मांगलिक बनोस् बडादसैं
दसैं जस्तै मानवीय पक्षको संरक्षण, संवद्र्धन हुने किसिमका अनेकौं अरू अनुष्ठानहरू पनि आवश्यक छ।
दसैं, बडादसैं, विजयादशमी जे भनौं यो नेपालीहरूको ठूलो चाड हो। दसैं कहिले आउँछ भनेर औंला गनेर नै बस्ने चलन नेपालीहरू माझ छ भन्दा फरक पर्दैन। नेपालीहरूमा दसैंको आफ्नै किसिमको महत्त्व छ। स्वदेशमा भएकाहरू यसलाई आ–आफ्नो रीति, थिति र परिस्थितिअनुसार मनाउने नै भए। साथै परदेशमा गएकाहरू, लाहुरमा गएकाहरू आफ्नो घर सम्झेर फर्कने मुख्य समय पनि यसै बेला हो। कथं कदाचित फर्कन पाएनन् भने चुकचुकाउँछन् आउन नपाएकोमा। घरमा रहेका आफ्ना आमाबाबु, आदरणीय प्रियजनहरूको आशीर्वाद थाप्न नपाएकोमा, स्नेहीजनहरूलाई मंगलकामना गर्न नपाएकोमा थकथकी मान्छन्। घर सम्झीसम्झी आँखा रसाउँछन् उनीहरूको।
हिजोआज दसैंको टीका, जमरा आफ्ना छोरा–छोरीहरूलाई मोबाइल फोनको विभिन्न एप्सको माध्यमबाट सांकेतिक रूपमा लगाइदिने गरेको पनि देखिन्छ। पढाइ र रोजगारीको लागि विदेश गएकाहरूको संख्या दिनानुदिन बढ्दै गएकोले यस्तो अवस्था आएको हो। यस परिस्थितिमा फेसटाइम, भाइवर, वाट्स् एप, जुमजस्ता सामाजिक सञ्जालहरू स्वदेशविदेशमा रहेका आफन्तहरूलाई भेटघाट गराउन अति सजिलो माध्यम बन्न पुगेको छ। शुभकामना आदान–प्रदान कार्डबाट पठाउने चलन अब उहिलेको कुराजस्तो भयो। म्यासेजबाट पठाउने शुभकामना पनि वाटस् एपले गर्दा फिक्का हुन थालेको जस्तो हुँदै गइरहेको छ। प्रविधिले धेरै कोल्टो फेरिसक्यो। नयाँ–नयाँ संसाधनहरूको चकाचौध देखिँदो छ। परदेशमा बस्नेहरूका लागि हिजो दसैं निरास झैं थियो भने आज प्रविधिले केही न केही जीवन्त तुल्याइदिएको छ/नजिक्याइदिएको छ।
परदेशमा बस्नेहरूका लागि हिजो दसैं निरासा झैं थियो। आज प्रविधिले केही न केही जीवन्त तुल्याइदिएको छ।
परिवारसँगको भेटघाट, मान्यजनहरूको आशीर्वाद, सम्बन्धको नवीकरण, आत्मीयताको विकास पनि प्रमुख विशेषता हो भन्नै पर्छ दसैंको। विभिन्न परिवेशले महनीय बनाएको यस्तो चाड विश्वमा विरलै पाइन्छ। यसमा सद्भाव, आत्मीयता, सम्मान र आदरको गूढ भावको साथै सामाजीकरणको उदात्त भाव पनि समेटिएको छ। यसैले दसैं पर्वको मज्जा नै अलग्गै हुन्छ।
वर्षात्ले धूलोमैलो हटाएर आकाश स्वच्छ र सफा तुल्याएको, शरद ऋतुको कारण न जाडो न गर्मीको मनमोहक मौसममा पर्ने शारदीय पर्व विजयादशमीमा जताततै हरियाली, रंगीबिरंगी विभिन्न फूलहरूले गर्दा वातावरण नै उल्लासमय हुन्छ। डाँडाकाँडा सबै हरियो देखिँदा आँखा नै शीतल बन्न पुग्छ गाउँ–वस्ती पुग्दा। त्यसमा पनि बिहानको सिमसिमे हुस्सुको लुकामारिले पहाड, उपत्यका रमाइलो बनेको हुन्छ। विद्यालय, कलेजमा छुट्टीको कारण केटाकेटीहरू गाउँघरमा साथीभाइसँग भेटघाटमा व्यस्त हुन्छन्
भने लिंगेपिंगमा त्यत्तिकै रमाएका हुन्छन्। सहरी क्षेत्रमा केटाकेटीहरू चंगा र अन्य मनोरञ्जनात्मक खेलकुदमा मस्त हुन्छन्। सबै यसैगरी रमाएका हुन्छन्।
काठमाडौं खाल्डोको नेवार बस्तीहरूमा नौरथाभरि विभिन्न देवमन्दिरहरूमा समूह–समूह भई एकाबिहानै परिक्रमा गर्दै हिँड्दा बजाइने बाँसुरी बाजा, मोहालीबाजा, झ्याम्टेबाजा र धिमेबाजाको मधुर धूनले दसैंलाई अरू आल्हादित तुल्याउँछ। त्यसमा पनि नेवारी समुदायका पुराना बस्तीहरूमा विद्यमान मठ–मन्दिरहरूतिर बज्ने मालश्री रागको धुन पनि कम रोचक हुँदैन। दसैंको माहोललाई अरू आल्हादित तुल्याउने यो परम्परा हिजोआज लोप हुँदै गइरहेको अवस्था छ। नवरात्रिमा युवायुवतीहरू अग्रजहरूसँग बाजा सिक्दै, बजाउँदै हिँडेको हिजोआज कहीँ कहीँ मात्र देखिन्छ। यस्तै चलन पूर्व–पश्चिमका गाउँहरूमा पनि पाइन्छ।
दसैंमा विशेषगरी जमराको अत्यधिक महत्व छ। घटस्थापनाको दिन माटोको कुनै भिगुट या बाटामा जौ छरेर वेदी बनाई त्यसै दिनदेखि नौ दिनसम्म देवी दुर्गाको विभिन्न नामले पूजाअर्चना गरेर उमारिएको जौको दसदिने अंकुरलाई ‘जमरा’ भन्ने चलन छ। जति जमराको रंग पहेँलो हुन्छ त्यति राम्रो मानिन्छ। जौ अर्थात् यव जस्तोसुकै कठिन भीर पहराहरूमा पनि उब्जाउ हुने अन्न हो। हाम्रो कुनै पनि धार्मिक कार्यमा जौं आवश्यक पर्छ। यसमा प्रशस्त औषधीय गुणहरू छन्। जमरालाई पहेँलपुर पार्नको लागि पूजाआजा गरिसकेपछि कुनै बाटाले छोपेर राख्ने प्रचलन छ। प्रत्येक दिन ठिक्कको जल चढाई त्यसमा हावा नछिर्ने गरी राम्ररी छोपियो भने जमराको रंग एक किसिमले पहेंलपुर बन्छ। राम्ररी छोपिएन भने हरियो घाँसजस्तो हुन्छ। जमराको रंगले पनि जमरा उमार्ने घरको सीप, लगनशीलता र निष्ठा के कस्तो थियो बुझ्न सकिन्छ।
त्यसअघि दसैंको आगमनस्वरूप घर एवं घरले चर्चेको वरपर सरसफाइ गर्ने, रंगरोगन गर्ने, घरको मर्मत–सम्भार गर्ने तथा पहिलो दिन अर्थात् घटस्थापनाको दिन पूजाकोठा या दसैंघरमा घटस्थापना गरी पवित्र जलहरू राखी, गाईको गोबरले जमरा राख्ने स्थलको शुद्धि गरी रेखा बनाई, नदीबाट ल्याइएको चोखो बालुवामा जौलाई बाक्लो गरी छरिन्छ। जौको साथै केही जातजातिमा धान, गहुँ, मकैजस्ता अन्न पनि मिसाएर छर्ने चलन छ। जौ रोपिएको भिगुटको सँगै रहेको घडामा विभिन्न देवीदेवताको आह्वान गरी घडामाथि जटा नरिवल, कुश, पञ्चपल्लव राखिन्छ र प्रत्येक दिन घरमुलीबाट पूजाआजा गरिन्छ। थालीमा या नजिकै भगवती दुर्गाको प्रतिमा राखिन्छ। नवरात्रभरि भगवती दुर्गाका नौ स्वरूपको पूजा यहीँ घडामा दीप प्रज्वलनपूर्वक गरिन्छ ।
पितृपक्षको समापनको लगत्तै पछि घटस्थापनादेखि सुरु हुने दसैं, मुख्य १० दिनको पर्व भएको तथा दशमी तिथिमा पर्ने भएकोले दसैं भनिए हो। नवरात्रभरि नवदुर्गाका विविध स्वरूपका देवीहरूको पूजा आराधना गरेर आफूमा भएका काम, क्रोध, लोभ, मोह, मद, मात्सर्यजस्ता पशुता र अवगुणहरूलाई सदाको लागि त्याग्न सक्ने शक्तिको आर्जन गर्न सकौँ भनी अरूलाई भन्दा पनि आफूले आफैंलाई जित्ने पर्व हो विजयादशमी। तर यसभित्रको गूढ रहस्यलाई बुझ्न नसक्दा यो पर्व विकृति र विसंगतिमा अल्मलिएको छ। विजयादशमीमा समेटिएको अन्तरंग पक्ष भनेको (१) पूजा–अर्चना, उपासना र साधना (२) टीका–आशीर्वाद (३) आपसी सद्भाव, सम्मान, सम्बन्धको नवीकरण र सामाजीकरण तथा मनोरञ्जन पनि साथ साथै जोडिएको छ।
दसैंभित्रको साधना पक्षमा (१) जीवात्मभावलाई परमात्मामा समर्पण गर्नु (२) काम,क्रोध, लोभ, मोह, मद, मात्सर्यजस्ता आफूभित्रका दुर्गुणहरूलाई त्याग्नु तथा कुनै इन्द्रिय विषयक अर्थात् आफूलाई नभई नहुने तर स्वास्थ्यलाई अत्यन्त हानि गर्ने विषयवासनालाई त्यागी आत्मबोधलाई प्राप्त गर्ने अवस्थामा पुग्ने अवसरको रूपमा लिइन्छ। तर आजकल यो साधनाको पक्ष हराउँदै जान थालेको छ। दसैं हिजोआज खसीबोका र च्याङ्गाको बलि दिने र मासु खाने पर्वझैँ बन्न पुगेको अत्यन्त दुःखलाग्दो छ। ‘बलि’ भनेको उपहार हो, चढाउनु हो, दिनु हो। मानिसलाई स्वार्थी बनाएर निकम्मा बनाउने भनेकै काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य आदि अवगुणहरूले हो। यिनलाई सदाको लागि देवीदेवतामा उपहार चढाएर आफू दिव्य बन्न सक्नुपर्ने विजयादशमीको गूढ अर्थ भए पनि त्यसलाई नबुझेर पशुबलितिर मानिस आकर्षित हुने गर्नाले दसैं पशुपक्षीको लागि दशाको पर्व बन्न पुगेको छ। पशुवलिले हिंसालाई प्रोत्साहन दिइरहेको छ। हिंसाभित्र निर्दयता, क्रूरता र पाशविकताले स्थान पाएको हुन्छ। मानवीयता त्यहाँ देख्न पाइन्न।
संसारकै सबैभन्दा पुरानो मानिने ऋग्वेदमा पशुबलिको कुरा कहीँ पनि गरिएको छैन। यजुर्वेद मा पनि ठाउँठाउँमा कुनै पनि पशुपक्षीलाई मार्न नहुने कुरा बताइएको छ। त्यहाँ भनिएको छ– ‘पशुन् मा हिंसात् सर्वाणी भूतानि।’ त्यसैगरी शतपथ ब्राह्मण (१।१।४।५) मा बताइएको छ कि एक प्राणीले अर्को प्राणीको हिंसा, मारकाट गर्नु हुँदैन ‘नेदन्योक्न्यं हिनुसात।’ जति पनि प्रमुख शास्त्रहरू छन् तिनमा अहिंसालाई नै प्राधान्यता दिएको पाइन्छ। वराहपुराणमा भनिएको छ – ‘अहिंसा परमो धर्म यतो धर्मस्ततो जय।
हरेक मानिसमा दुई प्रवृत्ति अन्तर्निहित भएको हुन्छ– (१) राक्षसी प्रवृत्ति र (२) दैवी प्रवृत्ति। हाम्रा हरेक धार्मिक कृत्यहरूको मूल उद्देश्य दोस्रो प्रवृत्तितर्फ लाग्न प्रेरणा देओस् भन्ने हुन्छ। अबोध, निरपराध, लाटासुधा पशुपक्षीलाई बलिको नाममा मारेर, काटेर, हत्या गरेर के दैवी प्रवृत्ति जाग्ला ? सोचनीय छ। सनातन हिन्दुधर्मको मुख्य सिद्धान्त भन्नु नै आफूलाई जे प्रतिकूल लाग्छ त्यो अरूलाई पनि लाग्छ, त्यसैले त्यस्तो कर्म कदापि नगर्नु भन्ने शास्त्रको उद्घोष छ– ‘आत्मन् प्रतिकूलानि परेषां नसमाचरेत’।
धर्मपूर्वक गरिएको कर्महरूबाट मात्र हिन्दुधर्मले भनेको धर्म, अर्थ, काम, मोक्षको प्राप्ति हुन सक्छ। जीवनको अन्तिम लक्ष्य भगवद्दर्शन, ईश्वर प्राप्ति वा आत्मसाक्षात्कार तब सम्भव छ, जब साधक सात्विकतामा रमाएर ‘बसुधैव कुटुम्वकम’ को माध्यमबाट ‘सृष्टिका सम्पूर्ण प्राणीहरू आफ्नै स्वरूप हुन्, तिनीहरू भन्नु म आफंै हुँ, म नै त्यो हुँ’ को भाव यथार्थमा उदाउँछ र व्यवहारजगत्मा त्यसलाई लागू गर्छौं।
अहिले स्थिति बदलिएको छ, परिस्थिति परिवर्तन भएको छ, वातावरण फेरिएको छ। दसैंलाई सबै नेपालीको महान् चाड बनाउँदै यसलाई मांगलिक बनाउने हो भने केही न केही नवीन कार्यहरू गर्नै पर्ने हुन्छ। नौरथाको नौ दिनलाई साधना गर्ने महान् अवसर सम्झेर मठमन्दिर, गुम्बा, बिहार, विद्यालय, कलेज, विश्वविद्यालय आदिमा प्रतिभासँग सम्बन्धित विभिन्न धार्मिक, आध्यात्मिक, विज्ञानसम्मत ज्ञान सिक्ने—सिकाउने, योग, ध्यान, प्राणायामजस्ता आत्मिक साधनाका शाश्वत चिन्तन र ज्ञानहरूलाई छात्रछात्राहरूमाझ पुर्याइ यसको महत्त्वलाई उजागर गर्ने तथा जीवनसँग जोडिएका धर्म, अध्यात्मका जीवनदायिनी पक्षहरू सिक्ने, सिकाउने पावन अवसर बनाउन सके कस्तो हुन्थ्यो ? त्यसैगरी मानवीय पक्षको संरक्षण, संवद्र्धन हुने किसिमका अनेकौं अरू अनुष्ठानहरू पनि गर्न सकिन्छ।
शान्तिका अग्रदूत, अहिंसाका पुजारी गौतम बुद्धको देश, जनक,जानकी र भृकुटीको देश नेपाललाई आध्यात्मिक रूपले पुनः जागृत तुल्याई विश्वमा प्रतिष्ठित तुल्याउने अवसर सम्झेर त्यही अनुकूलका कार्यक्रम, योजनाहरू ल्याउन सके साँच्चै विजयादशमी सबैको लागि मांगलिक पर्वको रूपमा प्रतिष्ठित हुने थियो। यसतर्फ सबैको ध्यान जानु आवश्यक छ।