गण्डकीमा १ मन्त्री थपिए, डोबाटे विश्वकर्मा विनाविभागीय मन्त्री
पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् थप विस्तार गर्दै सांसद डोबाटे विश्वकर्मालाई मन्त्री नियुक्त गरेका छन् । उनलाई विना विभागीयमन्त्री नियुक्त गरिएको पत्र सोमबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङको कार्यालय पठाइएको छ । प्रदेश प्रमुखका कार्यालयले डोबाटेको सपथ साँझ ५ बजे गराउने तयारी गरेको छ।
यसअघि मन्त्रिपरिषद् विस्तारका क्रममा मन्त्री नियुक्तिको ग्यारेन्टी भइसक्दा पनि अन्तिम समयमा उनको नाम काटिएको थियो । दलित र पुरानो नेतालाई मन्त्री नबनाएको मुख्यमन्त्री पोखरेलको तीव्र आलोचना भएको थियो ।
मुख्यमन्त्री पोखरेलले डोबाटेलाई मन्त्री बनाउनका लागि एक साताअघि काठमाडौं गएर प्रधानमन्त्री तथा कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा तथा सत्ता गठबन्धनको मुख्य साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सँग परामर्शसहित सहमति लिएका थिए ।
अब गण्डकीको मन्त्रिपरिषद् १२ सदस्यीय भएको छ । संविधानले प्रदेशसभा सदस्यको २० प्रतिशतलाई मन्त्री बनाउन सक्ने सुविधा दिएको छ । त्यस अनुसार ६० सदस्यीय गण्डकी प्रदेशसभामा १२ जनासम्म मन्त्री हुन सक्छन् । यसअघि एमाले नेता पृथ्वीसुब्बा गुरुङले ७ सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए। कार्यकालको अन्तिम १ महिना भने उनले १ जना मन्त्री थपेर ८ सदस्यीय बनाएका थिए।