६ महिनाभित्र सडक स्तरोन्नति गर्न स्थानीयको माग
मुगु : बस दुर्घटना परेका मृतकका आफन्तले ६ महिनाभित्र सडक स्तरोन्नति गर्न माग गरेका छन्। साँघुरो सडक, खाल्डाखुल्डीले गर्दा ठूलो मानवीय क्षति व्यर्होनुपरेको मृतकका आफन्तहरुले गुनासो गरेका छन्।
असोज २६ गते छाँयानाथ रारा नगरपालिका–७ पिना गाउँको तपने खोलामा भएको बस दुर्घटना परी ३२ जनाको मृत्यु र १२ जना घाइते भएका थिए। सदरमुकाम गमगढी नजिकका भामबाडा, छत्तेलबाडा, पिना, झयारी, टोप्ला सिगारीमा दुर्घटनामा परी मृत्यु भएकाहरुको घर परिवालाई शनिबार भेटन पुगेका प्रमुख जिल्ला अधिकारीको टोलीलाई मृतक परिवारले सडककै कारणले आफ्नो सन्तान गुमाउनु परेको पीडा सुनाएका हुन्।
नाग्मा गमगढी सडकखण्ड अन्तर्गत ठाउँ ठाँउको साघुँरो सडक र खाल्डाखुल्डिका कारणले धेरै पटक सडक दुर्घटना भएको उनीहरुको गुनासो छ। मृतकका परिवारले छ महिनाभित्र सडक स्तरोन्नतीका लागि पहल गरिदिन प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत र जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर भट्टराई आग्रह गरेका थिए।
दुर्घटनाको मुख्य कारण सडक भएकाले तत्काल यो सडक मर्मत गर्नुपर्ने सबैको माग रहेको उक्त दुर्घटना परी ज्यान गुमाएका चन्द्रबहादुर भामका मामा बिष्णु भण्डारी बताए। नाग्मा–गमगढी सडकखण्ड स्तर उन्नति नगर्दासम्म मुगुबासिले अझै ठूलो क्षति ब्यर्होनुपर्ने उनको भनाई छ।
प्रमुख जिल्ला अधिकारी महतका अनुसार ६ महिनाभित्र उक्त सडकखण्डहरुको स्तर उन्नति गर्न पहलका लागि जिल्लास्थित राजनितिक दललाई समेत आग्रह गरेका छन्। यदि राजनीतिक दलले आफ्नो आग्रहलाई व्यवास्ता गरे राजनीतिक दलसमेत त्याग गर्ने चेतवानी मृतकका घरपरिवारले दिएका छन्।