धौलागिरी आधार शिविरबाट ८ विदेशीसहित १७ नेपाली गाइडको उद्दार
जोमसोम :बाँक्लो हिमपात र मौसम प्रतिकुलताका कारण धौलागिरी आधार शिविरमा अलपत्र ८ विदेशीसहित १७ जना पर्यटक पथ प्रर्दशकको आइतबार बिहान हेलिकोप्टरबाट उद्दार गरिएको छ । उनीहरु सबैको हेलिमार्फत उद्दार भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार धौलागिरी आधार शिविरबाट बेल्जियमका ४ जना,स्पेनीस ४ जना र १७ जना नेपाली पथप्रदर्शक गाइडको उद्दार गरिएको हो ।उनीहरुलाई धौलागिरि आधार शिविरको हिडन भ्यालीबाट जोमसोम ल्याइ सकुशल हेलि उद्दार गरिएको हो ।
धौलागिरि आधार शिविर हिँड्न भ्यालीमा अलपत्र परेकामध्ये दुई समूहले ट्राभल एजेन्सीको समन्वय गरेका थिए भने अर्को एक समूह भने आफूखुसी बिना पथप्रदर्शकसहित धौलागिरि चर्किय पदयात्रामा निस्किएका थिए ।
जसमध्ये २ जना पुरुष र २ महिला गरी ४ जना बेल्जियम पर्यटक र दुईजना स्पेनीस पुरुष पर्यटकले ट्राभल एजेन्सीमार्फत त्यहाँ पुगेका थिए भने अर्को २ जना स्पेनीस पर्यटक बिना प्रथप्रदर्शक आधार शिविर पुगेका थिए ।
प्रहरीका अनुसार बिनापथ प्रदर्शक, बिना ट्राभल एजेन्सीको समन्वय गरी आधार शिविर पुगेका पर्यटकको समेत स्थानीय प्रशासन ,गृह मन्त्रालय र सम्बन्धित दूताबासको समन्वय गरी उद्दार गरिएको हो । मौसम प्रतिकुलतासँगै बाक्लो हिमपातका कारण पदमार्ग पहिल्याउन नसक्दा आधार शिविरको हिँडन भ्यालीमा दुई दिनसम्म अपलत्र परेको ट्रेकिङ तथा माउन्टेन पथप्रदर्शक फुर्वा शेर्पाले जानकारी दिए ।
उनका अनुसार म्याग्दीको धारापानीबाट सुरु गरिएको धौलागिरी चर्किय पदमार्गमा यात्रा गर्ने क्रममा धौलागिरी आधार शिविरहुँदै फ्रेन्च पास भएर ५३ सय मिटर अग्लो उचाइमा अवस्थित हिँडन भ्याली आइपुग्दा बाक्लो हिमपात भएको र हिमपातका कारण गन्तब्य पहिल्याउन नसकी २ दिनसम्म त्यही अलपत्र परेको बताए ।
माउन्टेन पथप्रदर्शक फुर्वा शेर्पाका अनुसार धौलागिरी चर्किय पदमार्ग गर्ने उद्देश्यले आफ्नो ४ जना बेल्जियमका पर्यटकले नोभेम्बर ८ तारिख र अर्को एक दुई जनाको स्पेनीस समूहले नोभेम्बर ११ तारिखमा काठमाडौंबाट सो क्षेत्रमा प्रस्थान गरेका थिए ।
माउन्टेन पथप्रर्दशक शेर्पाले धौलागिरी चर्किय पदयात्रा गर्ने क्रममा धौलागिरीको इटालियन आधार शिविरसम्म मौसम सफा रहेको र त्यहाँबाट जापानीज आधार शिविर हुँदै धौलागिरी आधार शिविरसम्म सकुशल यात्रा भएको शेर्पाले बताए ।
तर, त्यहाँबाट फ्रेन्च पास हूँदै हिँडन भ्याली आइपुग्दा हिमपात सुरु भएको उनले खुलाए । ‘धौलागिरी क्षेत्रको फ्रेन्च पास ,थापा पास ,बतासे डाँडाहुँदै मुस्ताङको मार्फा निस्किने योजना थियो, पथप्रर्दक शेर्पाले भने, ‘ तर, फ्रेन्च पास क्षेत्रमा बाक्लो हिमपात र मौसमको खराबीले पदयात्राको अन्तिम बिन्दुमा आएर असफल भयो ।’
यसअघि कार्तिक ७ गते म्याग्दी र मुस्ताङको सीमाक्षेत्र याकखर्कबाट जर्मनका ४ विदेशी पर्यटकको उद्दार गरिएको थियो । उनीहरु डोल्पा हुँदै मुस्ताङ आउने क्रममा बाक्लो हिमपात परेपछि गन्तब्य पहिल्याउन नसक्दा अलपत्र परेका थिए ।
यस्तै,कार्तिक १५ गते धौलागिरि आधार शिविरमा पदयात्रा गर्ने क्रममा सो क्षेत्रमा हिमपात हुँदा २ जना स्पेनीससहित ६ जना पर्यटक पथ प्रदर्शकको उद्दार गरिएको थियो । कोरोना भाइरसको जोखिम न्युनिकरण हुँदै गएपछि हिमाल आरोहण ,पदमार्ग तथा पर्यटकीय गन्तव्यमा विदेशी पर्यटकको पदयात्रा तथा आरोहरण गर्नेको संख्या वृद्धि भइरहेको थियो ।
गत भाद्रको अन्तिम सातादेखि धौलागिरि आधार शिविरमा हिमाल आरोहरण तथा पदयात्रा गर्ने विदेशी पर्यटकको चहल/पहल निकै बढेको थियो ।कोरोनापछिको जारी सिजनमा हिमाल आरोहरण तथा धौलागिरि चर्किय पदमार्गमा पदयात्रा गर्ने विदेशी पर्यटक,पथप्रदर्शक र भरियाहरुको उपस्थिती बढेको थियो ।
हिउँदयाम लागेपछि मौसम प्रतिकुलता हुने र बाक्लो हिमपात पर्ने भएकाले हिमाल आरोहरण तथा हिमाल पदयात्रा गर्ने बिदेशी पर्यटक अलपत्र पर्ने क्रम बढेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।