जोमसोम-कोरला सडक स्तरोन्नति अन्तिम चरणमा
जोमसोम : उत्तर-दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजना, कालिगण्डकी करिडोरअन्तर्गतको जोमसोम-कोरला सडक अन्तिम चरणमा पुगेको छ। जोमसोम-कोरला ११० किमी सडकको ७ खण्ड मध्ये हालसम्म ६ खण्डको काम आयोजनालाई हस्तान्तरण गर्ने तैयारी भईरहेको जनाईएको छ।
उत्तरी छिमेकी देश चीनको स्वशासितक्षेत्र तिब्बतसँग सीमा जोडिएको कोरला सडक पहुँचमार्ग विस्तार गर्ने उद्देश्यले आर्थिक वर्ष ०७३-०७३ साल असारदेखि दुई लेनको ग्राभेल सडकको निर्माण कार्यअघि बढाईएको थियो। जोमसोम-कोरला सडक स्तरोन्नतिका लागि २ अर्ब ६ करोड बजेट विनियोजन भएको थियो।
मुस्ताङको जोमसोमदेखि झैतेसम्मको ५२ किमी ४ खण्ड र झैतेदेखि कोरलासम्म ५८ किमी सडकको ३ खण्डमा काम भएकोमा जोमसोम-कोरला सडकको छैटौ खण्डको काम कन्ट्रक्सनको ढिलासुस्तीका कारण अलपत्र परेको छ।
कालिगण्डकी करिडोर, बेनी-जोमसोम-कोरला सडकका आयोजना प्रमुख जगत प्रजापतीका अनुसार जोमसोम-ताङ्वे १८ किमी सडक बज्रगुरु खड्गकृष्ण जेभी, ताङ्वेदेखि चैलेसम्म ११ किमी सडक दिवाडाफे एपेक्स जेभी, चैलेदेखि भेनासम्म ११ किमी कन्टेक कान्छाराम कोशी एण्ड न्यौपाने जेभी र भेनादेखि झैतेसम्म १२ किमी सडक कञ्चनजंघा लामा बिल्डर्स विरुवा जेभीले सडक स्तरोन्नतिको जिम्मा लिएका थिए। जिम्मा लिएका सबै निर्माण कन्ट्रक्सनले काम सम्पन्न गरेको आयोजना प्रमुख प्रजापतीले बताए।
यस्तै, झैते-चराङ १९ किमी सडक कञ्चनजंघा लामा मोतिदान जेभी, चराङदेखि छोसेर २५ किमी सडक तामाङ गौरी पार्वती कोशी एण्ड न्यौपाने जेभी र छोसेर-कोरला १४ किमी सडक स्तरोन्नतिको जिम्मा रौटाहा एपेक्स जेभी कन्ट्रक्सनले लिएका थिए। जसमध्ये कञ्चनाजंघा लामा मोतिदान र रौटाहा एपेक्स जेभी कन्ट्रक्सनले सडक निर्माण सम्पन्न गरी करिडोरलाई हस्तान्तरण गरेको आयोजना प्रमुख प्रजापतीले जानकारी दिए।
आयोजना प्रमुख प्रजापतीका अनुसार ७ खण्ड मध्ये ६ खण्ड पुरा भएको र चराङ-छोसेर १ मात्र खण्ड निर्माण कन्ट्रक्सनको ढिलासुस्तीले सम्पन्न हुन नसकेको बताए। उनका अनुसार चराङ-छोसेर २५ किमी सडक विगत ३ वर्षदेखि काम हुन नसकेको हो। उक्त खण्डको लागि २४ करोड बजेट विनियोजन भएकोमा १५ करोडको काम भईसकेको आयोजना प्रमुख प्रजापतीको भनाई छ।
'चराङ-छोसेर सडकको ६५ प्रतिशत काम भईसकेको छ, अब ३५ प्रतिशत मात्र काम बाँकी हो, ‘आयोजना प्रमुख प्रजापतीले भने, ‘चराङमा कुलो र ढलको काम बाँकी छ, अरु ठाउँमा कटिङ र फिनिसिङको काम मात्र बाँकी हो।’ लामो समयदेखि सो खण्डमा कन्ट्रक्सनले सडक निर्माणमा बेवास्ता गरेकाले कन्ट्रक्सनको नाममा जम्मा भएको १ करोड ९ लाख रुपैयाँ ठेक्का मोबिलाईजेशन आयोजनाको खातामा फिर्ता ल्याईएको आयोजना प्रमुख प्रजापतीले बताए। भौतिक पूर्वाधार मन्त्रालयले कोभिडका कारण उक्त कन्ट्रक्सनलाई यही चैत्र महिनाभित्र काममा फर्किन अल्टिमेटम दिएको छ।
सरकारले दिएको अवधिमा कन्ट्रक्सन काममा नफर्किएमा ठेक्का सम्झौता रद्द गरी नयाँ ठेक्का सम्झौताको प्रक्रिया अघि बढाईने आयोजना प्रमुख प्रजापतीले जनाए। ‘हामीले जेभीको अर्को पार्टनरलाई काममा फर्किन ताकेता गरेका छौं, यदी काममा नफर्किएर अर्को विकल्पमा जान्छौं’, आयोजना प्रमुख प्रजापतीले भने।’
राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत जोमसोम-कोरला सडकको सबैभन्दा चुनौतीपूर्ण स्थानमा सडक स्तरोन्नति गर्ने काम सकिएको छ। आयोजनाका अनुसार समरको भीर, झो खोला र घ्याकरको अप्ठ्यारो सडकमा निर्माण कार्य सम्पन्न भईसकेको छ।
घ्याकरमा सडक मापदण्ड अनुसार ग्रेड मिलान गरेर वैकल्पिक सडक निर्माण भईसकेको आयोजना प्रमुख प्रजापतीले जानकारी दिए। ‘अब उपल्लो मुस्ताङको सडक लगभग कम्प्लिट भईसकेको छ, एकाध स्थानको काम मात्र बाँकी छन्। कन्ट्रक्सन काममा फर्किएमा त्यो पनि २ महिना भित्रै पुरा हुने सम्भावना छ’, उनले भने। उनले जोमसोम-कोरला सडक सहज भएसँगै बससमेत चल्न थालेको जानकारी दिए।