वालिङ्मामा अधिवेशन तथा विश्व सम्मेलन हुने
स्याङ्जा : स्याङ्जामा जन्मेर रोजगारका लागि विभिन्न मुलुक पुगेका स्याङ्जालीहरुले यही महिनाको दोस्रो साता वालिङ्मा ‘विश्व सम्मेलन’ गर्ने भएका छन्। सम्मेलनका साथै उनीहरुद्धारा गठित स्याङ्जा सहयोग समाज अन्र्तराष्ट्रिय समन्वय समितिको चौथो महाधिवेशनसहितको सम्मेलन मंसिर १३ गते हुने भएको हो।
‘समृद्ध स्याङ्जाका लागि विश्व अभियान’ भन्ने मूल नाराका साथ सम्मेलनको तयारी गरिएको छ। सम्मेलनमा विश्वका विभिन्न मुलुकमा छरिएर रहेका १ सय ५० जना युवाको सहभागीता हुने स्याङ्जा सहयोग समाज अन्र्तराष्ट्रिय समन्वय समितिका सचिव मुक्ति सुवेदीले जानकारी दिए।
उनका अनुसार, जापान, अमेरिका, स्पेन, यूएई, यूके, कतार, दुबई लगायत १७ वटा विभिन्न मुलुकबाट मानिस आउनेछन्। प्रवासमा रहेका स्याङ्जाबासी युवाहरुले सोही सामाजिक संस्थामार्फत जिल्लामा विभिन्न सामाजिक काम गर्दै आएको छ। विभिन्न समयमा आर्थिक एवं भौतिक सहयोग गर्दे आएको छ।
कोभिडको समयमा अक्सिजन तथा स्वास्थ्य सामग्री वितरण, स्वास्थ्योपचारमा आर्थिक समस्यामा परेकाहरुको निम्ति आर्थिक सहयोग, बाढीपहिरो पीडित तथा विभिन्न घटनामा ५० लाख भन्दा बढिको सहयोग गरेको संस्थाका कोषाध्यक्ष खगेन्द्र गैह्रेले जानकारी गराए।
महाधिवेशनले २ वर्षे कार्यकालको समीक्षासहित नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष जीवन न्यौपानेले जानकारी दिए। उनका अनुसार २० वटा भन्दा बढी देशमा राष्ट्रिय समन्वय परिषद् गठन भएका छन्।
महाधिवेशन सम्पन्न गर्नका लागि विभिन्न समिति र उपसमिति समेत गठन गरिएका छन्। स्याङ्जाबाट रोजगारका लागि विदेसिनेको संख्या धेरै छ। २०६८ को तथ्यांक अनुसार यहाँबाट विदेशमा जानेको संख्या ४० हजार भन्दा बढी छ।