नेपाली चलचित्रमा भारतीय कलाकारकाे रुचि
काठमाडौं : नेपाली चलचित्र ‘एक्स ९’ मा भारतीय अभिनेता सुनिल सेट्टीले अभिनय गर्ने भएका छन्। १२ करोडमा बन्न लागेको ‘एक्स ९’ सुनिल सेट्टीसँगै देव सिंहकाे पनि अभिनय रहने फिल्मका निर्देशक मुकुन्द भट्टले बताए। नेपाली सिनेमा क्षेत्रलाई अन्तर्राष्ट्रिय रुपमा परिचित गराउनको लागि सुनिल सेट्टीलाई फिल्ममा राखिएको भट्टले बताए।
भट्टका अनुसार लकडाउनको अवधिमा नेपालको सिनेमा घर सबै बन्द भए। तर अन्य देशले भने फिल्म क्षेत्रलाई असर पुर्याउन दिएनन्। भौतिक रुपमा उपस्थित नभएर पनि डिजिटलमार्फत फिल्म रिलिज गरेको उनको दावी छ। नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने योजना छ, उनले भने, ‘नेपाली प्रोडक्टलाई अन्तर्राष्ट्रिय ओटीपी प्लाटर्फममा चिनाउन भारतीय कलाकारलाई राखिएको हो।'
विरेन्दबहादुर कुँवरको निर्माणमा बन्न लागेको यो फिल्म तीन वटा भाषामा आउने बताइएको छ। नेपाली, हिन्दी र अंग्रेजी भाषामा फिल्म रिलिज हुनेछ। फिल्ममा नेपाली कलाकार अनमोल केसी, पुष्प खड्का, प्रियंका थापा, सौगात मल्ल, नविन लम्साल लगायतको अभिनय रहनेछ। उनीहरुलाई फिल्मको लागि विगत डेढ महिनादेखी तालिम दिइरहेको भट्टले जानकारी दिए। नेपाली कलाकारहरुलाई अन्तर्राष्ट्रिय रुपमा त्यति धेरै मूल्य नगर्ने भएकोले उनीहरु पनि यहाँसम्म पुगेका छन् भन्ने कुरालाई देखाउन पनि फिल्ममा भारतीय कलाकारलाई राखिएको भट्टले बताए।
सुनिल सेट्टीलाई पारिश्रमिकभन्दा पनि फिल्मको कथाले तान्यो
सुनिल सेट्टीलाई पैसाको मतलब नभएको भट्ट बताउँछन्। सेट्टीले फिल्मको कथालाई मनपराएर सहमति जनाएको हो। सेट्टीको पारिश्रमिक नेपाली कलाकारको जस्तै रहेको उनले बताए।
फिल्ममा सेट्टीको प्रमुख सकारात्मक भूमिका हुने भट्टले बताए। निर्माण टिमलाई सेट्टीले १२ दिन फिल्मको सुटिङको लागि समय दिएका छन्। तर उनको छायाँकन भने २० दिन जति हुनेछ। भट्टले भने, ‘नेपाली फिल्म पनि यो स्तरको हुन्छ है भनेर र मेरो प्यासनको कारणले नै उनलाई फिल्मप्रति तानिएको हुनसक्छ।’
फिल्मको स्क्रीप्ट नै मनपराएर उनले ओके भनेका हुन्। फिल्म आगामी दशैँमा रिलिज हुने भट्टले जानकारी दिए।