चिसो छल्न विद्यालय बेसी झरे
जोमसोम : उपल्लो मुस्ताङका सामुदायिक गुम्बा र निजी विद्यालयहरु हिमपात र चिसो छल्न बेसी झरेका छन्। हिउँदयामको मौसममा उपल्लो मुस्ताङमा अत्यधिक हिमपात र चिसो हुने भएकाले त्यहाँका विद्यार्थीलाई पोखरामा स्थान्तरण गरिएको हो।
जाडो मौसममा उपल्लो मुस्ताङको तापक्रम माईनस २० डिग्री सेल्सियससम्म पुग्ने गर्छ। हिमपात र जाडोका कारण शैक्षिक पठन/पाठनमा समस्या हुने र विद्यार्थीहरुलाई रुघाखोकी र निमोनिया लगायतको स्वास्थ्य समस्या हुँदा विद्यार्थीलाई जाडो महिना अवधिभर पोखरामा राखेर पढाई सञ्चालन गर्ने गरी विद्यालय स्थान्तरण गरिएको लोमान्थाङकी शिक्षा शाखा प्रमुख मिरादेवी शर्माले जानकारी दिईन्। उनका अनुसार पालिकाले नै प्रति विद्यार्थी ३ महिनाको मासिक ३ हजार खर्च व्यवहोर्ने गरी पोखरामा घुम्ती कक्षा सञ्चालन गरिएको बताईन्।
उपल्लो मुस्ताङको लोमान्थाङबाट ३ सामुदायिक, ४ गुम्बा र २ निजी विद्यालय घुम्ती कक्षा सञ्चालनका लागि पोखरा झरेको शिक्षा शाखा प्रमुख शर्माको भनाई छ। उनका अनुसार लोमान्थाङ पालिकाबाट दिव्यदीप मावि छोसेर, राष्ट्रिय आधारभुत लोमान्थाङ र छोनुप झिन्जु आधारभुत विद्यालय छोनुपका ३ सामुदायिक विद्यालय कार्तिक १० गते घुम्ती कक्षाका लागि पोखरा झरेका हुन्।
लोमान्थाङको महाकरुण शाक्यापा गुम्बा, मञ्जुश्री गुम्बा, लो निफुक गुम्बा र पाल नाम्ग्याल गुम्बा विद्यालय पोखरा झरेका छन् भने उनीहरुसँगै लोमान्थाङका २ निजी विद्यालय पनि पोखरा झरेको शिक्षा शाखा प्रमुख शर्माले उल्लेख गरिन्।
लोमान्थाङका सामुदायिक, गुम्बा र निजी गरी झन्डै १ सय ६० जना विद्यार्थीलाई पोखरा झारिएको हो। पालिकाको शिक्षा शाखाका अनुसार दिव्यदीप माविले पोखराको विजयपुर, राष्ट्रिय आधारभुतले पोखराको बेगनास ताल किमबेसी र झिन्जु आधारभुतले पोखराको हेम्जामा नयाँ शैक्षिक सत्रको पढाई सञ्चालन गर्ने जनाएको छ।
यस्तै, उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा सञ्चालित ८ सामुदायिक विद्यालय मध्ये ६ वटा सामुदायिक विद्यालय बेसी झरेको लोघेकर गापाकी शिक्षा शाखा प्रमुख सकुदेवी गर्बुजाले जानकारी दिईन्। उनका अनुसार घुम्ती कक्षाका लागि संघीय सरकारको ३ लाख ५० हजार अनुदान र पालिकाले १५ लाख बजेट विनियोजन गरेको बताईन्।
लोघेकर गापाअन्तर्गत चराङ आवि चराङ,मराङ आवि मराङ, ढाक्मर आवि ढाक्मर, यारा आवि यारा, घारा आवि घारा र शालिग्राम आवि ताङ्रग्या गरी करिव २५ जना विद्यार्थीहरु पोखरा स्थान्तरण गरिएको छ। सो पालिकाले ६ वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई पोखराको हेम्जामा लगेर घुम्ती कक्षा सुरु गर्ने जनाएको छ।
विद्यार्थीलाई गर्मीयाम सूरु भएपछि साविककै स्थानमा लगेर कक्षा सञ्चालन गर्ने गरिन्छ। कात्तिक अगावै चालु शैक्षिक सत्रको परिक्षा सकेर बेसी झरेका विद्यार्थीलाई चैत्र/वैशाख महिनामा उकालो उकालिन्छ। लोघेकर गापाको घमी आवि घमी र जनज्योति आवि घिलिङका विद्यार्थी भने यस वर्ष बेसी झरेका छैनन्। विद्यार्थीको संख्या बढी भएको र बेसी झार्दा कोरोना संक्रमणको जोखिम हुने भएकाले यथास्थान मै राखेर पठन/पाठन गरिएको शिक्षा शाखा प्रमुख गर्बुजाले बताईन्।
वर्षेनि जाडो छल्न बेसी झर्ने विद्यालय कोरोना कहरका कारण विगत २ वर्षदेखि घुम्ती कक्षाका लागि पोखरा झर्न सकेका थिएनन्। उनीहरुलाई कोभिड स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै र जाडोलाई थेग्ने वैकल्पिक व्यवस्था गरी यथास्थानमा कक्षा सञ्चालन गरिएको थियो। चालु वर्ष भने कोरोना जोखिम न्युनिकरण हुँदै गईरहेको र जिल्लामा जारी निषेधाज्ञा खुकुलो भएकाले उपल्लो मुस्ताङका विद्यालयहरु बेसी झारिएको जनाईएको छ।
यस्तै, तल्लो मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-३ छुसाङको जननर्मल आवि पनि घुम्ती कक्षामा झर्ने गथ्र्यो।
उपल्लो मुस्ताङका विद्यालय जाडो मौसममा घुम्तीका लागि बेसी झर्ने परम्परा रहेपनि तल्लो मुस्ताङका विद्यालय पुस र माघ महिनामा बन्द हुन्छन्। वारागुङ, घरपझोङ र थासाङका अधिकांश विद्यालयहरु जाडोयाममा बन्द हुने गर्छ।
हिमाली जिल्लाहरुमा सरकारले मंसिरमा चालु शैक्षिक सत्रको पढाई अन्त्य गरी फागुनको पहिलो हप्तामा नयाँ शैक्षिक सत्रको पठन/पाठन सञ्चालन गर्ने गरिन्छ।