'स्थानीय पाठ्यक्रममा मौलिकगीत र संस्कृती राखौं'
स्याङ्जा : संविधानसभा सदस्य राजु थापाले स्याङ्जाका मौलिक लोक, दोहोरीगीत तथा संस्कृतिलाई स्थानीय पाठ्यक्रममा समावेश गर्नुपर्ने बताए। लोक तथा दोहोरीगीत जिल्लाकै पहिचान भएको बताउदै यहाँका कला, संस्कृतिलाई दस्तावेजका रुपमा संरक्षण गर्नुपर्नेमा जोड दिए।
अग्रजलाई सम्मान नव प्रतिभालाई प्रोत्साहन भन्ने नाराका साथ राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठान स्याङ्जाको १९ औं साधारणसभाको उदघाटन गर्दै उनले सो बताएका हुन। ‘लोक संस्कृति तथा दोहोरीगीतबिनाको समाज र पूर्ण हुँदैन, 'उनले थपे,‘नैतिक आचरण, कला, संस्कृति र संस्कार बचाउन राज्यको पूर्णसहयोग आवश्यक हुन्छ।’
नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका थापाले भने, ‘लोपोन्मुख हुन लागेका लोक संस्कृतिको संरक्षण, सम्बद्र्धनका लागि स्थानीय तहले लोकसंस्कृतिलाई पाठयक्रममा समावेशगरी जरुरी छ।’
सभामा प्रतिष्ठानका केन्द्रीय सदस्य शंकर विरही गुरुङ, प्रतिष्ठानका सल्लाहकार पदमबहादुर गुरुङ र मुक्तिप्रसाद रेग्मी, पत्रकार महासंघका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, नेपाली कांग्रेसका युवा नेता अजिज अलि, उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनिता पौडेल, पुतलीबजार नगरसचिव महादेव श्रेष्ठ लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्दै कला संस्कृतिको उर्वर भूमि स्याङ्जालाई लोक तथा दोहोरीगीतका पाठशालाका रुपमा विकसित गर्नुपर्नेमा जोड दिए।
लोक तथा दोहोरीगीतलाई मनोरञ्जनका रुपमा मात्र उपयोग नगरी हाम्रा धर्म, कला, संस्कृतिलाई जीवन्त बनाउन जिल्लाबासी सबैको सहयोग आवश्यक रहने सहभागीको भनाइ थियो।
प्रतिष्ठानका अध्यक्ष ऋषिराम डुम्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्णबहादुर खड्काले स्वागत र सचिव राजेश भण्डारीले संचालन गरेका थिए। सभामा कोषाध्यक्ष बिक्रम गुरुङ्ले आर्थिक र सचिव राजेश भण्डारीले सांगठनिक प्रतिवेदन सार्वजनिकरण गरे। कार्यक्रममा लोक कलाकार कमला गैरे, नेत्र गुरुङ, सजनी गुरुङ लगायतले गीत एवं नृत्य प्रर्दशन गरेका थिए।