बसको ठक्करबाट देउसी खेल्न हिँडेका २ जनाको मृत्यु, ४ घाइते
हेटौंडा : पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१९ नेवारपानी नजिक शनिबार राति बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। रौतहटको गौरबाट हेटौंडा हुँदै नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको बसले देउसी खेल्न हिँडेका पैदल यात्रुलाई ठक्कर दिएको हो।
बसको ठक्करबाट हेटौंडा उपमहानगरपालिका -१९ नेवारपानीका २० वर्षीयका सुरज विष्ट र चितवन पिप्लेका ३४ वर्षीय प्रेमबहादुर सिंह ठकुरीको मृत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा स्थानीय निशा मोक्तान, तुलसा बिष्ट, लक्ष्मी गुरुङ्ग र संगम नेपाली घाइते भएका छन्। घाइतेहरुको हेटौडा र भरतपुरका अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।
आक्रोशित स्थानीयले बसमा आगजनी गरेका छन्। आगजनीबाट बस पूर्ण रूपमा जलेर नष्ट भएको छ। घटनापछि बसका चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।