संगीत र समाजसेवा सँगसँगै
काठमाडौं : संगीत र समाजसेवालाई सँगसँगै अघि बढाउन मेहनत गरिरहेका युवा हुन्, निवेश (लोगाङ) रेग्मी। काठमाडौंका स्थायी बासिन्दा निवेश कोरोना महामारीका कारण गरिएको लकडाउनले सहरी क्षेत्र ठप्प भएको समयमा तराईका गाउँगाउँ पुगे। धनुषा, सिरहा, महोत्तरीलगायतका जिल्लामा लकडाउनका कारण रोजगारी गुमाएका मजदूर र विपन्न समुदायलाई आफूले सक्ने सहयोग गरे। यसैगरी जनकपुरमा विद्यालय जानबाट बञ्चित बालबालिकालाई विद्यालय पुर्याउन पनि उनी खटिए।
काठमाडौंमै पनि धेरै बिरामी र असहायलाई उनले सहयोग गरेका छन्। बिरामीलाई अस्पताल पुर्याउनदेखि औषधि उपचारका लागि उनले निरन्तर सहयोग गरे। ‘कोरोना र लकडाउनका कारण समस्यामा परेका धेरैलाई सहयोग गरेको छु’, निवेश भन्छन्, ‘विभिन्न अस्पतालमा उपचार खर्च तिर्न नसकेका बिरामीहरूको रकम धेरै पटक तिरिदिएको छु।’
उनले आधा दर्जन नेपाली र अंग्रेजी गीत पनि गाएका छन्। सबै गीतमा शब्द र संगीत उनकै छ। अहिले सबैतिर नकारात्मक कुराले मात्र प्रश्रय पाइराखेकाले कलाकारहरूले सकारात्मक उर्जा जगाउनु पर्ने उनी बताउँछन्। ‘अहिले सबैतिर निरासा र बेथितिका खबर फैलिरहेका छन्’, उनी भन्छन्, ‘यस्तो बेला हामी कलाकारहरूले सकरात्मक उर्जा प्रवाह हुने प्रकृतिका खुराकहरू दिनुपर्छ।’ निवेशको आफ्नै म्युजिक स्टुडियो छ। त्यहाँ संगीतमा रुची भएका विपन्न युवाहरूलाई संगीत सिकाउने योजना उनले बनाएका छन्।