युवक हत्याका आरोपित ४५ वर्षपछि पक्राउ
स्याङ्जा : झण्डैं ४५ वर्षअघि एक युवक हत्याका आरोपित पक्राउ परेका छन्। चापाकोटका ७३ वर्षीय गणेशबहादुर कुमाल (गोरे) पक्राउ परेका हुन्। विस २०३३ वैशाख २ गते चैते दसैं पूर्णिमा मेला हेर्न आएका जीतबहादुर रानाको हत्या अभियोग लागेका उनलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।
चापाकोटस्थित कालीगण्डकी नदी किनारस्थित खोरियाघाटमा लागेको मेला हेर्नका लागि पाल्पाको तत्कालिन गोदारछाप गाउँपञ्चायत बस्ने मृतक राना २४ वर्षका थिए। उनी भारतीय सेना हुन्। ती युवकको हत्यापछि चापाकोटबाट भागेर नवलपरासीमा आफ्नो नाम परिवर्तन गरी बस्दै आएको बताइएको छ। कुमाल दसैं मनाउन आफ्नो पुरानो घरमा आएर फर्कदै गर्दा पक्राउ परेका हुन्। प्रहरीका अनुसार उनले आफ्नो नाम गोरे कुमाल भनी परिवर्तन गराइ नवलपरासीमा परिवारसहित बस्दै आएका थिए।
रानाको हत्यापछि शव कालीगण्डकी नदीमा फालेको भनि प्रहरी कार्यालय स्याङ्जामा जाहेरी परेको थियो। २०३६ माघ १७ गते स्याङ्जा जिल्ला अदालतबाट घटनाका प्रतिवादीलाई जन्मकैदको फैसला भ थियो। प्रतिवादीहरूले सर्वोच्च अदालतमा पुनरावेदन गरे पनि २०४० माघ ८ गते जिल्ला अदालतकै फैसला सदर भएको थियो। पक्राउ परेका कुमाललाई अदालतमा उपस्थित गराई कारागार पठाइएको छ।