बोक्सी भन्दै भाउजूको हत्या गरेको आरोपमा देवर पक्राउ
ढल्केवर : भाउजूले दिएको केराले आफ्नी श्रीमतीको गर्भ तुहिएको भन्दै देवरले भाउजूको हत्या गरेको खुलेको छ। महोत्तरी गाउँपालिका ३ मडैकी शिलादेवी झाको हत्या भएको हो।
शिलाकी कान्छो देवर ४२ वर्षीय सञ्जय कुमार झाले भाउजूले तन्त्रमन्त्र गरेर केरा दिएपछि गर्भ तुहिएको भन्दै भाउजूको हत्या गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीले आइतबार पत्रकार सम्मेलन गरी शिलादेवीको हत्या आरोपमा देवर झालाई पक्राउ गरी सार्वजनिक गरेको हो।
गत बुधबार राति आफनै घरमा सुतिरहेकी शिलादेवीको शव हत्या गरिएको अवस्थामा बिहिबार बिहान ओछ्यानमै फेला परेको थियो। सञ्जयले शिलादेवीको टाउकोमा हथौडाले हानेर हत्या गरेको अनुसन्धानबाट खुलेको महोत्तरीका एसपी दिनेश आचार्यले बताए।
प्रहरीका अनुसार सञ्जय जनकपुरधाम उपमहानगरपालिका–२४ सोनापाडा टोलमा बसेर ज्यालादारीको काम गर्दै आएका थिए। बुधबार साँझ उनी जनकपुरबाट साइकलमा मडैस्थित घर पुगेका थिए।
बिहीबार बिहान ३ बजेको समयमा शिलादेवी सुतिरहेकै अवस्थामा सञ्जयले उनको टाउकोमा हथौडाले तीनपटक हानेर हत्या गरी पुन: साइकलमै जनकपुर फर्किएको अनुसन्धानमा खुलेको एसपी आचार्यले बताए। शिलादेवीका पति लालकिशोर झा र माइलो छोरा कृष्ण झाको मृत्यु भइसकेको छ।
प्रहरीका अनुसार तीन महिनाअघि असारमा सञ्जयको विवाह भएको थियो। त्यस पश्चात शिलादेवीसँगै सगोलमा सञ्जय र उनकी पत्नी रिंकी बस्ने गरेका थिए। त्यसैक्रममा शिलादेवीले देवरानी रिंकुलाई केरा खान दिएकी थिइन्। त्यस रात रिंकुको गर्भ तुहिएको थियो। पछि सञ्जय आफ्नी श्रीमतीको हजुरआमाको जनकपुरस्थित घरमा बस्न गएका थिए। रिंकुको मुखबाट बेला बेला फिज निकाली बिरामी हुन थालिन्। रिंकुलाई सञ्जयले विभिन्न अस्पतालमा उपचार गराउन थाले। तर बिरामीमा कुनै सुधार भएन।
उपचारबाट निको नहुँदा डेढ महिनाअघि झाँक्री लगाउँदा रिंकुले काम्दै शिलादेवीको माइलो छोरा कृष्णकुमार झा हुँ भनी बताएको, श्रीमान् लालकिशोर झा र मलाई शिलादेवीले टुनामुना गरी मारेको, अब रिंकु झालाई पनि टुनामुना गरी मार्न लागेको र त्यसैकारण केरा खान दिँदा गर्भ तुहिएको बताएकी थिइन्।
शिलादेवीले दिएको केरा खाँदा श्रीमती रिंकु झाको गर्भ तुहिएको र मुखबाट फिज आउँदा विभिन्न अस्पतालमा उपचार गराउँदा समेत ठीक नभएकाले बोक्सी नै रहेको निहुँमा सञ्जयले भाउजूको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
शिलादेवीलाई दिएको १२ लाख ३९ हजार सापटी पटकपटक माग्दा समेत नदिएकोले उनलाई मारेपछि मात्र आफ्नो परिवार सुरक्षित हुन्छ भन्ने अन्धविश्वासको कारण सञ्जयले भाउजूको हत्या गरेको अनुसन्धानबाट खुलेको एसपी आचार्यको भनाइ छ।