर्न राष्ट्रसंघले विश्व स्वास्थ्य संगठनलाई आह्वान गरेको थियो। आधुनिक विकासको प्रशंसा गर्दै विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेडरस एढनोम भन्छन्, ‘आजको अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक स्वास्थ्य–दशकको घोषणाले संयुक्त राष्ट्रसंघको कार्य प्रणालीमा सरकारहरू, नागरिक संघसंस्थाहरू र प्राइभेट संस्थाहरू एकताबद्ध भएर काम गर्नुपर्ने कुरालाई स्पष्ट पारेको छ। यो एकताबद्धताले जीवनलाई वर्षमा होइन कि वर्षलाई जीवनमा परिणत गर्न हामी सक्षम हुने छौं।’
मानिस सामाजिक प्राणी भएकाले आपूmलाई समाजभित्रै राख्न चाहन्छ। त्यसैले जुनसुकै उमेरमा पनि हरेक मानिसलाई आफ्नो शारीरिक र मानसिक विकासको लागि समाज नै आवश्यक पर्छ। अचानक व्यक्ति सामाजबाट अलग र एक्लो भएको अवस्थामा व्यक्तिलाई ठूलो असर पर्छ। अझ वृद्धावस्थामा त्यस्तो भयो भने त व्यक्तिमा नसासम्बन्धी रोग, पक्षघात, मधुमेह र सम्झने शक्ति कम हुने रोग लाग्छ। साथै मानसिक चिन्ता र तनावले उनीहरूले आत्महत्या जस्तो जोखिमपूर्ण कुरा पनि अँगाल्न सक्दछन्। यसैगरी सामाजिक पृथकता र एक्लोपनले आयु घट्न सक्छ र जीवन विचलित पनि हुन पुग्छ। यस्तो अवस्थामा पुग्न विभिन्न घटनाहरू प्रमुख कारण बन्न सक्छन्— जस्तै जागिर जानु, श्रीमान्—श्रीमतीको सम्बन्ध विच्छेद हुनु, घनिष्ठ मित्रहरू अथवा आफ्नो सन्तानहरूबाट टाढा हुनु आदि।
सामाजिक पृथकता भन्नाले नातेदारभित्र वा बाहिरका सम्बन्धले पुर्याउने वस्तुगत स्थिति हो। एक्लोपन भन्नाले चाहेको अपेक्षा गरिएको र समाजमा वास्तविक सम्बन्धबीचको भेदभावले उत्पन्न हुने सामाजिक पीडा हो।
सन् २०२१ को घटनालाई हेर्दा सामाजिक पृथकता र एक्लोपनले ज्येष्ठ नागरिकमात्र नभएर युवामै स्वास्थ्य प्रतिकूल भएको पाइएको छ। विकसित देशहरूले यस्तो नहोस् भन्न सरकारी नीति परिमार्जन गर्नुपर्ने दबाब महसुस गरेका हुन्। जसको ज्वलन्त उदाहरण कोभिड–१९ को महामारीमा भौतिक दूरी कायम गर्नुपर्ने समस्याहरूको रूपमा देखिन आएको छ। यी समस्याको कारण सन् २०१८ मा बेलायत सरकारले एक्लोपन मन्त्रालय स्थापना गरेको छ। जापानले पनि २०२१ मा मन्त्रिपरिषद्मा ‘एक्लोपन मन्त्रालय’ स्थापना गरी यस विषयमा अन्तरमन्त्रालय कार्यदल खडा गरेको छ। सन् २०२० मा अमेरिकामा विज्ञान इन्जिनियरिङ तथा चिकित्सा राष्ट्रिय प्रतिष्ठानले ज्येष्ठ नागरिकमा देखिएको सामाजिक पृथकता र एक्लोपनको अवस्थामा स्वास्थ्य स्याहार प्रणाली अवलम्बन गर्नुपर्ने प्रतिवेदनद्वारा सार्वजनिक गरिएको छ।
सामाजिक पृथकता र एक्लोपन समस्याको व्यवस्थापन गर्न धेरै ढिलो भइसकेको छ। यो समस्यालाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा क्षेत्रीय नीतिहरूमा समेत नयाँ आयामहरू खोली सम्बोधन गर्नुपर्ने, अवस्था देखिएको छ। यसको थालनीमा महŒवपूर्ण भूमिका ज्येष्ठ नागरिककोे स्वास्थ्यका लागि राष्ट्रसंघीय दशक २०२१–२०३० सम्म मनाउन तय गरिएको कुराले अझ प्रस्ट्याएको छ। यसका कार्यक्षेत्रहरू तपसिलमा उल्लेख गरिएका चारवटा कुराहरू यस प्रकार छन् : ज्येष्ठ नागरिकहरूप्रति हरेक व्यक्तिको सोचाइ, भावना र कार्यमा परिवर्तन ल्याउने। उनीहरूको क्षमता वृद्धि गर्ने समूहको सुनिश्चितताको तय गर्नुपर्छ। उनीहरूको स्याहार, सुसार र प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्नुपर्छ। उहाँहरूका लागि दीर्घकालीन स्याहारसुसार पुर्याउन उचित प्रबन्ध गर्नुपर्छ।
प्रभावकारी उपाय तथा रणनीतिहरू अवलम्बन गरेर ज्येष्ठ नागरिकका समस्या कम गर्नुपर्ने र सोबारे प्रशस्त अध्ययन, अनुसन्धान गर्नुपर्ने कुरा अपरिहार्य देखिन्छ। माथि उल्लेख गरिएका दुईवटा शब्द सामाजिक पृथकता र एक्लोपन फरकफरक देखिएका छन्। सामाजिक पृथकता भन्नाले नातेदारभित्र वा बाहिरका सम्बन्धले पुर्याउने वस्तुगत स्थिति हो। एक्लोपन भन्नाले चाहेको अपेक्षा गरिएको र समाजमा वास्तविक सम्बन्धबीचको भेदभावले उत्पन्न हुने भावना वा सामाजिक पीडा हो। हालसम्म जनसमुदायमा एक्लोपन र सामाजिक पृथकताको जटिलतामा परेका ज्येष्ठ नागरिकहरू कति छन् भनेर अनुमान गर्न भरपर्दो प्रमाणहरू उपलब्ध भएका छैनन्। केही प्राप्त प्रमाणहरूका आधारमा यसको मापन गर्न सकिन्छ। उदाहरणको लागि २५ वटा युरोपेली देशहरूमा २० देखि ३४ प्रतिशत ज्येष्ठ नागरिकहरू भएको, संयुक्त राज्य अमेरिकामा २५ देखि २९ प्रतिशत ज्येष्ठ नागरिकहरू एक्लो भएको, ल्याटिन अमेरिकामा २५ देखि ३२ प्रतिशत, भारतमा १८ प्रतिशत, चीनमा ३.८ प्रतिशत एक्लोपन भोगिरहेको कुरा सन् २०२१ मा अध्ययन गरिएको प्रतिवेदनले जनाएको छ। तर, अन्य अध्ययनले देखाएको प्रमाणअनुसार चीनमा एक्लोपन व्यक्त गर्ने ज्येष्ठ नागरिकको प्रतिशत २९.६ छ। भारतमा ४४ प्रतिशत गरी संसारको अन्य भूभागमा भन्दा बढी रहेको देखाइएको छ।
तुलनात्मक रूपमा समुदायमा रहेका ज्येष्ठ नागरिकहरूको दीर्घकालीन स्याहारसुसार गर्ने संस्थाहरूमा रहेका ज्येष्ठ नागरिकहरूमा एक्लोपन बढी भएको प्रमाण उपलब्ध छ। उदाहरणका लागि मध्यम आयस्तर भएका तीन वटा र उच्च आयस्तर भएका आठ वटा देशमा गरिएको छ। ११ अध्ययनले देखाएअनुसार ३५ प्रतिशत आफ्नै निवासमा बस्ने र नर्सिङ होममा बस्नेहरूको पनि उच्च एक्लोपन प्रमाणित भएको छ। अन्तत: घरमा बस्नेहरूभन्दा स्याहारगृहमा बस्ने ज्येष्ठ नागरिकको एक्लोपन उच्च रहेको अध्ययनले देखाएको छ।
जति उमेर बढ््दै गयो त्यति एक्लोपन बढ्ने र उमेर घटी भएमा घट्ने भन्ने कुरा निराधार हो। किनभने कुनै कुनै अध्ययनले एक्लोपन उल्टो गतिमा गएको पनि पाइएको छ। जस्तो कि युवाअवस्थामा पनि एक्लोपनको समस्या प्रचुर देखिएको छ। जति उमेर बढ्दै गयो त्यति एक्लोपन बढ्दै जाने अझ १५ वर्षपछि त उच्च गतिमा बढ्ने कुरा अध्ययनले देखाएको छ। अत: सो प्रमाणअनुसार उमेर र एक्लोपनबीच तलमाथि भइरहने उदाहरणहरू उपलब्ध
छन्। जस्तै संयुक्त राज्य अमेरिकामा गरिएको राष्ट्रिय प्रतिनिधिमूलक अध्ययनले वृद्धावस्थामा सबैभन्दा बढी हुने देखिन्छ। युवाअवस्थामा पनि एक्लोपन उच्च रहने तर ५०/६० को उमेरमा यो उच्चबिन्दुमा पुग्ने उल्लेख छ।
हालै गरिएका ५ सय ७५ वटा अध्ययनले देखाएअनुसार पुरुष र महिलामा एउटै प्रकारको लैंगिक एक्लोपन देखिएको छ। महŒवपूर्ण कुरा त के छ भने बाल्यावस्था, किशोरावस्था र युवाअवस्थाका पुरुषहरूमा बढी एक्लोपन पाइयो। अधबैंस र वृद्धावस्थामा भने दुवै जातिमा लैंगिक फरकपन कम भएको पाइयो। महिलाको एक्लोपनका अवस्थामा भने चिन्ताजनक प्रमाण जुटेको छ। ज्येष्ठ नागरिकहरूको एक्लोपन विश्वव्यापी रूपमै बढिरहेको छ कि छैन भन्ने कुरा जानकारीमा आइसकेको छैन। तर पनि चीनमा सन् १९९५—२०११ का बीचमा गरिएका २५ वटा अध्ययनले एक्लोपन बढेको पाइयो। अमेरिकामा गरिएको सन् २०१८/१९ को अध्ययन अनुसार एक्लोपन ७ प्रतिशतले वृद्धि भएको देखिन्छ। स्विेडनमा भने अहिलेको दशकमा एक्लोपन वृद्धि भएको पाइएन। तर फिनल्यान्ड र जर्मनीमा भने बढेको पाइयो। एक्लोपन वृद्धि हुनुमा सहरीकरण, छोडपत्र, बेरोजगार, सामाजिक असमानताहरू पनि मुख्य कारण हुन्।
सन् २०१५ मा गरिएको अध्ययनअनुसार सामाजिक पृथकताको कारणले २९ प्रतिशत र एक्लोपनको कारणले २६ प्रतिशत मृत्युदर बढेको कुरा उल्लेख छ। मोटोपन, शारीरिक क्रियाकलापको अभाव, धूमपान, लागूपदार्थ र स्वास्थ्यसम्बन्धी हेलचेक््याइँले गर्दा मृत्युदरमा फरक पाइएको छ। सामाजिक पृथकता र एक्लोपनले मृत्युदरमा वृद्धि गराउने कुरामा बढी पुष्टि भएको पाइन्छ। ज्येष्ठ नागरिकहरूको एक्लो बसाइको व्यवस्थापन, सुव्यवस्थित हुन नसकेकोे कारणले सामाजिक पृथकतालाई बढावा दिएको छ। धेरै अध्ययनले देखाएअनुसार एक्लै रहने कारणले गर्दा सामाजिक र आर्थिक क्षेत्रमा पनि परिवर्तन भएको देखिन्छ। जन्मदरमा आउने गिरावट, वैवाहिक तरिकामा आएको विविधता, लिभिङ टुगेदर, छोडपत्र, युवाहरूको उच्चशिक्षा, गाउँबाट सहरतिर जाने बढ्दो क्रम र सहरबाट विदेश जाने प्रवृत्तिले असहज आर्थिक वृद्धिदर बढेकोे र सामाजिक पृथकता र एक्लोपन वृद्धि भएको पाइएको छ।
तुलनात्मक रूपमा विश्वमै पुरुषभन्दा महिला नै एक्लै बसेको पाइन्छ। सन् २००६ र २०१५ को बीचमा पाइएको तथ्यअनुसार ज्येष्ठ पुरुष ११ प्रतिशतले एक्लो रहेको तर ज्येष्ठ महिला २४ प्रतिशतले एक्लै बस्ने गरेको पाइएको हो। सामाजिक पृथकता एक्लोपनको कारणले ज्येष्ठ नागरिकमा नसासम्बन्धी रोग, पक्षघात, स्मरणशक्तिमा ह्रास, कुण्ठा, चिन्ता, आत्महत्याको चाहना, शारीरिक अस्वस्थता आदि जोखिमहरूको प्रमाण उपलब्ध भएका छन्। जसमा मधुमेह, कोलेस्ट्रोल र अन्य शारीरिक जोखिमहरू वृद्धि भएको कुरा प्रमाणित छ। हालसालै सामाजिक पृथकता र एक्लोपनले स्वास्थ्यमा तीन वटा कुरामा धेरै असर परेको उल्लेख छ। जसमा पहिला यसले तनाव पैदा गराउँछ। दोस्रो तनाव व्यवस्थापन गराउने क्षमतामा कमी गराउँछ। तेस्रो मानसिक स्वास्थ्य र अल्छीपनले शारीरिक सक्रियता कम हुने खान मन नलाग्ने, औषधोपचारमा मन नजाने तर धूमपान र मादक पदार्थ सेवनजस्ता कुरामा वृद्धि हुने उल्लेख छ।
सामाजिक पृथकता र एक्लोपनको कारण समाजमा ठूलो आर्थिक बोझ परेको देखिन्छ। उच्च आयस्तर भएका मुलुकहरूमा स्वास्थ्य र दीर्घकालीन स्याहारसुसारको खर्च बढी भएको तथ्य चारवटा अध्ययनबाट प्रमाणित गरिएको छ। व्यक्तिगत जटिलता सम्बन्धमा ह्रास, समाज र समुदायमा हुने स्तर आदि कारणले मानिस सामाजिक पृथकता र एक्लोपनको जोखिममा पर्छ। यी तथ्यलाई हृदयंगम गर्ने हो भने सामाजिक पृथकता र एक्लोपनको जटिलतालाई घटाउन मद्दत पुग्ने कुरा उल्लेख छ। व्यक्तिगत स्तरमा प्रभाव पर्नाले हृदयघात, क्यान्सरजस्ता कुराहरू वृद्धि हुन पुग्छ। आन्तरिक क्षमतामा ह्रास आउनु नसासम्बन्धी रोग लाग्ने, सम्झने शक्तिमा कमी आउने, सुन्ने शक्ति कम हुनेजस्ता जोखिम बढाउँछ।
-लेखक राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका महासचिव हुन्।