पल र समीक्षाले भने- हामी प्रेम सम्बन्धमा छैनौं, चरित्र हत्या गर्न खोजियो
काठमाडौं : नायक पल शाह र गायिका समीक्षा अधिकारीले आफूहरु प्रेम सम्बन्धमा नरहेको दावी गरेका छन्। शाह र अधिकारी दुवैले आफुहरुबीच कुनै प्रेम सम्बन्ध नरहेको र विभिन्न अनलाइनहरुले भ्रामक समाचार फैलाएर आफ्नो चरित्र हत्या गर्न खोजेको आरोप लगाएका हुन्।
उनीहरु दुवैजनाले आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका छन्। आफूहरुबीच मित्रता मात्रै रहेको भन्दै उनीहरुले व्यक्तिगत जीवनमा असर पुग्ने किसिमले प्रमाणबिना कसैको बारेमा समाचार प्नरकाशित नगरिदिन आग्रह समेत गरेका छन्।
पछिल्लो समय नेपाली सिनेमादेखि म्युजिक भिडियोका कलाकारको चरित्र हत्या गर्ने प्रयास गर्न खोजिएको उनीहरुको बुझाइ छ।
पल शाहले फेसबुकमा लेखेका छन्,
नमस्कार,
देश विदेशमा रहनुभएका सम्पूर्ण मेरा दर्शक श्रोता ज्यूहरुमा हार्दिक सम्मान अनि धेरै माया। विगत केही दिनदेखि मेरो र गायिका समिक्षा अधिकारीको विषयमा आइरहेका समाचारबाट मलगायत मेरो परिवार अनि मलाई माया गर्नुहुने सिङ्गो दर्शकदिर्घ नै दु:खी बनेको महशुस हामlले गरेका छौं। जुनसुकै क्षेत्रमा काम गर्दा पनि केही व्यक्ति समूह कहि न कहि कुनै न कुनै प्रकारले नजिक हुने गर्छ यो हामी सबैलाई थाहा भएकै कुरा हो। मेरो पेशा र विधाका कारण म धेरै मान्छेसँग सहकार्य गर्नुपर्ने हुन्छ र मसँग जोडिनु हुने मेरा अग्रज, अनुज र सहकर्मीमाझ मैले सदैब आफूलाई सहज र सहयोगी तवरले प्रस्तुत गरिरहेको हुन्छु। अरु कलाकारहरु सँग जस्तै र अरुले जस्तै साङ्गीतिक सहकार्य गायिका समिक्षा अधिकारीसँग पनि भएको कुरा यहाँलाई विदितै छ। हुँदै नभएका, गर्दै नगरिएका, बिनाआधारका कुराहरुलाई गसिप बनाएर एउटा कालाकार र उसको व्यक्त्तिगत जीवनमाथि आँच आउने किसिमले लेखिएका झुटा समाचारले मलाई अत्यन्तै दुखि बनाएको छ। यसरी कसैको व्यक्तिगत प्रतिष्ठा र चरित्र हत्या हुने गरि बदनाम गर्ने गरि समाचार नबनाइ दिनुहुन सम्पूर्ण मिडियाकर्मी ज्यूहरुलाई हार्दिक अनुरोध गर्दछु।
मैले सधैं दर्शक श्रोता मेरो घर अनि मिडियालाई आफ्नो परिवार मानेको छु र सदैव मानिरहने छु। यहि घर परिवारको माया, आशीर्वाद र शुभेच्छाको कारणले गर्दा नै म यहासम्म आइपुगेको छु। मैले जानेर नजानेर कसैको चित्त दुखाएको छु भने म यसै पोस्ट मार्फत हार्दिक माफी माग्द्छु।
गायिका समिक्षा अधिकारी र मेरो बीचमा भएको मित्रता र सहकार्यलाई अन्य अन्य तथानम शीर्षक दिएर सिङ्गो पत्रकारितालाई पनि बदनाम गर्ने र हाम्रो चरित्र हत्या हुने कार्य नगरिदिनुहोला ।
धन्यवाद
हजुरहरुको पल शाह !!’
त्यस्तै समीक्षाले लेखेकी छन्
‘नमस्कार
मलाई समिक्षा अधिकारी बनाउनु हुने मेरा सम्पूर्ण दर्शक श्रोता ज्यूहरुमा हार्दिक नमन गर्दछु। पछिल्लो समय मेरो बारेमा नायक पल शाह ज्युसँग जोडेर हुँदै नभएको कपोलकल्पित समाचारहरु आएका छन् यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। समाचारमा मेरो र पलजीको सम्बन्धलाई तोडमोड गरेर तुच्छ प्रकारका कुराहरु मिडियामा आएका छन् जसले मेरो चरित्र हत्या भएको छ। यसका साथसाथै पलजीको क्यारिअरमाथि आँच आउने किसिमले सस्तो प्रचार बाजी गरिराको छन्। यसो नगर्नुहुन अनुरोध गर्दछु। बिनास्रोत अफबाहका भरमा लेखिएका यी समाचारले हामीलाई सामाजिक र चारित्रिकरुपमा निकै नै असर पुर्याएको छ यस कुराप्रति म र मेरो परिवार खेद प्रकट गर्दछौं। एउटै इण्डस्ट्रीटमा भएको हिसाबले पलजीले मलाई अभिभावकको हिसाबले माया गर्नुहुन्छ । मेरो कला र क्षमतालाई माया संरक्षण गर्नुहुन्छ म उहाँको सदैब फ्यान पनि हुँ। र हजुरहरुको माया रहेसम्म सधै राम्रो काम गरिरहने छौं। राष्ट्रको चौथो अंग मानिएको पत्रकारिताका अग्रज र दिग्गज अभिभावकले पनि यसरी मान हानी र चरित्र हत्या हुने किसिमले लेखिएका समाचार ले निकै दु:खी छु। मैले यो अपेक्षा गरेको थिएन ।
म जे छु जहाँ छु यो सब मेरा भगवानरुपी दर्शकश्रोताको देन हो र हजुरलाई कुनै पनि कुराले निराश गर्न सक्दिन र गर्ने छैन। मेरो बारेमा मिडियामा आएका झुटा समाचारहरुप्रति घोरनिन्दा गर्दछु र हजुरहरु यसको पछाडि नलाग्नु हुन हार्दिक अनुरोध गर्दछु।
अन्त्यमा सम्पूर्ण पत्रकारज्युलाई पनि हार्दिक निवेदन गर्न चाहन्छु कसैको व्यक्त्तिगत जीवनमा आच आउने मान हानी तथा चरित्र हिन हुने किसिमको समाचार नबनाउनु होला।
सबैलाई धेरै धेरै माया
धन्यवाद।’