मुस्ताङ र डोल्पाको सीमाना याकखर्कमा अलपत्र परेका विदेशीको उद्दार
जोमसोम : मुस्ताङ र डोल्पाको सीमावर्ती क्षेत्र याकखर्कमा कार्तिक ४ गतेदेखि अलपत्र परेका विदेशी पर्यटकको शनिबार प्रहरीको रोहबरमा उद्दार गरिएको छ । उनीहरुको कैलाश एयरको हेलिकोप्टरबाट उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
कार्तिक ४ गते मुस्ताङ र डोल्पाको सीमानामा बाक्लो हिमपात परेका कारण जर्मनका दुई पुरुष, दुई महिला र दुईजना नेपाली पथप्रर्दशक गाइड अलपत्र परेका थिए । समून्द्री सतहदेखि ५ हजार ३ सय मिटर अग्लो उचाइको अग्लो पहाड क्रस गरेर मुस्ताङ आउने क्रममा पदमार्ग पहिल्याउन नसक्दा उनीहरु बीच बाटोमै अलपत्र परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए ।
उनका अनुसार याकखर्कमा पर्यटक अलपत्र परिरहेको सूचना स्थानीयबासीबाट प्रहरीलाई खबर प्राप्त भएपछि विदेशी पर्यटकसहित पर्यटक गाइडको समेत हेलि मार्फत जोमसोम ल्याएर उद्दार गरिएको हो । यसअघि अपलपत्र परेका विदेशी पर्यटकले नेपालस्थित जर्मन दूतावासमा आफूहरु पदमार्गमा अलपत्र परेको सूचना जानकारी गराएको प्रहरी निरीक्षक पौडेलको भनाइ छ ।
डोल्पाबाट मुस्ताङको मुक्तिनाथहुँदै पदमार्ग गरेर फर्किने योजनासहित गत असोज १७ गते डोल्पाको दुनैबाट पदयात्रामा हिँडेका उनीहरुले आवश्यक बन्दोबस्तीका सामान करिब ७/८ वटा घोडामा बोकाएर ल्याएका थिए।
पर्यटक मुस्ताङ र डोल्पाको सीमानाकामा हराएको दुई दिपछि मात्र सम्पर्कमा आएका थिए। उनीहरुलाई कैशाल एयरको हेलिकोप्टरले ४ टिप गरेर जोमसोम ल्याइ पुर्याएको प्रहरी निरीक्षक पौडेलले उल्लेख गरे । उनका अनुसार दुनैबाट सामान बोकाएर ल्याइएका घोडाहरु सो स्थानबाट पुनः दुनै फिर्ता पठाइएको थियो ।
भारी हिमपातका कारण अलपत्र परेका विदेशी पर्यटकको टोली शनिबार नै मुक्तिनाथ पुगेर पदयात्रामा निस्किएको जनाइएको छ ।