निर्मला र नकुन्नीको घटना अनुसन्धान नाटकीय र फितलो

निर्मला र नकुन्नीको घटना अनुसन्धान नाटकीय र फितलो

काठमाडौं : सरकारले माग पूरा गर्ने भनेपछि अधिकारकर्मी रुबी खानसहित ११ जना घर फर्किएका थिए। नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायको लागि उनीहरू नेपालगञ्जबाट २० दिन पैदल हिंडेर माइती घरमा आन्दोलनमा उत्रिएका थिए।   

गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले सात दिनभित्र घटनाको बारेमा छानविन गरी प्रतिवेदन पेश गर्ने भनेपछि आन्दोलनकारीको मुहारमा खुशी देखिएको थियो। तर जिल्ला प्रहरी कार्यालयले घटनालाई नाटकीय र फितलो तरिकाले अनुसन्धान गरेको रुबी खानले बताएकी छन्। 

बेपत्ता भएकी निर्मला कुर्मीको अनुसन्धानमा झुटो प्रमाण पेश गरिरहेको रुबी बताउँछिन्। निर्मलाको अपहरण तथा शरीर बन्धक बनाउने मुख्य व्यक्ति नै पूर्वसभासद बादशाह कुर्मी नै रहेको आन्दोलनकारीको बयान छ। प्रहरीले जाहेरीमा उल्लेख गरेका ६ जनालाई मात्रै पक्राउ गरेका छन्। प्रहरीले ८० वर्षीय कुबर बब्बन सिंहलाई अदालतले उमेर हदम्यादका कारण साधारण तारिखमा पक्राउ गरेनन्। बादशाहलाई हाजिरी जमानतको कारण देखाउँदै प्रहरीले छाडेका छन्। 

छानबिन समितिले प्रतिवेदन बुझाएपछि त्यसकै आधारमा बाँके प्रहरीले अनुसन्धान सुरु गरेको थियो। बादशाहलाई सरकारी वकिल कार्यालयले बयान लिइरहेको र उनलाई बाहिरबाटै अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता तथा सुचना अधिकारी मधुसुदन न्यौपानेले जानकारी दिए। 

न्यौपानेका अनुसार एक महिनाअघि नै भारतको जगन्नाथपुरका अर्जुन कुर्मीले २०६८ सालमा निर्मलालाई विवाह गरेका थिए। विवाह गरेको एक वर्ष नबित्दै निर्मला र अर्जुनलाई जग्गाको लागि भनेर निजामुधीनले नेपाल बोलाएका थिए। यसै क्रममा निर्मलाको जग्गा हडेपेको न्यौपानेले बताए। रुबीको जाहेरीमा भने निजामुधीनको नाम उल्लेख नभएको र अर्जुनको बयानमा भने उल्लेख भएको न्यौपानेले जानकारी दिए। न्यौपानेले भने, ‘जसले गल्ती गरेको छ उसको नाम चाहीँ जाहेरीमा छैन। निर्मला भनेर नचिन्नेको चाहीँ नाम उल्लेख छ।’ अनुसन्धानको क्रममा प्रहरीले २ जना महिला र ४ पुरुषलाई पक्राउ गरेको छ। 

अनुसन्धान अघि बढिरहेको र निजामुधीनलाई पनि छिट्टै पक्राउ गरिने उनले बताए। सरकारी कार्यालयले पठाएको भएर नै निर्मला र नकुन्नीको मुद्दा दर्ता भएको उनले बताए। 

त्यस्तै नकुन्नी धोबीको पनि हत्या नभइ आत्महत्या नै रहेको न्यौपाने बताँउछन्। डाक्टरको पोष्टमार्टम रिपोर्टले पनि नकुन्नीको झुण्डिएर नै आत्महत्या गरेको जनाएको छ। नकुन्नीले मृत्यु अघि प्रहरी कार्यालयलाई पनि श्रीमानले घरेलु हिंसा गरेको भन्दै उजुरी दिएको भएर नै अहिले श्रीमानलाई आत्महत्या दुरुत्सानको मुद्दामा पक्राउ गरिएको उनले बताए। 

पीडित पक्षको जाहेरीमा भने कर्तव्य ज्यान भनेर मुद्दा दर्ता गर्नुपर्ने बताइएको थियो। तर यस घटनालाई कर्तव्य ज्यान नभइ आत्महत्या दुरुत्सान नै भनेर अनुसन्धान अघि बढाइएको न्यौपानेले बताए।   

२०६८ सालमा कृष्णचन्द्र घिमिरे जिल्ला प्रमुख हुँदा निर्मलाको भारतमा कोहीसँग विवाह नभएको र कोहीसँग सम्बन्ध नभएको भनेर निर्णय गरेको हालका प्रमुख सुर्यबहादुर खत्रीले जानकारी दिए। तर एक महिनाअघि मात्रै निर्मलाको श्रीमान रहेको भन्दै विवाहको फोटोसहित अर्जुनले बयान कागज गरेर गएको खत्रीले बताए। खत्रीले भने, ‘मेरो श्रीमती निर्मलाको हत्या नभइ कालगतिले मरेको हो भनेर बयान दिएपछि त्यो भन्दा ठूलो प्रमाण के हुन्छ र ?’ अर्जुनले नै प्रहरीमा बयान दिँदै विवाहको फोटोसहित मृत्युदर्ताको प्रमाण दिएर गएको खत्रीले बताए। 

फितलो र सामान्य तरिकाले  घटनाको अनुसन्धान गरिरहेको रुबीको दाबी छ। रुबीले भनिन्, ‘यस्तै तरिकाले अनुसन्धान गर्ने हो भने दोषीलाई कारबाही नहुने र फेरि हामी आन्दोलनमा उत्रिने छौं।’ 

निर्मला कुर्मीको घटनाको आरोपितहरूले तयार पारेका डकुमेन्टहरू प्रहरीले सार्वजनिक गरेको रुबीको आरोप छ। ‘सबै नाटकीय रुपमा देखाइरहेका छन्। जुन किसिमले निर्मला कुर्मीको हत्यालाई मजाक बनाइरहेका छन्। यो बडा दुखको कुरा हो। अहिलेसम्म हामीले आवाज उठाइरहेका थियौं । त्यो बेला प्रहरीले कुनै डकुमेन्ट निकालेका थिएनन्', उनले भनिन्, 'केही कागजपत्र छैन, अनुसन्धान गर्दै छौं भनेर पन्छिन खोजेका थिए। जब आन्दोलन सुरु भयो तब अभियुक्तलाई छोडियो। त्यही बेला उनीहरूले आफ्नो पक्षमा डकुमेन्टहरू तयार पारे। त्यसपछि यसलाई नै प्रहरीले प्रमाण भनेर देखाइरहनु भएको छ।’ 

प्रहरीको प्रतिवेदन चित्त बुझ्दो नभएको रुबीले अन्नपूर्णलाई बताइन्। २४ घण्टाभित्र प्रहरीले सही तरिकाले अनुसन्धान नगरे र बादशाहलाई पक्राउ नगरे पुनः आन्दोलनमा आउने तयारी रहेको उनले जानकारी दिइन्। 

त्यस्तै नकुन्नी धोबीको मृत्यु प्रकरणसम्बन्धी अनुसन्धान पनि प्रहरीले फितलो नै गरेको रुबीले बताइन्। प्रहरीले नकुन्नीको मृत्यु प्रकरणको आरोपमा उनका श्रीमान र जेठाजुलाई मात्रै पक्राउ गरेको छ। ५ जनाको जाहेरी दिएकोमा प्रहरीले ३ जनाको नाम हटाउन पिडित पक्षलाई भनिएको रुबीले जानकारी दिइन्। आन्दोलनकारीहरूको अनुसार भने पाँच जना नै घटनाको आरोपित रहेको र ती सबैलाई कारबाही गर्नुपर्ने छ। 

जग्गा र सन्तान नभएकै कारण निर्मला र नकुन्नीको मृत्यु 

रुबी खानको टोली जिल्ला प्रशासन कार्यालय अगाडि १९ दिन धर्ना बस्दा पनि मागको सुनुवाइ नभएपछि राजधानी आउन बाध्य भएका थिए। 
नकुन्नी धोबीको आत्महत्या नभइ परिवारबाट हत्या भएको आन्दोलनकारीको दाबी छ। आन्दोलनमा आएकी महिला अधिकार मञ्चकी सदस्य सकिना तेली नकुन्नी एक घरेलु हिंसा पीडित भएको बताउँछिन्। 

दाइजो नदिएको कारण र सन्तान नभएको कारण नकुन्नीलाई परिवारले यातना दिएर हत्या गरेको सकिनाको दाबी छ। असार ७ गते नै महिला अधिकार मञ्चमा आएर नकुन्नीले आफूमाथि परिवारले यातना दिइ कुटपिट समेत गरेको भनेर निलडामसहित निवेदन दिएकी थिइन्। 

नकुन्नीको कहिले पनि सन्तान नहुने भनेपछि उनले पहिलो श्रीमानसँग सहमतिमा नै सम्बन्ध विच्छेद गरेकी थिइन्। त्यसपछि उनी माइती घरमा नै बसिराख्दा नै रामकुमार धोबीले हात माग्न आएका थिए। नकुन्नीको सन्तान हुँदैन भन्ने कुरा थाहा पाएर पनि रामकुमारले आफूलाई सन्तान नभइ बिहानबेलुका रोटी पकाएर हेरचाह गर्ने र जीवनसाथी चाहिएको बताएका थिए। 

त्यसपछि नकुन्नीले पनि सहमतिमा नै विवाह गरिन्। नकुन्नी रामकुमारको तेस्री श्रीमती हुन्। विवाह गरेको केही वर्ष उनीहरूबीच राम्रै भयो। तर सातवर्ष पछि उनलाई दाइजो नदिएको भन्दै सन्तान समेत नभएको भनेर गालीगलैज मात्रै नभएर कुटपिट समेत गरेको सकिना बताउँछिन्। 

विष, डोरी लिएर रामकुमारले नकुन्नीलाई मर्न भनेर बारम्बार भन्दै आएको नकुन्नीले मर्नु अघि मञ्चमा जानकारी गराएकी थिइन्। 
निवेदन दिएको केही हप्तापछि महिला अधिकार मञ्चमा नकुन्नीको फोन आयो। सकिनाले नै फोन उठाएकी थिइन् त्यो दिन। सकिना भन्छिन्, ‘असार २२ गतेको दिन नकुन्नीले दिदी घरबाट श्रीमानको फोन आएको छ। खुशी हुँदै घर आऊ भन्नुभएको छ। म त अब घर जान्छु भनेपछि हामीले पनि राम्रोसँग जानु घर केही भयो भने फोन गर्नु भन्यौं। नकुन्नीको घर जाने बाटो मञ्चको सचिवालयतिर नै थियो। घर जाने क्रममा हामीले उहाँलाई सम्झाएर केही परे सम्पर्क गर्नु भनेका थियौं। त्यसपछि उहाँ घर जानुभयो।’

साउन ६-७ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि तपाईंको श्रीमानलाई छलफलको लागि बोलाउने भनेर उनी घर गएकी सकिनाले बताइन्।   

माइतीले मोटरसाइकल दाइजो नदिएको भन्दै नकुन्नीलाई श्रीमान्ले कुटपिट गर्दै आएको सकिनाले बताइन्। तर नकुन्नीले भने आफूलाई श्रीमानले जति भने पनि नमर्ने बताउँदै आएको सकिना बताउँछिन्। 

साउन ५ गते राती नकुन्नीको कानबाट रगत बगिरहेको, नाक, मुखबाट रगत बगेको, शरीरमा चितोरेकोसँगै झुन्डिएको अवस्थामा घरभित्र शव फेला परेको थियो। झुन्डिएर मरेको व्यक्तिको कानबाट रगत नआउने र पहिलेदेखि कुटपिट गरेको कारण परिवारले नकुन्नीको हत्या गरेको महिला अधिकारकर्मीको दाबी छ।  

'उचाइ कम भएको कारण १०-१२ फिटमाथि नकुन्नीले पासो लगाउन नसक्ने उनी कसरी आफैँ मर्न सक्छिन्, मर्नुभन्दा पहिले हामीलाई आफू नमर्ने भनेकी पनि थिइन् भनेर हामीले प्रहरी प्रमुखलाई बारम्बार भनेको थियौं तर उनीहरूले सुनेनन् र घटनाको अनुसन्धान पनि गरेनन्', सकिना बताँउछिन्। 

त्यसपछि आफूहरू आन्दोलनमा नै उत्रिनुपर्ने निर्णयमा पुगेका उनले बताइन्। धर्ना बसेको १५ दिनपछि नकुन्नीको श्रीमानलाई पक्राउ गरेको सकिना बताउछिँन्।

बेपत्ता रहेकी निर्मला कुर्मी एकल महिला हुन्र। उनको वंश नै नाश भएको छ। निर्मलाको श्रीमानको पनि ०६२ मा नै मृत्यु भयो। त्यसपछि छोराहरू रामसागर र सुरेशको पनि श्रीमान बितेको चार वर्षपछि मृत्यु भयो। 

केही रोग नभएको कारण मृत्यु भएपछि पोष्टमार्टन गर्नेभन्दा संविधान सभाका सदस्य बादशाह कुर्मीले हस्तक्षेप गरेको आन्दोलनकारीहरू बताउँछन्। बादशाह भनेको निर्मलाको छिमेकी हुन्। निर्मलाको अपहरण गरी शरीर बन्धक गरेको भनेर अधिकारकर्मीले कर्तव्य ज्यानको कसुरमा १२ जनाविरुद्ध एक वर्षअघि नै जाहेरी दर्ता गरेका थिए। धेरै महिना हुँदा पनि घटनाको बारेमा प्रहरीले छानबिन गरेको थिएनन्।  प्रहरीले न जाहेरी परेकालाई पक्राउ गर्‍यो नै न त घटनाबारे अनुसन्धान नै अघि बढाए। प्रहरीले बेवास्ता गरेपछि नै अधिकारकर्मीहरूले आन्दोलनमा उत्रिएका थिए। 

मञ्चकी सदस्य सकिनाका अनुसार उनीहरूले सरकारी वकिल कार्यालयमा समेत जाहेरी दर्ता गराएका थिए। तर त्यहाँबाट पनि घटनाको सुनुवाइ नभएको कारण नै कांग्रेसका नेतासमेत रहेका कुर्मी नै रहेको अधिकारकर्मीहरूको गुनासो छ। तर प्रहरीले निर्मलालाई बन्धक बनाउनुमा बादशाहको हात नरहेको उनीहरुले बताएका छन्। 

निर्मला बेपत्ता भएपछि बादशाह लगायत धिरेन्द्र सिंह, रमेश थापा, कृष्णमुरारी सिंह, पार्वती विष्ट, उर्मिला कनोजियासहित ८ जना र अन्य चारजना विरुद्ध जाहेरी दिएका थिए। तर प्रहरीले कसैलाई पनि पक्राउ नगरेको उनीहरूले बताए। सम्पत्तिको कारण नै निर्मलालाई बेपत्ता पारिएको आन्दोलनकारी बताँछन्। श्रीमान र छोराहरूको नाममा रहेको जग्गाको लालपूर्जा, नागरिकता समेत बादशाहले कब्जा गरेका थिए। त्यस्तो गरेपछि निर्मलाले न्यायको लागि प्रशासनसम्म पुगिन्। तर बादशाहले भने गाँउमा नै निर्मलामाथि दुर्व्यवहार गर्न थाले। त्यसपछि निर्मलालाई बेपत्ता पारिएको आन्दोकारीहरूको दाबी छ । बादशाहले निर्मलालाई जग्गाकै निउँमा साइकलको चेनले कुटेको समेत निर्मलाले बेपत्ता हुनुअघि बताएको रुबीले बताइन्।  

 मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा नै सरकारले ६ छानबिन समिति गठन गरेको लिखित सहमति जनाएको थियो।  सहमतिसँगै १२ दिनदेखि आमरण अनसन बसेकी रुबीले मंगलबार अनसन तोडेकी थिइन्। 

मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी र मन्त्रालयका प्रवक्ता पोखरेलले रुबीलाई जुस खुवाएर अनसन तोडाएका थिए। न्यायकै लागि २० दिन नेपालगञ्जबाट पैदल यात्रा गरेर ११ जना महिला र तीन जना पुरुष काठमाडौं आएका थिए। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.