यमराजकी बहिनीको ऊ बेलाको तिहार !

यमराजकी बहिनीको ऊ बेलाको तिहार !

कोरोना कहर नै भए पनि पोहोरको तुलनामा यो साल केही रमाइलोका साथ हाम्रो पहिलो ठूलो चाड दसैंले हामीबाट बिदा लिइसकेको छ। सामाजिक सञ्जाललाई नियाल्दा यो वर्ष प्रायः नेपालीको दसैं खल्लो नै भएको बुझियो। सामाजिक दूरी कायम गर्दै टीका लगाएका तस्बिरहरू कमैे मात्रामा पोष्टिए। दसैं समापन हुँदै गर्दा मलाई भने गाउँमा तिहार मनाएका, तिहारको लागि गरेका तयारीहरूको धेरै नै याद आइरहेछ।

यतिखेर म कवि सिद्धिचरण श्रेष्ठलाई र उहाँको कविता ‘मेरो प्यारो ओखलढुंगालाई सम्झिरहेछु। कविताले मेरो प्यारो ओखलढुंगा भनिरहेछ भने मेरो मनमा छ, ‘मेरो प्यारो धनकुटा ! ओखलढुंगा होस् या धनकुटा नेपालकै ग्रामीण भेग हुन्। रहनसहन संस्कृति उही हो। गाउँको रमाइलोपन उही हो। गाउँले मन उही हो। बस आफू जुन ठाउँमा जन्मियो, हुर्कियो उही ठाउँ प्यारो लाग्ने। लेख, कथा कविता होस् या गजल लेख्दा उही ठाउँको परिवेश फुर्ने उही ठाउँको प्रतिविम्ब बसिदिने ! कवि श्रेष्ठलाई ओखलढुंगा प्यारो लाग्थ्यो मलाई धनकुटा। अरूबेलाको तुलनामा चाडबाडमा आफूले बाल्यकालमा बिताएका ठाउँहरूको धेरै नै याद आउने। 

कवि श्रेष्ठले भने जस्तै ‘भाग्यको लहरमा लहरी लहरी पुगे यस मरुस्थलमा कसरी ? ठ्याक्कै अहिले म यही मरुस्थलबाटै आफूले बिताएका पल र गाउँघरको याद गरिरहेछु। बाल्यकालका र किशोर अवस्थाका धेरै नै चित्रहरू क्यामेराको रिल झैं  एकपछि अर्काे गर्दै घुमिरहेछन्। उ, समय दसैं तिहार आउँदा आकाश नै फरक देखिन्थ्यो। नीलो सफा आकाश अनि नीलो त्यो आकाशको बीचबीचमा सेता बादल। जस्का आकृतिहरू कहिले घोडा त कहिले हात्ती बने झैं लाग्दथ्यो। अझ भनौं न आफूले के सोच्यो त्यही आकृति बनेझैं  आफूलाई महसुस हुन्थ्यो। अनि त्यो आकाश मौन बोल्थ्यो ‘ल दसैं तिहार आयो है !’

त्यो आकाश र ती हात्ती घोडाका आकृति नदेखेको वर्षांै भयो। अचम्म आकाश त उही हो तर किन त्यो आकाश जस्तो यो आकाश छैन ? किन यो आकाश घुर्मैलो छ ? अनि किन हात्तीघोडाका आकृति यो आकाशमा स्पष्ट देखिन्नन् ? उत्तर आफैंसँग छ तर बारम्बार आफ्नै मन प्रश्न गरिरहन्छ। 

आकाशको नीलोपनसँगै बारीभरि फुलेका सयपत्री र मखमली अहा ! बिहानै उठ्दा त्यो सयपत्रीको फरक सुगन्ध नाकैमा ठोकिन्थ्यो अनि छुट्टै उत्साह जाग्थ्यो। अहिले पनि जुरुक्क उठेर बरन्डामा निस्कनासाथ देख्छु म मखमली र सयपत्रीले भरिएका ढाकर र डालाहरू अनि माला बनाएर झुन्ड्याइएका लहर तर त्यस्का बोट ? अनि त्यो फूलबाट आउने सुगन्ध ? ती कहिलेदेखि मूच्र्छित भइसकेका छन्। हातमा पानी बोकेर छर्किंदै ती मूच्र्छित फूलहरूलाई ब्युँत्याउने कोसिस गरिरहेछन् पसले दाइ। 

अनि बाहिरपट्टिको भित्तामा बुवाले काँटी ठोकेर झुन्ड्याउनु भएको रेडियोबाट बज्ने मंगल धुनहरू अहा ! कति प्रिय लाग्थे। अहिले पनि ती धुनहरू बज्छन् म आफ्नो मोबाइलमा पब्जी खेलिरहेको छोरालाई सुनाउन चाहन्छु। तर उस्ले त्यो धुन भित्रै देखि सुन्छ जस्तो मलाई लाग्दैन जसरी मैले पहिले सुन्थे म सोच्छु उस्को हातमा इन्टरनेटजडित जुन मोबाइल छ। त्यो मोबाइलमा सारा विश्व छ। उस्ले जे चाह्यो त्यो खोज्न र हेर्न सक्छ। अहिले म आफैंलाई बेवकुफ ठान्छु। ऊ बेला म बाध्य थिएँ किनकि इन्टरनेटको दुनियाँ त हामीभन्दा कोसौं टाढा थियो। त्यो मंगलधुन त्यहीबेला नसुने फेरि वर्षभरि सुन्न पाउन्नथिएँ। वर्ष दिनमा सुन्न पाएर पनि होला मलाई त्यो धुन अति प्यारो लागेको। तर होइन अहिले पनि मलाई त्यो धुन उत्तिकै प्यारोे लाग्छ र बाल्यकालतिर धकेलिदिन्छ। तर मेरो छोराले त जुनबेला पनि सुन्न सक्छ नि ! यही भएर पनि उस्लाई त्यो धुनले खासै खिच्दैन। समय परिर्वत भनेको यही होला सायद ? समय परिर्वन भएको हो कि मान्छे स्वयं परिवर्तन भइरहेछौ ? समय त आफ्नो रफ्तारमै एक इन्च तलमाथि नभै चलिरहन्छ हैन र ? सायद हामी नै परिवर्तन भयौ होला। हामी मनुष्यहरू ! यसमा समयको के दोष ? समय जति निस्वार्थी र मेहनती को होला यो संसारमा ! 

ऊ बेला गाउँमा तिहारको बेला आआफ्नो वडाबाट क्लब स्थापना गरेर नाचहरू देखाउने गरिन्थ्यो। हाम्रो वडाबाट म पनि नाचमा सहभागी हुन्थे। रेडियोमा सुनेकै भरका गीतहरू क्यासेटमा भरेर रातभरि नाच लिएर खोलाखाल्सी र खेतका आली पार गर्दै पेट्रोलम्याक्स हातमा झुन्ड्याउँदै एकअर्काबाट केही मिनेटको दूरीमा रहेका घरघरमा पुग्थ्यौं। राति अबेरसम्म देउसेभैलेको स्वागतमा सबैजना ढोका खुल्लै राखेर बसेका हुन्थे। बत्ती थिएन तर दियो झलमल्ल बलेर उज्यालो बनेको हुन्थ्यो। गाउँका मानिसको मन त्यो दियोबाट आइरहेको प्रकाश झैं उज्यालो हुन्थ्यो। अहिले लक्ष्मीपूजा गरिसक्नासाथ ढोका बन्द हुन्छन् यो सहरमा। भैले आउँदा झर्काे लाग्छ। म आफैं पनि अछुतो छैन यी सब कुराहरूबाट। सायद सहरिया भैयो होला हावापानीको प्रभाव पर्‍यो होला। लक्ष्मीपूजा सकिँदा केही थान बालेका दियो निभिसकेका हुन्छन्। घर बाहिर झिलिमिली कृत्रिम बत्तीहरूले घर त उज्यालो छ तर मन नि ?

ऊ बेला म आफूलाई यमराजकी बहिनी सम्झेर मक्ख पर्थें। किनकि म ‘यमुना हुँ। त्यो बालापनमा रेडियोबाट यमराज र यमुनाका जति किस्सा सुन्थे उति नै मक्ख पर्थे। भाइटीकाको दिन रेडियोमा दिनभरि बज्थ्यो आज सबै कामकाज छोडेर यमराज यमुनाको घरमा टीका लगाउन जान्छन् रे। आज यमुनाले यमराजको पूजा गर्छिन्। यमुनाको पूजा र भक्तिबाट प्रसन्न भएका यमराजले आज कसैको ज्यान पनि लिँदैनन् रे हजुरआमा यस्तै कहानी सुनाउनु हुन्थ्यो। त्यो बेला म ती कुराहरू सब सत्य ठान्थें। अनि त्यही कहानीमा हराएर आफूलाई साँच्चिकै यमराजकै बहिनी ठान्थे। 

अब ती सब कुराहरू धुमिल याद आउँछ। ऊ बेलाको मंगलधुन, नाच, दियोमा बलेका बत्तीहरू बारीमा फुलेका फूलहरू र आफूले आफूलाई यमराजकी बहिनी सम्झेको क्षण एकादेशको कथा जस्तो लागिरहेछ। आखिर जीवन पनि त एउटा कथा हो। जीवन पढेर नै त कथा लेखिन्छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.