सयपत्री फूलमा भारतकै भर
काठमाडौं : तिहारमा सयपत्री र मखमली फूलका मालाकोे विषेश महत्व छ। लक्ष्मीपूजाका दिन सयपत्रीका मालाले घर, पसल सिंगार्ने गरिन्छ। भाइटिकाका दिन चोलीबेटीले र दाजुभाईले एक अर्कालाई सयपत्री र मखमलीका माला लगाइदिने गर्छन्। अरु समयभन्दा तिहारमा फूलको माग बढी हुने गरेको छ।
कोरोना महामारीको असर कम हुँदै गएकाले अघिल्लो वर्षभन्दा धेरै नेपालीले तिहार मनाउँदैछन्। त्यसैले फूलमालाको माग बढेको पुष्प व्यवसाय संघ नेपालले जनाएको छ। संघका महासचिव विश्वमणी पोखरेलका अनुसार सयपत्री फूलको उत्पादन भने घटेको छ। अपुग फूल भारतबाट आयात गरिएको उनले बताए। ‘सयपत्री फूलका १८ लाख मालाको माग छ। १५ लाख ५० हजार नेपालको उत्पादनले धान्छ,’ पोखरेलले भने।
कोभिडअघिको समयमा भने तिहारमा २ अर्ब ४२ करोड रुपैयाँ बराबरको २२ लाख मालाको खपत भएको थियो। पोखरेलका अनुसार यस वर्ष करिब डेढ करोड रुपैयाँको सयपत्री फूल भारतबाट आयात भएको छ। भाइटीकाका लागि ३ लाख गोदावरी र मखमली मालाको माग रहने संघले जनाएको छ। ‘यी मालाको माग भने आन्तरिक उत्पादनले नै धान्छ,’ संघका अध्यक्ष मिनबहादुर तामाङले भने। बजारमा नेपाली फूलबाट उनिएको मालाको मूल्य औसत ९० रुपैयाँ र भारतीय मालाको औसत मूल्य ६० रुपैयाँसम्म पर्ने संघले जनाएको छ। जसले गर्दा नेपाली माला ओझलमा परेको तामाङले जानकारी दिए।
कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाले ४ लाख माला पुग्ने सयमत्री नोक्सान भएको संघले जनाएको छ। जसका कारण भारतको भर पर्नुपरेको हो। नेपालका २८ जिल्लामा सयपत्रीको व्यवसायिक खेती गरिएको छ। कोभिडका कारण करिब डेढ वर्ष सार्वजनिक सभा सहारोह हुन सकेनन्। चाडपर्व पनि कमले मात्रै मनाए। फूलको माग पनि घट्यो। जसको मारमा फूल उत्पादक परे। अहिले कतिपय फूल व्यवसायीहरु फूल खेती छाडेर अन्य पेशामा लागेको महासचिव पोखरेल बताउँछन्।
काठमाडौं, भक्तपुर र ललितपुरमा बढी फूल उत्पादन हुन्छ। त्यस्तै काभ्रे, झापा, सुनसरी, कास्की, चितवन, मोरङ, रुपन्देही, कपिलवस्तु, पाल्पा, दाङ, कञ्चनपुर, कैलाली, बाँकेलगायत जिल्लामा फूल खेती बढीरहेको संघका अध्यक्ष तामाङले जानकारी दिए।