महामारीले थलिए मुर्ति व्यवसायी, डेढ वर्षमा अर्ब बढी घाटा
काठमाडौँ: ललितपुर ग्वार्कोका पुर्न महर्जन मुर्ति कुद्ने काम गर्छन्। उनले विसं २०४४ सालबाट मुर्ति कुद्ने काम सुरु गरे। ‘पूर्व व्यवसाय’ नामक किताबले उनलाई यो काम गर्न प्रेरित गरेको थियो।
यो कामको थालनी गर्दा उनी भर्खर २० वर्ष टेकेका थिए। उनले साहुको घरमा बसेर काम सिके। त्यहाँ बसेर उनले मुर्तिका विभिन्न डिजाइनहरु सिके। आकर्षक डिजाइनहरु आफैँले गर्न सक्ने भएपछि उनलाई उद्यम गर्न मन लाग्यो। तबसम्म उनले कच्चा पदार्थ ल्याउनेदेखि मुर्तिका मूल्यहरुबारे जानकार भइसकेका थिए।
अन्ततः लगानीभन्दा आम्दानी बढी भएपछि उनले पाँच वर्षपछि यही पेसामार्फत् मालिक बन्ने सोँच बनाए। तामाको मूल्य सस्तोमै पाइने भएकाले कम लगानीमै काम गर्नसक्ने उनलाई थाहा थियो। उनले आफूले सकेको काम गरे। धेरै काम भएपछि कामदारहरु राखे। उनले ७-८ जनालाई रोजगारी दिए।
केही वर्षपछि विभिन्न कारणले तामाको मूल्य आकाशिँदै गयो। तामाको मूल्य महँगो भएपछि यो व्यवसायमा पुर्नलाई चुनौती पनि थपिँदै गयो। ‘पहिले तामाको मूल्य प्रतिकिलो १२० रुपैयाँ थियो। अहिले प्रतिकिलो १३ सय पर्छ,’ उनले दुखेसो सुनाए।
कोरोना महामारीले थलिए व्यवसायी
कोरोना महामारीका कारण सरकारले निषेधाज्ञा जारी गरेपछि कामदारहरु सहर छाडे। केही कामदार सधैँका लागि पलायन पनि भए। महामारीमा कुनै ‘प्रि अर्डर’ आएन। अर्डर नआएपछि काम हुने कुरै भएन, किनकि सबै काम ‘प्रि अर्डर’पछि बल्ला सुरु हुन्छ। त्यही कारणले पुर्नले करिब डेढ वर्ष कारखाना नै बन्द गरे।
‘गुम्बाको लागि बौद्ध धर्मावलम्बीहरुले मुर्तिको अडर दिने गर्थे। वर्षमा १० वटासम्म मूर्ति बनाउँथे। तर लकडाउनमा एउटा अर्डर पनि आएन,’ पुर्नले भने। एउटा मुर्ति बनाउन एकदेखि तीन महिनासम्म लाग्ने गरेको पुर्नले बताए। ‘मुर्तिको साइज र डिजाइनअनुसार कति समय लाग्छ भन्ने हुन्छ,’ उनले भने।
उनी आफैँले मुर्ति ढाल्ने भएर पनि होला अरु व्यवसायीजस्तो उनलाई त्यति घाटा लागेन। मुर्तिको डिजाइन गरेर माटोभित्र तामा राखेर आगोमा मोलेर बनाउनुलाई ढाल्ने भन्ने गरेको पुर्नले बताए।
यसअघि उनले भारतले गरेको नाकाबन्दी र नेपालमा गएको भूकम्प बेला व्यापारमा ठूलो घाटा व्यहोरेका थिए। नाकाबन्दी हुँदा उनले भारतमा मूर्ति किनबेच नभएको र आवश्यक औजारसमेत ल्याउन नसकेको बताए। यता भूकम्पमा तातोपानी नाका बन्द हुँदा पनि चीनबाट हुने कारोबार ठप्प भएको थियो।
सरकारबाट पनि साथ सहयोग भएन : व्यवसायी
ललितपुर हस्तकला महासंघका सहायक निर्देशक सुरेन्द्र बज्राचार्यले नेपालबाट करिब दुई अर्ब रुपैँया बराबरको मुर्ति विदेश जाने बताए। कोराना महामारीका समयमा मुर्ति व्यवसायीहरुलाई एक अर्ब घाटा लागेको उनले बताए।
उनका अनुसार नेपालबाट उच्च स्तरका मुर्तिहरु बाहिर जाने गर्छन्। पछिल्लो समय नेपालमा उत्पादन हुने कम गुणस्तरका मुर्तिहरु विदेशमै उत्पादन हुन थालेको उनले बताए। त्यसले पनि नेपालबाट गुणस्तरीय मुर्तिहरुमात्र निर्यात हुने गरेको उनले बताए।
महासंघका अध्यक्ष सुरेन्द्र शाक्यले कोरोना महामारीका कारण मुर्ति व्यवसायीहरुलाई धेरै घाटा लागेको बताए। पुराना मुर्ति व्यवसायीभन्दा पनि नयाँ मुर्ति व्यवसायीहरु बढी मारमा परेको उनले बताए। उनका अनुसार अहिले २२ वटा देशहरुमा नेपालबाट उत्पादित मुर्तिहरु निर्यात हुन्छन्।
ललितपुर हस्तकला संघका निवर्तमान अध्यक्ष श्याम तण्डुकारले कोरोना महामारीको समयमा मुर्ति व्यवसायीहरुको लागि संस्थाले ऋण दिएको बताए। तण्डुकार आफैँ मुर्ति व्यवसायमा संलग्न छन्।
तामाबाट बनेका मुर्तिलाई तामाको लेपन लगाएर उनले बिक्री वितरण गर्छन्। उनले नेपालमा मात्र मुर्ति बेचेर नपुग्ने बताए। त्यसका लागि देश बाहिर पनि बिक्री वितरण गर्ने गरेको बताए। लगानी उठाउनका लागि भए पनि मूर्तिहरु विदेशमा बिक्री वितरण गर्ने गरेको उनले बताए। ललितपुरमा ७५ प्रतिशत व्यक्तिहरु मुर्ति व्यवसायमा आबद्ध रहेको उनले बताए।
ललितपुरकै राकेश अवाले पनि मुर्ति व्यवसायी हुन्। उनले तीन हजारको लगानीमा मुर्ति व्यवसाय सुरु गरेका थिए। लगानीभन्दा आम्दानी बढी भएपछि राकेश पनि यो व्यवसायमा लागेका हुन्। उनले यो व्यवसायमा लागेको ४६ वर्ष पुगिसक्यो। उनी आफ्ना बाबु कालु कुम्हाबाट प्रभावित भएर मुर्ति व्यवसायमा लागेका थिए।
मुर्ति व्यवसायलाई कोरोना महामारीले निकै असर पुर्याएको उनले बताए। महामारीका कारण कति अर्डरहरु रोक्नुपरेको उनले बताए। महामारी कम भएसँगै उनले मूर्तिका केही अर्डरहरु लिएका छन्। अवाले अहिले अर्घाखाँचीको भवानी मुर्तिको डिजाइन गरेर सकाएका छन्। बुद्धिजम आइटमका मुर्तिहरुले बढी मात्रामा बजार पाउने उनको भनाइ छ।
थलिएको मुर्ति व्यवसायलाई उकास्न सरकारी नियकाबाट कुनै प्रकारको साथ सहयोग नभएको उनको भनाइ छ।