अध्यक्षले दिए विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री
सिन्धुली : यहाँका विपन्न बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको छ। कमलामाई नगरपालिका ५ का वडा अध्यक्ष पूर्णबहादुर खड्काले कमला जनज्योति मावि सिलामेका २९ जना विद्यार्थीलाई स्टेशनरी सामाग्री प्रदान गरेका हुन् ।
आर्थिकरुपमा विपन्न बालिबालिका ड्रेस, कपि, कलम पेन्सील अभावमा विद्यालय आउन छाडेपछि अध्यक्ष खड्काले व्यक्तिगत लगानीमा विद्यालयमानै पुगेर स्टेशनरी सामाग्री प्रदान गरेका हुन्। विद्यालयका प्रध्यानध्यापक विष्णु प्रसाद फुयाँलका अनुसार कक्षा १ देखि कक्षा १० सम्मका २९ जना बालबालिकालाई अध्यक्ष खड्काले एक वर्षसम्म पुग्ने गरी स्टेशनरी सामाग्री सहयोग गरेका हुन् ।
‘विद्यालयमा अध्ययन गर्न आउने अधिकांश दलित, जनजाती बालबालिकाले कपी कलम समेत किन्न नसकेर विद्यालय छोड्दै गएका थिए । उनीहरुको पढाइमा समस्या नहोस् भन्नका लागि अध्यक्षसँग गुनासो गरेका थियौं, उनले २९ जना विद्यार्थीलाई व्यक्तिगतरुपमा सहयोग गर्नुभयो,' फुयाँलले भने ।
सामान्य सहयोग नपाउदा पढाइबाट कुनै पनि बालबालिकाले बञ्चित नहोऊन भनेर सानै भएपनि सहयोग गरेको अध्यक्ष खड्काले बताए। कमला जनज्योति मावि सिलामेमा हाल चार सय बढी विद्यार्थी अध्ययनरत छन् ।
वडा अध्यक्ष खड्काले गत वर्ष कमलामाई नगरपालिका ५ मै रहेको जनज्योति मावि फोस्रेटारका ५४ बालबालिकालाई एक–एक जोर न्यानो कपडा व्यक्तिगत खरिद गरेर प्रदान गरेका थिए। वडाअध्यक्ष खड्काको सामाजिक भावको अभिभावले प्रसंशा गरेका छन् ।