मुक्तिनाथमा आन्तरिक पर्यटककाे चहलपहल
जोमसोम : मुस्ताङमा आन्तरिक पर्यटकहरुको घुइँचो लाग्न थालेको छ। नेपालीहरुको महान पर्व बडा दसैं र तिहारको अवसरमा मुस्ताङमा आन्तरिक पर्यटकको ओईरो लागेको हो। मुस्ताङमा मुक्तिनाथ मन्दिर दर्शनका लागि खुल्ला भएको र मुस्ताङ आउने पर्यटकलाई कोरोना परीक्षणको रिपोर्ट वा खोपकार्डको आधारमा जिल्ला प्रवेश गर्ने अनुमती दिएसँगै अकल्पनीय रुपमा आन्तरिक पर्यटकको घुईचो बढ्न थालेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।
जिप्रका मुस्ताङका सूचना अधिकारी प्रताप पौडेलका अनुसार दसैंको पहिलो दिन घटस्थापनादेखि हालसम्म १०/१२ दिनको अवधिमा ३ हजार ९ सय २० सवारी साधन मुस्ताङ भित्रिएको छ। जसमा १७ हजार ६ सयभन्दा बढी आन्तरिक पर्यटक छन्। पछिल्लो समय कोरोनाको दोश्रो भेरियन्ट कम हुँदै गईरहेकाले मुस्ताङ घुम्ने पर्यटकलाई कोरोना परीक्षणको रिपोर्ट अथवा खोप कार्डको आधारमा जिल्ला भ्रमण गर्न सहज भएको उनले बताए।
दसैंको विदामा मुस्ताङ घुम्न आउनेमा अधिकांश युवायुवतीहरु हुन्छन्। मुस्ताङ उद्योग बाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचनले लामो समयदेखि कोरोना कहरका कारण सुस्ताएको मुस्ताङको पर्यटन ढिलै भएपनि क्रमशः गति लिन थालेको बताए। उनले दसैं अघिको सोह्र श्राद्धको सेरोफेरोमा मुक्तिनाथ खोल्न ढिलाई हुँदा अपेक्षा गरे अनुसार पर्यटक आउन नसकेपनि मुक्तिनाथ खुल्ला भएसँगै मुस्ताङले आन्तरिक पर्यटकले थेग्न नसकेको बताए।
मुस्ताङ घुम्ने आउनेमा कतिपयले जीप चढेर आएका छन् भने कतिपय युवायुवतीले मोटर साईकलमा मुस्ताङ आएका छन्। मुस्ताङ घुम्न आएकाहरु मुक्तिनाथको दर्शनसँगै उत्तरी कोरलानाकासम्म पुग्ने गरेका छन्। दसैं पर्वको बिदामा मुस्ताङ घुम्न आएका पर्यटकहरुले मुस्ताङ यात्रा कष्ठकर भएपनि यहाँ आईपुग्दा सबै दुखकुष्ट र थकान मेटिएको बताउँछन्। उनीहरुले मुस्ताङको फरक भुगोल र रमणीय दृष्य लोभलाग्दो भएको बताएका छन्।
सोमबार र मंगलबार परेको बेमौसमे वर्षाका कारण बेनी जोमसोम सडकमा सवारी फस्दा सयौं सवारी साधन जाममा पर्ने गरेका छन्। सडक हिमाम्मेले सवारी साधन जाम हुँदा मुस्ताङ भ्रमण गर्ने यात्रुहरु गन्तब्यमा पुग्न नसक्दा होटल व्यवस्थापन गर्नमा समेत समस्या उत्पन्न हुने गरेको छ। मुस्ताङको मुक्तिनाथ दर्शनका लागि आएका पर्यटक मध्ये ५० प्रतिशत पर्यटक कोरोलानाका पुग्ने गरेको जनाईएको छ। निर्माण कम्पनीको ढिलाई र सरोकारवाला निकायको बेवास्ताका कारण बेनी-जोमसोम सडक सास्तीपूर्ण हुने गरेको छ।