फूलसँगै फेरिएको गोपालको जिन्दगी (भिडियो)
काठमाडौं : फूलले ढकमक्क थियो गुण्डु। त्यहाँ पुग्दा जोकोहीलाई तिहार भित्रिएको आभास हुन्थ्यो। खेतभरी ढकमक्क फूलेका सयपत्री र मखमली फूलले डुल्लुको सौन्दर्यतालाई झनै बढाएको थियो। करिब एक हप्ता अगाडि पंक्तिकार भक्तपुरको गुण्डु गाउँ पुग्दाको दृष्य हो, यो।
माला तयार पार्न नाङलोभरि मखमली फूल राखिएका थिए। सेतो धागोभित्र सियोको सहायताले मखमली मिल्दैथिए । जस्ताको छानोमुनि नाङ्ला र प्लाष्टिकका झोलामा हातले बुनेका मखमलीका मालाहरु सजाइँदै थिए। कोही फूल टिप्न त कोही माला बु्न्नमा व्यस्त देखिन्थे।
त्यतिबेला यहाँका स्थानीयलाई माला बुन्न भ्याइनभ्याइ थियो। धान काटेर सुगाएकासँगै आठोको बीचमा ढकमक्क फुलेका फुलहरुले तिहारलाई झल्काइरहेको देखिन्थ्यो । गुण्डु फूलको गाउँ भनेर परिचित छ । जहाँ कहिल्यै पनि फूलको सुगन्ध हराएको हुँदैन । केही परिवारको फूलबाटै जीविकोपार्जन चलेको छ।
यसपाली ४७ वर्षीय गोपाल खत्रीको परिवारलाई मखमली फूल उन्दै भ्याइनभ्याइ भयो। पेशाले किसान रहेका गोपाल पोल्ट्री फर्मबाट तरकारी खेती हुँदै फूलखेतीमा आइपुगेका हुन् । तरकारी खेतीमा बढी मेहेनत गर्नुपर्ने भएपछि उनले फूलखेती रोजेका हुन्। मेहेनत कम, नाफा धेरै भएपछि उनी फूलखेतीमा रमाएका छन्। दुई रोपनीबाट सुरु गरेको फूलखेती अहिले १० रोपनीसम्म पुर्याइएकf छन्।
यसपाली सयपत्री र मखमली फूलफूलेर १० रोपनी खेत ढाकियो। सिन्धुपाल्चोक घर भएका उनले २० रोपनी खेत १० वर्षका लागि ठेक्कामा लिएर गुण्डुमा व्यवसाय सुरु गरेका हुन् । दुई वर्षदेखि फूलखेती सुरु गरेका गोपाल भन्छन्, ‘तरकारी खेतीमा सोचेको आम्दानी भएन । त्यसपछि फूल लगाएँ। मेहेनत कम र आम्दानी राम्रो भएपछि यसैमा रमाएको छु।'
यहाँ चैत वैशाखमा बेर्ना लगाएर साउनको पहिलो हप्ताबाट मखमली टिप्न सुरु गरिन्छ। सयपत्री भने बाह्रै महिना लगाउन सकिने उनले बताए। साउनदेखि हालसम्म गोपालले फूल बिक्रीबाटै १ लाख बढी रुपैयाँ आम्दानी गरिसकेका छन्।
एउटा मालाको ३० रुपैयाँमा बिक्री हुने गरेको उनले बताए। फूलको माग बढेसँगै गोपालको फूलखेती पनि फस्टाउँदै गएको छ। कोरोना महामारीमा पनि फूल बजारमा पुर्याउन खासै केही असर नपुर्याएको गोपाल बताउँछन् ।
१५ वर्षदेखि कृषि क्षेत्रमा लागेका गोपालले पछिल्लो समयमा नेपालमा फूलको माग बढिरहेको बताए। उनले मखमली फुलहरु देशबाहिर समेत पठाएको बताए। तालिम लिएर नै उनले फूलखेती सुरु गरेका हुन् । एक महिना फूल रोपेर आठ महिनासम्म आम्दानी गर्न पाउने भएकाले पनि फूलखेती लाभदायी रहेको गोपालको बुझाइ छ। उनले अहिले फूलसँगै तरकारी खेती समेत गरेका छन् ।
उनले फूलखेतीबाट परिवारका खर्च जुटाइरहेका छन् । गोपालसँगै उनकी श्रीमती पनि फूलखेतीमा सघाइरहेका छन् । ६०/६५ दिनमा फुल्ने सयपत्री फुलको माग साउन महिनामा एकदम धेरै हुने गोपालको अनुभव छ।
अमेरिका, क्यानेडा, अस्ट्रेलियालगायतका देशहरुमा फूलपठाउने गरेको गोपाल बताउँछन् । गतवर्षभन्दा यो वर्ष फूलबाट दुई गुणा नाफा बढ्ने गोपालको अनुमान छ । उनले अघिल्लो वर्ष फूल बिक्रीबाट ६ लाखसम्म आम्दानी गरेका थिए।
भिडियोसहित