लखतरान लोकतन्त्र

लखतरान लोकतन्त्र

विगतमा संघर्ष गरेको आधारमा मात्र सबै अकर्म माफीयोग्य हुन सक्दैनन्।


लोकतान्त्रिक नेपालको यो युग नैतिक, बौद्धिक र भौतिक समृद्धिको युग हुनुपथ्र्यो। जनताको अपेक्षा थियो, प्रगतिको एउटा शान्त र शालीन धाराको प्रवाह होस्। किन्तु राम्रो पद्धतिले राम्रा पात्र जन्माउन सकेन।लोकतन्त्रमा पनि कार्यपालिका अन्यायी, अविवेकी र निरंकुश हुन सक्छ। व्यवस्थापिकाले जनताको भावना विपरितका कानुन निर्माण गर्नसक्छ। सांसद र मन्त्रीहरू पक्षपाती र लोभी हुन सक्छन्। प्रशासक स्वेच्छाचारी र निर्दयी हुनसक्छ। परन्तु न्याय, मूर्ख, पक्षपाती र अविवेकी किमार्थ हुन सक्दैन। भनिन्छ, सयौं सांसदहरूको ज्ञान र विवेक एकातर्फ र एक जना न्यायाधीशको ज्ञान र विवेकलाई अर्कोतर्फको तुलोमा राखेर जोख्दा एक जना न्यायाधीशको तौल ज्यादा हुन्छ। उसले तर्क र विवेकको आधारमा व्यवस्थापिकाले निर्माण गरेको कानुनलाई निरस्त गरिदिन सक्छ। त्यसै कारण नै न्यायाधीशलाई न्यायमूर्तिको सम्बोधन प्राप्त भएको हो।

न्यायाधीशको न कोही आफ्नो, न त बिरानो। ऊ ज्ञानी, प्राज्ञ र परिश्रमी हुन्छ। ऊ त्यागी हुन्छ, नाम, दाम र सम्मानको भोको हुँदैन। उसलाई पुरस्कार, प्रशंसा र अभिनन्दनको प्रयोजन हुँदैन। उसको गुट हुँदैन, लुट हुँदैन। कुनै पनि कुराले उसको हृदय टुटफुट हुँदैन। उसको मति स्थिर हुन्छ, सत्यको अन्वेषक हुन्छ ऊ। न्यायाधीश तर्साएर तर्सन्न, बहकाएर बहकिन्न, ऊ बतासिन्न। त्यति मात्र होइन, न्यायमूर्ति सदैव निर्लोभी, निर्भय र निष्कलंक हुन्छ भन्ने कल्पना गरिएको हुन्छ। परन्तु नेपालमा लोकतन्त्रको मर्म र आदर्श नबुझ्नेहरू सत्ता र शक्तिका कर्ताधर्ता बन्न पुग्दा प्रज्ञावान् र न्यायपूर्ण सोच भएका व्यक्तिको खोजी हुन सकेन। ‘यादृशी शीतला देवी तादृशी वाहन खरः’ भनेजस्तै आफ्नै अनुकूलका टपरटुइयाँहरू खोजेर न्यायको आसनमा विराजमान गराएपछि तदनुरूप परिणाम आउनु अपेक्षित नै थियो।

लोकतन्त्रका नायक भनिएका अगुवाहरू नै लोकतन्त्रको बखिया उधेड्नमा निमग्न भएको यस समयमा जस्तो परिणाम आउनुपथ्र्यो, त्यस्तै आयो। नेपाली लोकतन्त्रको ‘समाजवादोन्मुख’ उत्तर आधुनिक कालमा यो संस्कृति पल्लवित हुनु दुःखद् छ। परन्तु आश्चर्यजनक छैन। यो त फगत पर्दाभित्रको खेल उदांग भएर प्रकट भएको मात्र हो। लोकतान्त्रिक देशको प्रधानमन्त्री असंवैधानिक कदम चाल्न उद्यत होला, राष्ट्रप्रमुखलाई पक्षपातको आरोप लाग्ला, न्याय आफैं हडतालमा उत्रला, कार्यपालिकाको प्रमुखले न्यायपालिकाको प्रमुखलाई भागबन्डाको अफर गर्ला र न्यायपालिकाको प्रमुख त्यस अफरबाट प्रफुल्ल होला भनेर कल्पना गरिएको हुँदैन।

कार्यपालिकाले बहालवाला न्यायाधीशहरूलाई विभूषण प्रदान गरेर गुन तिर्न खोज्नु र न्यायाधीशहरूले बडो गौरवसाथ स्वीकार गर्नु यहाँ आश्चर्यको कुरा रहेन। असल राष्ट्रसेवकलाई कृतज्ञ राष्ट्रले प्रदान गर्ने विभूषणको विद्रुपीकरण भयो यहाँ। नैतिक मूल्यका मानदण्डलाई समवेत रूपमा अस्वीकार गरियो। यहाँ कार्यपालिकाका उटपट्याङहरूलाई व्यवस्थित गर्ला भनेर आशा गरिएको नायको मन्दिर आफैं फरक धारमा पुग्यो। सरकारका तीन अंगमध्ये एकको प्रमुखले एक एकको पोल खोलिदिने धम्की दिनु र सम्बन्धित सबै तैं चुप मै चुप रहनु पनि यहाँ आश्चर्यको कुरा रहेन।

प्रसिद्ध पाश्चात्य दार्शनिक प्लेटो भन्छन्, ‘राजनीतिमा सहभागी नहुने असल मानिसका लागि सबैभन्दा ठूलो सजाय नै कमसल मानिसको शासनअन्तर्गत रहनु हो।’ न्यायका लागि जीवन समर्पण गर्ने आफ्ना दार्शनिक गुरु सुकरातको अन्यायपूर्ण र विवेकहीन अन्त्यबाट क्षुब्ध भएका प्लेटो प्रजातन्त्र दर्शन र विवेकप्रति असहनशील हुने निष्कर्ष निकाल्दै भन्छन्, ‘जो जान्दछ उसलाई नेतृत्व गर्नेमा रुचि हुँदैन। जो जान्दैन, ऊ जोसिएर अगाडि आउँछ।’ सम्यक तरिकाले सञ्चालन हुन नसकेको लोकतन्त्र भित्रबाट या त तानाशाही जन्मिन्छ या भाँडभैलोको साम्राज्य।

प्लेटोको पालामा शक्तिको पृथकीकरणको अवधारणा थिएन। समयक्रममा लोकतन्त्रलाई अनपेक्षित दुष्चक्रबाट जोगाउन शक्ति पृथकीकरणको सिद्धान्तको प्रादुर्भाव भयो। धेरै मुलुकमा यसको सफल प्रयोगको परिणामस्वरूप लोकतान्त्रिक पद्धतिको प्रतिष्ठा स्थापित भयो। किन्तु जहाँ कसैको अधीन नहुने, कसैको संसर्गमा नरहने र सदैव असंलग्न आचार व्यवहारको पालना गर्नुपर्ने स्वतन्त्र न्यायालयका मानिससमेत सत्ताको मधुवनमा रमेर शक्तिको मोहनभोग खानमा प्रवृत्त हुन्छन्। त्यहाँ लोकतान्त्रिक नैतिकता र सदाचारका सारा पर्खाल ढल्न पुग्छन्। यस परिस्थितिमा न्यायनीति र राजनीति कर्तव्यपथबाट विचलित भएर रमाइलो गर्ने महफिलमा परिणत हुन्छ।

अहिलेको चिन्ता अपात्रको हातमा लोकतन्त्रको साँचो पुग्नु हो। विगतमा संघर्ष गरेको आधारमा मात्र सबै अकर्म माफीयोग्य हुन सक्दैनन्। उज्यालो लोकतन्त्रको साँचो समाउने हात पनि उज्ज्वल हुनुपथ्र्यो। परन्तु हाम्रो लोकतन्त्र पावन कार्यमा मलिन हातहरूको खेल जस्तो भयो। हर्ताकर्ताहरूले आफ्नै ललाटमा मलिन टीका ग्रहण गर्ने काम गरे। विधिको बिचल्ली भयो, लोकतन्त्र हैरान र लखतरान भयो। पालैपालो अनैतिकताको गोरेटोलाई फराकिलो राजमार्ग बनाउने होड चल्यो। जनताको आकांक्षा बढाउने र फेरि त्यसमाथि निर्मम कुठाराघात गर्ने काम भयो।

जस्तोसुकै संरचनामा पनि छिद्र हुन सक्छन्। लोकतन्त्र पनि एक संरचना हो। लोकतन्त्रमा मूर्खहरूको हालीमुहाली कायम हुने भय सदैव रहन्छ। लोकतन्त्रको कोखमा तानाशाहको भ्रुण हुर्किन सक्छ। यस उपवनमा अनेकौं दुर्गन्धयुक्त फूल फुल्न सक्छन्। लोकतन्त्रको काखमा हिटलर जस्तो शिशु हुर्कन सक्छ। लोकतन्त्रको स्तनपान गरेर हुर्केको बालकले आफ्नो यौवन अवस्थामा आमालाई कैद गर्न सक्छ। यसको शरीरमा पनि कमजोरी छन् र कमजोरीका ती छिद्रहरूलाई फैलिन नदिनु यसका चौकीदारहरूको पुनीत कर्तव्य हो। किन्तु यहाँ रक्षक र पालकको जिम्मेवारीमा पुगेका नायकहरूबाटै छिद्रको विस्तृतीकरण गर्ने काम भयो। लोकतन्त्रको हुर्मत लिने काम भयो। मुलुकको मुहार मलिन पार्ने काम भयो। न्याय र विवेकको अनुहार मैलो पार्ने काम भयो।

जर्मन चान्सलर एंगेला मार्केलले राजनीतिबाट सन्न्यास लिने घोषणा गर्दै भनिन्, ‘अब म पुस्तक समाउनेछु। किन्तु थकित छु। सायद निदाउँछु होला।’ जसरी उनी विश्वकै महान् नेता र कैयौं वर्षसम्म विश्वकै सर्वाधिक शक्तिशाली र चर्चित महिला बनिन्, त्यसैगरी शक्तिप्रतिको समस्त मोह र आशक्तिलाई तिलाञ्जली दिएर सरक्क पाखा पनि लागिन्। नेपाली नेताहरूबाट त्यो हदको आशा गर्नु निरर्थक छ। उहाँहरूबाट अविस्मरणीय काम त भएन नै, मैदान खाली गरिदिने चेतसमेत पलाएन। सत्ता र शक्तिको पदमा आसीनहरू मात्र होइन, ससाना दलका नेतासमेत छाड्न तयार छैनन्। सानै दलका सञ्चालकलाई पनि मानिस भेट्न आउँछन्, भाषण गर्न पाइन्छ, औषधोपचार सरकारले गरिदिन्छ। परिवारका मान्छे खुसी छन्।

उमेरको ढल्दो मुकाममा उचित अनुचितको भेद पनि हुँदैन। लज्जालाई त्याग गर्ने सामथ्र्य राख्नेले आशक्तिलाई त्याग गर्नुको प्रयोजन पनि रहेन। लोकतान्त्रिक नेपालको यो युग नैतिक, बौद्धिक र भौतिक समृद्धिको युग हुनुपथ्र्यो। जनताको अपेक्षा थियो, प्रगतिको एउटा शान्त र शालीन धाराको प्रवाह होस्। किन्तु राम्रो पद्धतिले राम्रा पात्र जन्माउन सकेन, हुर्काउन सकेन। अनुत्तीर्ण पात्रहरूले बारम्बार मौका परीक्षा दिने र पुनः अनुत्तीर्ण हुने परीक्षा हल जस्तो भयो हाम्रो सत्तामुखी राजनीति। यहाँ कोही पनि निष्कलंक प्रतिष्ठाको हकदार हुन सकेन। पद्धति र पात्रको तारतम्य नमिलेको यस दुर्भाग्यको परिणति कस्तो हुने हो थाहा छैन। मुलुक अत्यन्तै निम्छरो र अभाग्यपूर्ण विकल्पतिर अघि बढिरहेको त छैन ? आशंकाका बादलहरू देखिन थालेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.