घाइते ६ जनालाई हेलिकोप्टरबाट नेपालगञ्ज पठाइयो
जाजरकोट : जाजरकोटमा भएको बस दुर्घटनाका गम्भीर घाइते ६ जनालाई हेलिकोप्टरबाट थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । जिल्ला अस्पताल जाजरकोटमा उपचार हुन नसकेपछि उनीहरुलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको हो ।
दुर्घटनामा बेहोस भएका उनीहरुलाई भेन्टिलेरमा राखेर उपचार गर्नुपर्ने अवस्था छ । तीजनाको अहिलेसम्म होस खुल्न सकेको छैन। कुशे ९ जाजरकोटका देवीसरा नेपाली, उनका श्रीमान वीरबहादुर नेपाली र छोरा प्रचण्ड नेपालीलाई हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको हो। श्रीमान श्रीमती दुवैको अवस्था चिन्ताजनक छ ।
त्यस्तै, नलगाड ४ कि आस्था वलीको अवस्था पनि गम्भीर छ । उनलाई पनि नेपालगञ्ज लगिएको छ। आठविसकोट ५ का शरद शाही र आठवीसकोट ४ रुकुम पश्चिमकी धर्मी मल्ललाई पनि हेलिकोप्टरबाट नेपालगञ्ज पठाइएको हो ।
उनीहरु सबैको अवस्था गम्भीर छ । त्यस्तै विपना परियार, वर्षा परियार, अभिसेक परियार, दत्ते नेपाली, शेरबहादुर खत्री, मोहन खत्री, संगिता बुढा र काली बोहरालाई गाडीबाट नेपालगञ्ज पठाइएको छ । पाँचजना सामान्य उपचार पछि घर फर्किएका छन् । नौजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । एकजनाको चौरजहारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
नेपालगन्जदेखि राडिबजार आउँदै गरेको ना छ ख २७५७ नम्बरको रात्री बस जाजरकोटमा ( कुदु बराहचौर नजिक ) राति दुई बजे दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। कुशे ९ जाजरकोटकी १८ वर्षीया अनिला नेपाली र आठबिसकोट ५ रुकुम पश्चिमकी २४ वर्षीया सन्ध्या मल्ल शाहीको मृत्यु भएको छ ।
त्यस्तै नलगाड ३ करुवा जाजरकोटका २६ वर्षीय शेरबहादुर परियार, आठ्बिसकोट ४ निवासी ४ वर्षीया दिब्या शाही र सप्तरी राजविराज नगरपालिका १ घर भइ दिपेन्द्र आधारभूत विद्यालय सक्ला जाजरकोटमा कार्यरत ४० वर्षीय गगाराम यादवको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले बताए ।