कांग्रेस जुम्ला सभापतिमा पाँच भोटको अन्तरमा कर्णबहादुर शाही विजयी
जाजरकोट : नेपाली कांग्रेस जुम्लाको ७ औँ अधिवेशनबाट जिल्ला सभापतिमा कर्णबहादुर शाही विजयी भएका छन्। निकटतम प्रतिद्वन्दी दिपबहादुर शाहीलाई ५ मतले पराजित गर्दै शाही विजयी भएका हुन् ।
उनका प्रतिद्वन्दी शाही यसअघिका जिल्ला सभापति हुन् । सभापतिमा विजेता शाही संस्थापन पक्षका हुन् । संस्थापन पक्षबाट सभापतिको उम्मेदवारी घोषणा गरेका शाही यसअघिका कांग्रेस जुम्लाका सचिव हुन् ।
सभापतिमा कर्णले ५ मतको अन्तरले विजयी हाँसिल गरेको निर्वाचन अधिकृत हसिना प्रधानले जानकारी दिइन्। प्रधानका अनुसार ९ सय ८१ मत खसेकोमा कर्णले चार सय ७४ मत प्राप्त गरेर विजय हाँसिल गरेका थिए । उनका निकटतम प्रतिद्वन्दीले ४ सय ६९ मत प्राप्त गरेका थिए । पाँच मत बदर भएको थियो ।
संस्थापन इतर समूहका दीप पराजित भएपनि उपसभापतिमा दिपक शाही र कार्मा बुढा, सचिवमा गोल्डेनकठायत र लक्ष्मण शाही, सहसचिवमा धनेन्द्र बोहोरा र नन्दप्रसाद चौलागाई पौडेल पक्षका विजयी भएका छन्।
यसअघि पालिका अधिवेशनमा ८ मध्ये ६ पालिका र प्रदेशका दुईवटै क्षेत्र एकलौटी जितेकाले संस्थापन इतरपक्ष यो निर्वाचन पनि जीत आफ्नो पोल्टामा पर्ने दाउमा थियो । तर, लोकप्रिय मतका आधारमा कर्णले सभापति जितेका छन् । युवामाझ निकै लोकप्रिय भएका कारण पनि उनको जीत सहज भएको कांग्रेस नेतृ नेत्रकला शाहीले बताइन् ।