सम्भावनाको सहरमा विकासका पाइला

सम्भावनाको सहरमा विकासका पाइला

महोत्तरीको गौशाला सम्भावनाले मात्रै होइन, आफैंमा ऐतिहासिक ठाउँ हो। जहाँ ९५ वर्ष पुरानो निगौल गाई गौशाला छ। २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा गौशाला नगरपालिकाको प्रमुखमा शिवनाथ महतो निर्वाचित भए। उनको नेतृत्वमा शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधारका क्षेत्रमा काम गरेर नमुना बनाउने कामको थालनी भएको छ। गौशालाको विकास, सम्भावना, योजना र चुनौतीबारे गौशाला नगरपालिकाका प्रमुखसँग अन्नपूर्णकर्मी राजकरण महतोले गरेको कुराकानी :

गौशाला किसानले भरिएको नगर हो। किसानका लागि के काम गर्नुभयो ?
गौशाला कृषकको बाहुल्य भएको नगरपालिका हो। चुनावकै बेला किसानहरूको खेतखेतमा सिँचाइ पुर्‍याउने मैरो पहिलो लक्ष्य थियो। सिँचाइका लागि नगरभरि बोरिङ जडान गर्ने काम गरेका छौं। हालसम्म एक सय वटा बोरिङ जडान गरिसकेका छौं। यसले उत्पादन बढेको छ। किसानले उत्पादन गरेको सागसब्जी, तरकारीलाई कुहिन नदिन कोल्ड स्टोर बनाउने कामको थालनी गरेको छु। वडावडामा कृषि सहकारीमार्फत मलखादको वितरण गर्न सफल भएका छौं। महँगो मूल्यमा कालाबजारीको मलखाद्य किन्नुपर्ने किसानको बाध्यता सधैंका लागि हटेको छ। खेतीमा लागत कम गर्न कृषकलाई आधुनिक औजारको व्यवस्था गरेका छौं।

स्वास्थ्य क्षेत्रमा के कस्तो सुधार गर्नुभयो ?
हाम्रा कोही नागरिक बिरामी भए उपचार गराउन बाहिर जान नपरोस् भनी सुविधा सम्पन्न अस्पताल निर्माण गरिरहेका छौं। गौशाला नगरपालिकाको पाँच वटा वडामा नयाँ स्वास्थ्यचौकी निर्माण गरिएको छ। नगरभरि पाँच वटा आधारभूत स्वास्थ्यचौकी र तीनवटा वर्थिङ सेन्टर सञ्चालनमा छन्। यहाँका दिदीबहिनी, चेलीबेटीलाई सुत्केरी गराउनलाई बाहिर जानुपर्ने बाध्यता अब हटेको छ। कान्तिबजार, बेलगाछी र रामनगर स्वास्थ्यचौकीमा वर्थिङ सेन्टर सञ्चालित छन्।

गर्भवतीहरूलाई जटिल समस्या देखिएमा नगरबाट कस्तो सहयोग प्राप्त हुन्छ ?
जटिल प्रकारका समस्या देखिएमा गर्भवतीमहिलाहरूलाई सुत्केरी गराउन प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा पठाइन्छ। यहाँ पनि सुत्केरी गराउन कठिन भए प्रदेश नम्बर २ भित्र कुनै ठाउँमा लैजानुपर्ने भएमा हामीले निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरेका छौं।

सुत्केरी गराउन बाहिर जानु नपरोस् भनी गौशाला नगरपालिकाले १५ शय्याको अस्पताल निर्माण गरिरहेका छौं। यो अस्पतालमा निर्माणका लागि १८ करोड खर्च छुट्ट्याइसकेको छु। प्राथमिक उपचार केन्द्र गौशालामै अहिले क्षयरोग निदानका लागि जिन स्पोट सञ्चालन गरेका छौं। सर्लाही, रौतहटसम्मका बिरामीहरू क्षयरोग टेस्ट गराउन आउँछन्। यहाँ एक्सरे सेवा पनि छ।

कोरोना महामारीबाट नागरिक बचाउन कसरी काम गरिराख्नु भएको छ ?
कोरोना नियन्त्रणमा पनि अहोरात्र खटेर जनप्रतिनिधिहरूले जनताको जीवन रक्षा गर्न कुनै कसर बाँकी राखेका छैनौं। अस्थायी कोभिड–१९ अस्पताल सञ्चालन गरेर त्यहाँ अक्सिजन सहितको आइसोलेसन व्यवस्थापन गरेका छौं। थुप्रै कोरोना संक्रमितहरू उपचार लिएर निको भए। 

अहिले पनि हामी कोभिड अस्पताल सञ्चालनमै राखिएको छ, जति बेलापनि फेरि कोरोना महामारी फैलिन सक्छ। यसलाई आउँदो दिनमा पूरै व्यवस्थित गरेर जान अक्सिजन सिलिन्डर नपाए पनि इलेक्ट्रोनिक अक्सिजन मेसिनको व्यवस्था गरेका छौं। कोभिडका बिरामीलाई घरदेखि अस्पतालसम्म ल्याउन र पुर्‍याउन एम्बुलेन्सको व्यवस्था मिलाएका छौं। बिरामीका लागि खाना, औषधि उपचार सबै निःशुल्क व्यवस्थान गरिएको छ।

गरिबलाई स्वास्थ्यमा पहुँच पुर्‍याउन कस्ता योजना ल्याउनु भएको छ ?
नगरपालिकाको आन्तरिक स्रोतबाट दक्ष चिकित्सक राखेर आफ्ना बिरामी नागरिकहरूको उपचार गर्ने व्यवस्था मिलाइएको छ। निःशुल्क औषधिका साथै थप औषधि नगरपालिकाबाट व्यवस्था निःशुल्क वितरण गरेका छौं। सुगर, प्रेसरको बिरामीलाई औषधि उपलब्ध गराएका छौं। आयुर्वेदतर्क नागरिक आरोग्य केन्द्र स्थापना गरिएकोे छ। 

शिक्षा क्षेत्रको विस्तारका लागि के गर्दै हुनुहुन्छ ?
शिक्षातर्क डिप्लोमा स्तरका आयुर्वेद विषयको कक्षा सञ्चालन भइरहेको छ। गौशालाको वडा नम्बर १२ मा आयुर्वेद अस्पातलको भवन निर्माण अघि बढाएका छौं। नगरपालिकाको भाषा, कला, साहित्य, संस्कृति, इतिहास र भूगोल समेटेर हामीले हालै ‘गौशाला दर्पण’ नामक अनुसन्धानमूलक पुस्तक प्रकाशन गरेका छौं। यसले गौशालालाई देशविदेशमा परिचित गराउने छ।

गौशालास्थित रामनगर र रजखोरको बीचमा इन्जिनियरिङ कलेज सञ्चालनका भौतिक पूर्वाधार निर्माणको काम भइरहेको छ। सम्भवतः मंसिरदेखि इन्जिनियरिङ कलेजमा भर्ना सुरु हुन्छ। नगरपालिकामा जनप्रतिनिधि आएपछि सामुदायिक विद्यालयको पठनपाठनमा उल्लेख्य सुधार भएको छ। जुन स्कुलमा शिक्षकको आवश्यकता छ। त्यो स्कुलमा शिक्षक स्वयम्सेवक शिक्षक भर्ना गरेर शिक्षण क्रियाकलाप अगाडि बढाइएको छ।

छोरीहरूको शिक्षामा कत्तिको पहुँच छ ?
मधेसमा अभिभावकलाई आफ्ना चेलीबेटीलाई बाहिर पठाएर पढाउन कठिन छ। अभिभावकहरूमा चिन्ता छ त्यो चिन्ता केही हदसम्म पूरा भएको छ। यस नगरपालिकामा एकहदसम्म उच्चस्तरको शिक्षाको गन्तव्य बनाउनु पर्छ। हाम्रो पहलमा त्रिभुवन माध्यमिक विद्यालयलाई नमुना विद्यालयको रूपमा विकास गर्ने काम भइरहेको छ। नेपाल सरकारकोे नमुना विद्यालयहरूको सूचीमा हामी राख्न सफल भएका छौं। प्रदेश नम्बर २ कै एउटा नमुना विद्यालय बनाउने काम भइरहेको छ।

विकासका महत्वपूर्ण अंग सडक छ। नगरभरिमा सडक विस्तारको गति कस्तो छ ?
सडक गौशालाका सबै वडालाई सडक सञ्जालसँग जोड्न रिङरोडको डीपीआर तयार गरिएको छ। अर्बौ रकम लाग्ने भएकाले संघीय सरकारसँग बजेट माग गरेका छौं। सडक बनाएर गाउँमा नगर बस सञ्चालन गर्ने योजना छ। वडाहरूमा कालोपत्रे तथा पक्की सुविधा सम्पन्न बाटाघाटाहरू निर्माण गरिएको छ। गौशाला माविदेखि खाल्टो बजारसम्म झन्डै तीन किलोमिटर बाटो निर्माण गरिएको छ। योबाहेक मैले चुनावी प्रतिबद्धताको ९० प्रतिशत काम गरिसकेको छु।
गौशाला नगरपालिकामा सबै कार्यहरू अनलाइन माध्यमबाट हुँदैछ। त्यस्तै अनलाइनबाट ज्येष्ठनागरिकहरूको सामाजिक सुरक्षाभत्ता सिधैं बैंकमा पठाइन्छ। 

नगरपालिकाको आफ्नै भवन छ ?
अहिले गौशाला नगरपालिकाले आफ्नै कार्यालय भवन निर्माण भइरहेको छ। यो काम पनि अन्तिम चरणमा पुगेको छ। एक बिघा जग्गा खरिद गरेर ५ करोड ६० लाखको लागतमा भवन 
निर्माण भइरहेको छ।

गरिबीका रेखामुनि रहेका परिवारका लागि के कस्ता कार्यक्रम सञ्चालित छन् ?
विपन्न परिवारहरूको आर्थिक अवस्था बलियो बनाउन बगर खेती सुरु गरिएको छ। नदी उकास बगर जमिनमा सिँचाइको व्यवस्था गरेर मुसहरहरूलाई पनि तरकारी खेतीमा आबद्ध गराइएको छ। गरिबहरूलाई बाख्रा वितरण गरिएको छ। नमुना बाख्रापालन खोर निर्माण गरेर एक घर परिवारलाई चार वटा बाख्रा र एउटा बोका प्रदान गरिएको छ। उनीहरू पनि आयआर्जनका हिसाबले अगाडि बढिरहेका छन्। 

नगरपालिकामा रहेको मुसहर समुदायका बच्चाहरूलाई स्कुलमा राम्रोसँग पढाउन सकिन्छ कि भनेर दैनिकै पहल गरेर बालबालिकाहरूलाई स्कुल पठाउने काम भइरहेको छ। यहाँ विपन्न परिवारका लागि छानो कार्यक्रम ल्याइएको छ। फुसको घरमा जस्तापताको छानो हाल्न एक घरपरिवारलाई ५० हजारको व्यवस्था गरिएको छ।

गौशालाको आर्थिक विकासको परिवेश कस्तो छ ?
महोत्तरीको सबैभन्दा पुरानो र ऐतिहासिक बजार, गौशाला बजार छ। यसलाई हामीले व्यवस्थित गर्न खोज्दै छौं। बजारको स्तरीकरण गर्न नाला निर्माण, पक्की सडक निर्माणको काम भइरहेको छ। बजार क्षेत्रका बाटाघाटा निर्माणमा अवरोध छ। हामी जितेर आउनुभन्दा पहिलाकै उजुरी अख्तियारमा छ। त्यसैले बजार क्षेत्रमा बाटोघाटो विस्तार गर्न कठिनाइ भइरहेको छ।

नगरभित्र औद्यौगिक विकासबारे केही अध्ययन भएको छ ?
गौशाला क्षेत्रमा उद्योगहरूफष्टाउने ठूलो सम्भावना छ। चारैतिरको केन्द्र पर्छ। यहाँ सार्वजनिक जमिनहरू पनि छन्। गौशाला नगरपालिकाले १२ बिघा क्षेत्रफलमा औद्योगिक ग्राम निर्माण हामीले थालेका छौं। त्यसका लागि भौतिक संरचना निर्माण भइरहेको छ।

आयुर्वेद कलेजसँगै जडीबुटीको खेती त्यसमा जोडिएको छ। खोलाको छेउछाउमा नदी उकास जग्गाहरूलाई व्यवस्थित गर्नुपर्छ। जडीबुटी उत्पादन गर्न प्राविधिकहरूलाई ल्याएर नगरपालिकाले अवलोकन गराइसकिएको छ। जडीबुटी उत्पादनका लागि नगरपालिकाले नै लगानी गर्ने र नगरपालिकाले नै उचित मूल्यमा खरिद गरिदिने योजना अघि बढाएको 
छ। गौशाला नगरपालिकाको आम्दानीको मुख्य स्रोत पोखरी र नदी छ।

पर्यटकीयस्थलका सम्भावनाहरू छन् ? यसलाई व्यवस्थित गर्ने काम कसरी भइरहेको छ ?
यहाँ थुप्रै ऐतिहासिक पोखरी र पानीका मूलहरू छन्। निगौल ठाकुरपोखरी, मोहलनीय पोखरी, पचाई पोखरी लगायतका थुप्रै पर्यटकीय स्थलहरू बन्ने ठाउँ छन्। गौशाला– ३ नवराजपुरमा पर्ने प्राकृतिक पचाइन पोखरीलाई पर्यटकीय पोखरीका रूपमा निर्माण थालिएको छ। ५ करोड ८५ लाख ६७ हजार २ सय ७६ रुपैयाँको लगानीमा पोखरीको संरक्षणको काम अगाडि बढाइएको छ। पर्यटकीय पोखरी निर्माणसंँगै छठ पर्व मनाउनलाई सहज हुनेछ। यहाँ पिकनिक स्पोर्ट पनि बनाउँछौं।

गौशाला नगरपालिकाभित्र धेरै पोखरीहरू छन्। सबैलाई विस्तारै हामीले व्यवस्थित गर्दै लाने योजनामा छौं। गौशाला नगरपालिका— १ स्थित रामनगरमा पर्ने बानह टोल पोखरीलाई व्यवस्थित गर्न डीपीआर तयार गरिसकेका छौं। यसलाई संरक्षण र विकास गर्न ७ करोड खर्च 
लाग्ने अनुमान छ।

दह र पोखरी व्यवस्थित भएपछि के फाइदा हुन्छ ?
सबै पोखरीहरू संरक्षित भयो भने माछापालनबाट नगरपालिकालाई वार्षिक २० करोडसम्मको आम्दानी हुन्छ। पोखरी संरक्षणले चुरेको भावर क्षेत्रमा पानी भण्डारमा सहयोग पुग्छ। खानेपानीको मुहान संरक्षणमा टेवा पुग्छ।

काम गर्न चुनौती चाहिँ के छ ?
खहरे खोला नदीले गौशाला नगरपालिका घेरिएको छ। खोलाको मुहान चुरे पर्वत पहाडमा पर्छ। यसले प्रत्येक वर्ष जनतालाई दुःख दिँदै आएको छ। चुरेको भावर क्षेत्रबाट खोलानाला बग्ने भएकाले यसको संरक्षण सम्वद्र्धनको आवश्यकता छ। यसलाई दोहनबाट बचाई बहुपयोगी बनाउन पनि त्यत्तिकै जरुरी छ।

खोलाले हजारौं बिघा जमिनलाई कटान गरेर बगर बनाइसकेको छ। जनताका तटबन्धबाट बाँध निर्माण जारी छ। तर, बजेट अभावमा नदी संरक्षणको कामले निरन्तरता पाउन सकिरहेको छैन। बाढी नियन्त्रण गरेर खेतीयोग्य जमिनलाई बचाउन अति आवश्यक छ। चुनौती रहे पनि समृद्ध गौशाला निर्माणमा जुटिरहेको छु। सबैको साथ र सहयोग पनि पाएको छु।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.