आश्रम बनाएर चेलाहरुलाई 'एक्टिङ' सिकाउन मन छ : मुकुन
काठमाडौंः काठमाडौंको आकाशे पुलबाट सडकमा रफतारमा गुडिरहेका गाडीहरु नियाल्दै थिए १६ वर्षीय फुच्चे मुकुन। पहाडी जिल्ला अर्घाखाँचीमा जन्मेका मुकुन भुसालको सिनेमा 'प्यासन' थिएन। गाँउमा नै एसएलसी सक्काएर मुकुन काठमाडौंमा उच्च शिक्षा हासिल गर्न आएका थिए।
सानै उमेरमा उनी सहर प्रवेश गरेका मुकुनले धान काट्नेदेखि घरभित्रका काम उनले नजानेका भन्ने थिएन। गाँउकै बधेँरा, गाईबस्तु गोठाला, खेतिपातीमा रमाउँदै आएका मुकुनलाई सहर अनौठो लाग्यो। कतै केही नमिलेको जस्तो कतै केही नपुगेको जस्तो मुकुनलाई उकुमुकुस बनायो।
परिवारकै कान्छा छोरा भएकाले मुकुन सबैका प्यारा थिए। त्यसकारण पनि उनको किशोरावस्था रमाइलोसँग बित्यो।
गाँउले जीवन यापन गर्दै आएका मुकुनलाई पनि एसएलसी दिएपछि सहरभित्र पस्ने हुटहुटी जाग्यो। उनले काठमाडौंमा प्लस टु सकाए। त्यसपछि उनी भारत गए।
उनी सानैदेखि सिनेमा हेर्थे। नेपालीसँगै उनी हिन्दी फिल्म पनि हेर्थे। सामाजिक मुद्दामा आधारित फिल्महरु उनलाई बढी मन पर्थ्यो। सिनेमा हेरेसँगै उनलाई पनि फिल्मका पात्रहरु बन्न पाए हुन्थ्यो नि जस्तो लाग्थ्यो। तर उमेर बढ्दैगर्दा उनको सिनेमा कनेक्सन टुट्दै गएको थियो।
भारत गएसँगै उनको जीवनमा फेरि फर्कियो सिनेमाभित्र छिर्ने हुटहुटी जाग्यो। ‘इन्डिया पुगेपछि मैले एक्टिङको कोर्स गर्दै थिएँ, पछि बीचमै छाडिदिए। अनि ब्याचलर पढ्न काठमाडौं आएँ,' उनले विगत सम्झिए।
पैसा कमाउने चाहनाले उनको पढाइमा ब्रेक लाग्यो। उनी गाँउ फर्किए। समाजमा साना भनिने कामहरु ठूला लाग्ने मुकुनले गाँउमै गएर मेलापातदेखि सबै काम गरे। योबेला नै उनले गाँउमै ग्यारेज पनि खोले।
‘समाजमा साना भनिने कामहरु मेरा लागि एकदम ठूला हुन्। सबैभन्दा माथिल्लो दर्जाको काम मलाई किसान मनपर्छ,’ उनी भन्छन्।
एकदिन उनलाई फेरि त्यही पुरानो चाहना जागेर आयो- सिनेमामा अभिनय गर्ने। उनी ग्यारेजको सटर बन्द गरेर काठमाडौं हान्निए। ‘खै के कुराले हिट गर्यो कुन्नी घरमा सल्लाह नै नगरी काठमाडौं आएँ,’ त्यो पल उनले सम्झिए।
उनले भारतमा गरेको एक्टिङ कोर्सको याद आयो। उनी त्यही कोर्स गर्न थाले। फिल्मसम्बन्धी अध्ययनले मुकुनलाई फिल्मतिर तानिरहेको थियो। यसैक्रममा उनले पहिलोपटक कलेजको प्रोजेक्टमा काम पाए। टंक प्रसाद आचार्यको जेलभित्रको सिन उनले गरे। त्यही सिनले उनलाई सिनेमाको बास्ना छरिदिएको थियो।
फिल्म पढाइले उनलाई समाजका मुद्दाहरु, सबैले भोगेका देखेका सामाजिक मुद्दाहरुमा आधारित साना कथाहरुमा अभिनय गर्नुपर्छ भन्ने लाग्यो।
उनले ओस्कर कलेजमा फिल्म कोर्स सकाए। तर काम पाएनन्। पढेर पनि काम नपाएपछि उनी फेरि भारततिर लागे। ‘नयाँ मान्छे भएर होला राम्रो काम पाइनँ। अब यसरी चल्दैन भनेर म मास्टरको लागि इन्डिया गए,’ उनले भने।
मास्टर्स सकेर उनी नेपाल नै फर्किए। नेपाल आएको केही दिनमै निर्देशक विनोद पौडेलको फोन आएको उनी सम्झिन्छन्। उनले बुलबुल फिल्मका लागि प्रस्ताव गरेका थिए। मुकुन त्यो प्रस्तावले दंग परेका थिए।
फिल्म खेल्ने भएपछि वर्कसप सुरु भयो। उनले फिल्मको पात्रलाई न्याय दिन कुनै कसर बाँकी राखेनन्। त्यसैले होला यो फिल्मबाट उनी वाहवाही पाए। पहिलो फिल्म नै उनको लागि 'टर्निङ प्वाइन्ट' पनि बन्यो। तर वाहवाही पाएर उनमा घमन्ड भरिएको छैन। उन अझै अभिनयमार्फत् समाजको ऐना बन्न चाहन्छन्।
'सामान्य गीतको भिडियोमा अभिनय गरेका केही व्यक्तिहरुको घमण्ड पनि देखेको छु मैले। म सबै कुराहरुबाट टाढा छु,' उनले भने। उनले आफू विलासी समेत नभएको बताए। 'समाजसँग जोडिएका कथाहरुसँग मलाई भिज्न मन लाग्छ,' उनी भन्छन्।
समाजसँगै जोडिएका ‘बुलबुल’ फिल्मले नै मुकुनलाई धेरै अवसरहरु पनि आएका छन्। ‘फिल्म सम्बन्धीको अध्ययनले पनि मलाई फिल्म खेल्न सहज भयो।’
यसपछि उनले धेरै म्युजिक भिडियोमा पनि अभिनय गर्ने मौका पाए। जसले गर्दा उनी आफ्नै गाँउको मात्र नभई सबैको प्रिय भए। गाँउका बच्चादेखि बुढापाकाहरु पनि मुकुन गाउँ जाने वित्तिकै उनका अनुभव सुन्न आइपुग्छन्। योसँगै मुकुनलाई धेरै फिल्महरुको अभिनयको लागि अवसरहरु आइरहेका छन्।
जीवनको यात्रा हिँड्ने क्रममा सिनेमा क्षेत्रमा ठोक्किएका मुकुनलाई आफूमात्रै सिकेर नहुने।
कोरोना महामारीको कारण मुकुनलाई पनि खालीपन दिलायो। जसले गर्दा आफ्नो फिल्म करिअरलाई अघि बढाउन उनलाई अपडेट हुन र तयारी अवस्थामा रहनुपर्ने थियो। यसैकारण पनि उनले सिनेमा क्षेत्रमा काम गरिसकेका ७० जना नयाँ कलाकारहरुसँगै ‘सिनेमा एक्टिङ क्लास’ भनेर एउटा माहोल बनाए। जहाँबाट उनले पनि थप सिक्ने मौका पाए।
‘केही कुरा छुटेपछि छुट्यो। कि त दौडिएर गएर त्यसलाई समाउनु पर्यो। उस्तै दौडाइमा हिँडेपछि कहाँ त्यसलाई समाउन सकिन्छ र। त्यसैले गर्दा पनि मलाई काममा ग्याप राख्न मन लाग्दैन,' उनले भने।
मुकुनले खाली समयलाई मात्रै सदुपयोग गरेनन्। मुकुनले आफ्नो फिल्म यात्राका बारेमा सबैलाई जानकार गराए। उनले भने, ‘सुन्न चाहनेलाई भन्नुपर्छ। साथै सिक्न चाहानेलाई सिकाउनुपर्छ जस्तो लाग्छ मलाई। त्यसैले पनि मैले पनि उहाँहरुलाई सुनाए।’
सिनेमा समाजको ऐना हो
‘सिनेमा क्षेत्र भनेको समाजकै ऐना हो। त्यसैले सिनेमा क्षेत्रमा काम गर्नेहरु संवेदनशील हुन आवश्यक छ,’ उनले भने।
फिल्म बनाउने काम मेकरहरुको हो। मेकरले समाजमा जस्तो अध्ययन गरेका हुन्छन् उनीहरुले देखेका बुझेका कुराहरुलाई फिल्ममा उत्रार्ने कोसिस गर्ने मुकुनको भनाइ छ। त्यसकारण पनि फिल्म मेकरको अध्ययनमा भर पर्ने उनले बताए। फिल्म क्षेत्रमा पछिल्लो समय संवेदनशील हुन आवश्यक रहेको उनले बताए। फिल्मको पात्रको सुन्दरता भन्दा पनि कथालाई मन पराउनुपर्ने उनले बताए।
फिल्म सिकाउने आश्रम बनाउने मुकुनको इच्छा
मुकुनलाई फिल्म सिकाउने थलो बनाउने इच्छा छ। केही समयपछि सिनेमा क्षेत्रमा निखार्दै गएपछि मुकुनलाई आफ्नै फिल्म सिकाउने आश्रम बनाउने सपना छ। कथाहरु पनि लेख्दै गरेका मुकुनका पनि ठूला नायक बन्ने सपना छैन। कलाकारितालाई अघि बढाएर लैजाने उनको इच्छा छ।
‘पहिला पहिला शरीर हेरेर अनुहारको सुन्दरता, छालाको गोराइलाई हेरेर नै कलाकार बनिन्छ भन्ने मानसिकता थियो। अहिले त्यस्तो मानसिकता कम हुदै गएको छ। जानु पनि पर्छ। फिल्ममा खेल्न अनुहार छाला मात्रै गोरा भएर हुँदैन। कलाकारितामा भिज्न सक्नुपर्छ। फिल्म पढ्नुपर्छ। त्यसैले अहिलेका युवाहरुलाई यी कुराहरु सिकाउन अति आवश्यक छ,’ उनले भने।
यही कुराहरुले गर्दा पनि मुकुनलाई आश्रम खुलाउन मन लागेको छ। सानो गाँउ हरियालीसँगै त्यहाँका युवाहरुलाई फिल्म करिअर अघि बढाउन आफ्ना अनुभवसँगै धेरै कुराहरु सिकाउन मुकुनको चाहना छ। सबैभन्दा बढी मुकुनलाई विद्यार्थीहरुसँग घुलमिल हुँदा धेरै खुसी लाग्छ।
‘पुराना गुरुहरुले आश्रम बनाएर चेलाहरुलाई सिकाइरहेका हुन्थे। मलाई पनि त्यस्तै धेरै जग्गा लिजमा लिएर। त्यही गाईवस्तु पाल्ने, बाख्रा पाल्ने, खेती गर्ने। त्यहाँ पढ्ने विद्यार्थीहरु सबैले आफैँले काम गरुन्। एक डेढ वर्ष त्यही काम गरुँ। यही नै छ मेरो चाहना,’ उनले भने।